April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

सम्झनामा मेरो स्कुल

डा. कृष्ण शाक्य, पिएचडी
जाजरकोट, हाल ः अटवा, क्यानाडा

आज बिहानै हाम्रो त्रिभुवन मावि खलंगा स्कुलको बार्षिकोत्सबको लागी एउटा संस्मरण लेखि पठाई दिनु पर्यो भन्ने खबर पाए । खासै लेख्ने बानी नभए पनि केहि त लेख्नै पर्यो जस्तो पनि लाग्यो । तर के लेख्ने होला भनेर घोर्री राखे । मानस पटलभरि फेरि स्कुलमा बिताएको समय छायो । साथीहरु, शिक्षकहरु, स्कुल अनि गाउँठाउँ सबै याद आए । पछिल्लो पटक जाजरकोट गएको पनि छ बर्ष भइसकेछ । त्यति बेला पनि सबैसंग भेट भएन, भेट पनि कसरि हुनु ? को कहाँ को कहाँ सबैको आआफ्नै जिन्दगी सबै व्यस्त !

तै पनि फलानो साथि कहाँ छ होला, फलानो शिक्षक कस्तो हुनुहुन्छ होला ? सोची रहे दिन भरि । थाप्लेचौर पनि कस्तो फरक भइसकेको रहेछ । मैले स्कुल छोड्दा त्यत्रो चौरभरि एउटा स्कुल र कार्यशाला भवन बाहेक खलंगा गाबिसको कार्यालय, मन्दिर र कक्सेली बाबु साहेबको घर मात्र थिए । चौर पुर्बपट्टि अस्पताल भवन भर्खर बनाउन सुरु भएको थियो क्यारे । हुन त एसएलसी दिएको पनि ४२ बर्ष भइसकेछ ।तर हिजो जस्तै लाग्छ चौरको रातो माटोले रातै रंगीइ सकेका युनिफर्मका “सेता“ जुत्ता र कमिज अनि निलो पाइन्ट लगाएर दौड्दै स्कुल गएको ।

हुन त हामी यहाँ नौ कक्षामा पुगे पछि मात्र सरेका थियौ । माथि दरबारमा भएको भवन जाजरकोटमा भर्खर भर्खर आएको नेपाल बैंकलाई भाडामा दिएपछि स्कुल गैह्रीखालीमा भएको भेरी प्राइमरी स्कुलको भवनमा सरेको थियो । अनि हामीले पनि सात कक्षा गैह्रीखाली चौतारीमा र अर्को बर्ष आठ कक्षा थाप्लेमा भएको छात्रबासमा पढेका थियौ । छात्रबास सानै थियो कक्षा कोठा सबैलाइ पुग्ने थिएनन, त्यसैले हाम्रा कक्षाहरु प्राय चौरमै संचालन हुन्थे । अहिले सम्झिदा निकै रमाइलो लाग्छ ( जिन्दगी साह्रै अनौपचारिक र सजिलो थियो । )

त्यति बेला जिल्लामा शायद अरु तिन वटा हाई स्कुलहरु पनि स्थापना भइ सकेका थिए । तर १० कक्षा सम्मको पढाइ यही मात्रै हुन्थ्यो त्यसैले जिल्लाका सबै भागबाट विद्यार्थीहरु यहि आउनु पर्ने बाध्यता थियो । त्यसैले हाम्रा साथीहरु पनि जिल्ला सबै ठाँउ तिरका थिए । अझ रुकुम चौरजहारी तिरका पनि हामीसंग पढ्ने धेरै जना थिए । हामी शायद ३२ जना थियौ १० कक्षामा । साना ठुला उत्तर दक्षिण पुर्ब पश्चिम सबै तिरका । सम्झनामा ताजै छन् ति साथीहरु, ति दिनहरु, घटना परिघटनाहरु । यसै क्रममा केहि घटनाक्रमहरु सम्झेर घोत्लि रहे आज दिन भर ।

१० कक्षाको सुरु सुरुमै हो पुस चौधमा क्षत्रिय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना तत्कालिन सुदुर पश्चिमान्चलको सदरमुकाम नेपालगन्जमा भएको थियो । जाजरकोट जिल्लाबाट भाग लिन गएको चार जनाको टोलीमा म पनि थिए । सायद ढिलो भएर हो हवाई जहाजको टिकट पाइएन अनि हाम्रो विद्यार्थीको टोलि मात्रै हिडेर नेपालगंज जानु पर्ने भयो । टोलीमा म सहित साथीहरु अरुण अमात्य, कुलदीप शाह र गिरीराज हमाल थियौ । संयोगबस नेपालगंज सम्म जाने गाउकै मानिस भेट भए उनीहरुकै पछि पछि लागेर गयौ हिडेर । पुरा चार दिन लाग्यो । नेपालगंज सम्मको यो पैदल यात्रा साह्रै रोमान्चकारी भयो । त्यस्तै फेरि फागुन ७ गते प्रजातन्त्र दिवसको दिन क्षत्रिय स्तरको बादबिबाद प्रतियोगितामा पनि साथी देवबहादुर थापा संगै मैले भाग लिने मौका पाए । यसपाली नेपालगंज जादा हवाई जहाजमा जाने चाजो मिले पनि फर्कदा हामी दुइ जना पैदल नै फर्कनु पर्यो ।
यी प्रतियोगिताहरुमा हामीले सफलता हासिल गर्न नसके पनि मेरा लागि धेरै कुराले फलदायी भए । यात्राले सबैलाइ सधै केही न केही सिकाउँछ । मैले पनि धेरै कुरा देखे र सिक्न सके जति सिके यी यात्राहरुबाट ।

अहिले त शैक्षिक पद्दति परिवर्तन भइसकेको छ क्यार । समय अनुसार सबै कुरा परिवर्तन हुन्छन । अचेल त एसएलसीको सट्टामा एसईई भइ सकेको छ । आफ्नै गाउँघर नजिकै स्कुलहरु खुली सकेका छन् । सायद बोर्ड परीक्षा दिनको लागि धेरै टाढा जानु पनि पर्दैन । हामीले एसएलसी बोर्ड परीक्षा दिनको लागि रुकुमको मुसिकोट जानु परेको थियो । जाजरकोटमा परीक्षा दिने सुबिधा थिएन । हामी भन्दा अगाडीका दाईहरुलाइ सल्यान, दाङ्ग, नेपालगंज अनि सुर्खेत जानु पर्दथ्यो । मुसिकोट जादा म र मेरा साह्रै मिल्ने साथी हेरम्ब ( हालका प्रधानाध्यापक ) संगै गएका थियौ र हामीलाई एक जना सहृदयी आफन्तले मुसिकोट पुर्याई दिनु भएको थियो । सुर्के झोला बोकेर आफन्तको पछि पछि दिन भरि हिडेर गएको हिजै जस्तो लाग्छ । रिम्नामा ठुली भेरी काठको टुइन चढेर तरेको रोमाञ्चक अनुभुति ताजै छ । त्यहाँ पुगे पछि एक महिना सम्म सेरीगाउमा डेरा गरि सँगै बस्दा हाम्रो आत्मियता निकै प्रगाढ भयो । हामीले सँगै खाना खायौ, एउटै टुकीको उज्यालोमा अध्ययन गर्यौ । त्यति बेला स्कुलले हाम्रो बिज्ञान शिक्षक वेदबहादुर रोकाय सरलाई अभिभावकको रुपमा पठाएको थियो । उहाँले पढाई र अन्य दैनिक समस्या समाधानमा गर्नु भएको सहयोगको लागि निकै ऋणी छु । अभारी छु ।

माघ महिनामा परीक्षा भए पछि त्यसको परीक्षाफल असाढमा गोरखापत्रमा प्रकाशित हुन्थ्यो । त्यसबेला आवा (आकाशवाणी) अफिसमा आफ्नो सिम्बोल नम्बर लिएर काठमाडौँ सोधे पछि बल्ल पास फेल भएको थाह हुन्थ्यो । रमाइलो अझ के भने गोरखापत्रकै आधारमा स्कुलले एसएलसी पास भएको प्रमाणपत्र पनि दिनु पर्ने । त्यसैको आधारमा कलेज भर्ना पनि हुन सक्ने तर परीक्षा नियन्त्रण कार्यालयबाट निश्चित समय भित्र प्रमाणपत्र लियर पेश गर्नु पर्दथ्यो । हामीले पनि त्यस्तै प्रमाणपत्र लियर काठमाडौँ हिड्यौ पढ्नका लागी ।

काठमाडौँ पनि धेरै टाढा थियो त्यति बेला । म र अरु केही साथीहरु साउन महिनामा ४ दिन चौरजहारीमा कुर्दा पनि हवाई जहाज नआए पछि हिडेर जाने निधो गर्यौ । फेरि चार दिनको हिडाई पछि नेपालगंज अनि त्यस पछि रुपैडिहा, नानपारा, गोंडा, भैरहवा अनि पोखरा हुदै काठमाडौँ पुग्यौ । काठमाडौँ पुग्न हामीलाई पुरा एक हप्ता लाग्यो । यसपालीको यात्रामा बबई नदि चिंडाहरुको “जहाज“ मा तारिएको बिशेष अनुभव भयो । (१२, १५ वटा सुकेका चिंडाहरुको मालालाइ जहाज भनिदो रहेछ) मध्य बर्षामा वारपार भएको बबईको भेल परम्परागत साधनको भरमा तर्ने साहस गर्नु मैले जिन्दगीमा अहिले सम्म गरेका निर्णयहरु मध्यकै ठुलो निर्णय हो जस्तो लाग्छ । तर त्यसबेला काठमाडौँ पुग्ने र कलेज पढ्ने इच्छाले पनि पराकाष्टा नै नाघेको थियो । त्यसबाहेक नानपारा देखि ब्रिज्मन्गंज सम्मको रेलको यात्रा पनि सम्झन लायक छ । पहिलोपटक देखेको रेल, रेल स्टेसन, रेलको टिकेट, अपरिचित अनुहारहरु र थाहै नपाएको भाषा ( सहयात्री साथीहरुको संयुक्त आट र एक जना अग्रजको भर बिना सम्भव थियन ।)अहिले फर्केर हेर्दा विश्वास नै गर्न गाह्रो हुन्छ तर इच्छा शक्तिको अगाडी धेरै कुरा असम्भव पनि नहुँदा रहेछन ।

मैले उच्च शिक्षाको लागि छात्रवृत्ति पाएर भारत जानु अघि यस स्कुलमा शिक्षक भइ डेढ बर्ष जति भाईबहिनीहरुको सेवा गर्ने मौका पाए । यो समयमा मैले भाई बहिनीहरुलाई जति सिकाए त्यो भन्दा धेरै सिके जस्तो लाग्छ । यो स्कुलले मलाई सिक्न सिकायो र यो सिप आज पर्यन्त उपयोग गरिरहेको छु हरेक दिन ।(त्रिभुवन मावि खलंगाको बार्षिक प्रकाशन मालिकामा प्रकाशित संस्मरण)

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad