April 27 - 2024, Saturday१५ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणको डरले दर्जनौ मेडिकल बन्द

राजेन्द्र कार्की । जाजरकोट

दुई साता अघि सम्म जाजरकोटको छेडागाड नगरपालिकामा करीव चार दर्जन मेडिकल संचालनमा थिए । तर यतिवेला नलगाडको थलहमा रहेको डेभिड मेडिकल सेन्टर बाहेक सवै बन्द छन् । कोरोना संक्रमणको डरले अन्य सवै मेडिकल बन्द गरिएको डेभिड मेडिकलका संचालक अर्जुन अधिकारीले बताए । छेडागाडमा मात्र होइन जिल्लाका सवै पालिकामा रहेका अधिकांश मेडिकल यतिवेला बन्द भएका छन् ।
विरामीको सेवामा चौविसै घण्टा खटिनु पर्ने निजी मेडिकल कोरोना भाइरस संक्रमणको डरले बन्द गरिएपछि जिल्लाका ग्रामिण भेगका बासिन्दाको उपचार सेवा प्रभावित भएको छ । लकडाउनको अवधीमा पनि सेवा दिनु पर्ने मेडिकलवाला नै बन्द गरेर घरतिर लागे पछि सामान्य रोगको समेत उपचार पाउन नसकेको स्थानियको गुनासो छ । गाँउमा रहेका मेडिकल बन्द भएपछि उपचारमा समस्या भएको छेडागाड ५ का जयबहादुर थापाले बताए ।

जाजरकोटमा तीन सयको हाराहारीमा निजी मेडिकल छन् तर अधिकांश अनुमति विनै संचालनमा छन् । त्यसरी अनुमति विना गाँउ गाँउमा खुलेका मेडिकलले पनि स्थानियलाई सेवा दिईरहेका थिए । तर कोरोना भाइरसको महामारी फैलन सक्ने आशंकामा उनीहरुले मेडिकल नै बन्द गरेपछि सेवा प्रवाह ठप्प जस्तै भएको हो ।

क्याप्सन ः अन्य मेडिकल बन्द भएपनि छेडागाडमा सेवा प्रवाह गरिरहेको डेभिड मेडिकल

सरकारी स्वास्थ्य संस्थाले पनि सामान्य अवस्थामा अस्पताल नआउनु भनेर सुचना नै जारी गरेका छन् । यसरी निजी मेडिकल बन्द भएका र सरकारी स्वास्थ्य संस्थाले पनि अन्य रोगको उपचार नगर्ने भएपछि स्थानिय समस्यामा परेका छन् । कोरोना भाइरसका विरामीको उपचारका लागी ब्यक्तिगत सुरक्षा सामग्री नभए र संक्रमित आए आफै जोखिममा पर्ने भएकोले मेडिकल नै बन्द गर्नु परेको छेडागाड वडा नम्बर ५ थलहमा मेडिकल संचालन गरिरहेका एक स्वास्थ्यकर्मीले बताए । मेडिकलमा प्रयाप्त औषधी नभएको र लकडाउनका कारण थप औषधी ल्याउन नसकिएकोले मेडिकल नै बन्द गर्नु परेको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad