April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

मुल्य घटेपछि चामल लिनको भीड

राजेन्द्र कार्की । जाजरकोट

खाद्य तथा ब्यापार कम्पनी लिमिटेडको जाजरकोट शाखामा केही दिन यता चामल लिनेको भीड नै लाग्ने गरेको छ । एक बोरा चामल लिन घण्टौ लाइनमा पालो कुर्नु पर्ने बाध्यता छ । कतिपयले घण्टौ लाइनमा बस्दा पनि चामल नपाएको गुनासो गरेका छन् ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत बैशाख १८ गते देखि जाजरकोटमा लगातार लकडाउन छ । लकडाउनका कारण खाद्यान्न आपुर्ती सहज नहुँदा मुल्य बृद्धि आकासिएको छ । लकडाउनकै कारण धेरै परिवारलाई खाद्य संकटको सामना गर्नु परेको छ । यही कुरालाई मध्य नजर गदै खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले चामलको मुल्यमा २० प्रतिशत छुट दिएपछि चामल लिनेको भीड बढेको कार्यालयले जनाएको छ । मानिसहरु कोरोना संक्रमण र बर्षे झरीको समेत प्रवाह नगरी चामल लिन ठेलमठेल लाइनमा पालो कुर्न बाध्य छन् ।

भेरी नगरपालिका २ पोखराका पुर्णबहादुर नेपालीले दिनभर लाइनमा लागेर आइतवार राती ११ बजे चामल दिन पाएको बताए । उनले आफ्नो गाँउका धेरै मानिस चामल नलिएरै फर्केको बताए । उनले भने –‘दिनभर लाईन लाग्दा पनि पालो नपाएपछि धेरै महिलाहरु रत्तै घर फर्किए । मैले भने १२ घण्टा पालो कुरेर २५ केजीको एक बोरा चामल पाए ।’ कतिपय टाठाबाँठालाई लाइनमा नै नबसेर दिने गरिएको उनको गुनासो छ । चामल सस्तो भएपछि केही ब्यापारी र होटल ब्यवसायीले स्थानियका नागरिकता पेश गरेर एकै पटक ट्याक्टरमा हालेर धेरै चामल लिने गरेको स्थानियको गुनासो छ । कार्यालयले नागरिकताको आधारमा चामल वितरण गर्ने गरेको छ । लकडाउन अझै लम्बिन सक्ने र आगामी दिनमा खाद्य संकट हुन सक्ने भन्दै जिल्लावासीले चामलको स्टक गर्न थालेपछि भीड बढेको हो । लकडाउनको समयमा सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना नगरेर सरकारी निकायबाटै चामल वितरणको नाममा भीडभाड बढाएको भन्दै स्थानियले आलोचना गरेका छन् । हिउँदमा पानी नपरेका कारण जिल्लामा हिउँदे बालीको उत्पादन निकै कम भएको छ । घरमा खाने अन्न सकिएपछि चामल लिनेको भीड बढेको हो । लकडाउनका कारण ब्यापार ब्यवसाय थप्प छ । मजदुरहरुले काम गर्न पाएका छैनन् । रोगले भन्दा भोकले मर्ने चिन्ताले गर्दा स्थानिय खाद्यान्नको जोहो गर्न कारोना संक्रमणको प्रवाह नगरि लाममा बसेको नागरिक अगुवा बालकुमार शर्माले बताए ।

खाद्य तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख धर्मबहादुर बस्नेतले सरकारले लकडाउनको समयमा २० प्रतिशत चामलको मुल्यमा छुट दिएपछि चामल लिनेको भीड बढेको बताए । यस अघि विक्री नभएको चामल मुल्य घट्ने वित्तिकै विक्री बढेको हो । हामीले सवैलाई चामल दिएका छौ । विहान ६ बजे देखि रातीको ११ बजे सम्म चामल वितरण गरिरहेका छौ उनले भने ‘एकमुष्ट कुनै ब्यापारी तथा होटल ब्यवसायीलाई दिएका छैनौ । गाँउभरीका मिलेर नागरिकता लिएर आए उनीहरुले एकमुष्ट लिए होलान तर विक्री गर्ने र होटलवाला लाइ फाइदा हुने गरि वितरण गरेका छैनौ ।’

चार दिनको अवधीमा करीव तीन हजार जनाले करीव आठ सय क्वीन्टल चामल लगेका छन् । चामलको स्टक सकिएपछि सोमवार नेपालगञ्जबाट थप चामल झिकाइएको कार्यालय प्रमुख बस्नेतले बताए । यस पटकको मुल्य पनि घटेको र चामल पनि राम्रो भएपछि हुनेखानेले पनि चामल लिएका छन् । अरु बेला खाद्य तथा ब्यापार कम्पनीको कार्यालयबाट चामल लिन अफ्ठयारो मान्नेहरु पनि यसपटक चामल लिन गोदाम पुगेका छन् । सरकारले जाजरकोट लगायतका दुर्गम जिल्लामा चामल ढुवानीका लागि अनुदान दिदै आएको छ । बजारमा एक हजार आठ सय पर्ने मसिनो सोना मन्सुली चामल एक हजार तीन सयमा विक्रि भैरहेको छ । खाद्यमा चार किसिमको चामल छ । २५ र ३० केजीका प्याकलाई एक हजार देखि १३ सय सम्ममा विक्रि वितरण भैरहेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad