April 27 - 2024, Saturday१४ बैशाख २०८१, शुक्रबार

शैक्षिक गुणस्तर सुधार्न पढाई मेला

राजेन्द्र कार्की । जाजरकोट

गत बर्ष सम्म राम्ररी कखरा पढ्न नसक्ने बारेकोटका प्रारम्भिक तहमा अध्ययनरत विद्यार्थीले वीरेन्द्र ऐश्वर्य मावि लिम्सामा विभिन्न सामग्री सहित शैक्षिक गतिविधि िप्रस्तुत गर्दा कार्यक्रममा उपस्थित अतिथि, विद्यार्थी, अभिभावक र शिक्षक दंग परे ।

शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न दुर्गम बारेकोटमा आयोजित जिल्ला स्तरीय पढाई मेलामा विद्यार्थीहरुको प्रस्तुती साँच्चिकै प्रशंशायोग्य थियो । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले जिल्लामा सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी विच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक बर्ष जिल्ला स्तरीय पढाई मेला संचालन हुँदै आएको छ । उक्त मेलामा अन्तर विद्यालय स्तरीय प्रतिस्पर्धा गर्नका लागि प्रारम्भिक कक्षामा अध्ययनरत विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम लागु भएका २० विद्यालयका विद्यार्थी अभिभावक र शिक्षकको पढाई मेलामा सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीले निर्माण गरेका सामग्री, फोटो प्रर्दशनीका साथै पढाई सम्बन्धि गीत, नृत्य, पढाई गति मापन क्रियाकलाप र गणितिय खेलहरु प्रर्दशन गरेका थिए ।

विश्व खाद्य कार्यक्रम र विश्व शिक्षा नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा शिक्षा विकास तथा समन्वय ईकाई जाजरकोटको समन्वय पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले उक्त जिल्ला स्तरीय पढाई मेलाको आयोजना गरेको थियो । जिल्ला स्तरीय पढाई मेलामा प्रारम्भिक कक्षा पढाई सम्बन्धिका विभिन्न पाठ्य सामाग्रीहरुको स्टल राख्नुको साथै सरोकारवालाहरुलाई अवलोकन गराईएको थियो ।

शिक्षण सिकाई उपलब्धीमा गति हासिल गर्न विश्व खाद्य कार्यक्रम र विश्व शिक्षा नेपालले प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरेको विश्व शिक्षा नेपाल प्रारम्भिक पढाई तह कार्यक्रमका कार्यक्रम संयोजक प्रमोदकुमार विष्टले बताए । सन् २०१४ मा गरिएको एक सर्वेक्षणमा प्रारम्भिक कक्षा पढाइमा देखिएको निरासाजन शिक्षण सिकाई उपलब्धीलाई बदल्न विश्व खाद्य कार्यक्रम शैक्षिक क्षेत्रमा काम गर्दै आएको विश्व खाद्य कार्यक्रमका ऋषिराम विमलीले बताए । विद्यार्थीले अक्षर चिन्न सकेनन् भने अन्य कुनै पनि सिकाई संभव नहुने भएको विद्यार्थीलाई जान्ने बनाउन शैक्षिक सामग्रीको माध्यामबाट खेल्दै रमाउँदै सिक्ने विधीमा जोड दिईएको विश्व शिक्षाले जनाएको छ । यस्तो प्रकारको शैक्षिक सामग्रीको माध्यमबाट खेल्दै पढाउँदै सिकाउँदै गर्ने शिक्षण विधि निकै प्रभावकारी र सिकाई उपलब्धीमा पनि निकै बृद्धि भएको पाँचतारा युवा संरक्षक मञ्चका उपाध्यक्ष आशा कार्कीले बताईन ।

यो कार्यक्रम लागु हुनु अघि २÷३ कक्षामा पढ्ने विद्यार्थीले राम्रो सँग अक्षर चिन्न सक्दैन्थे कार्यक्रम लागु भएपछि एक कक्षामा पढ्ने विद्यार्थीले पनि राम्रो सँग अक्षर चिन्न थालेका छन् उपाध्यक्ष कार्कीले भनिन–‘यो शिक्षण प्रक्रिया लागु गरिएका विद्यालयमा शुरुमै सवै एक देखी पाँच कक्षा सम्मका विद्यार्थीको स्तर जाँच गरि ६ स्तर चार्टको आधारमा स्तर छुट्याउने र सोही आधारमा शिक्षण गर्ने गरिएको छ । पहिलो तह अर्थात शुरु सिकाईको लागी पहेलो त्यसपछि क्रमश हरियो , निलो , सुन्तला , गुलावी र प्याजी रंगका सामग्रीका आधारमा शिक्षण गर्ने गरिएको छ ।’

प्रत्येक विद्यालयले १५ दिन देखी एक महिनाको अवधीमा विद्यार्थीको स्तर जाँच गर्ने र सोही आधारमा शिक्षण गर्ने गरिएको छ । शैक्षिक जनशक्ति विकास केन्द्र सँगको साझेदारीमा विश्व शिक्षा कोषले शैक्षिक सामग्रीको उत्पादन , शिक्षण विधिको निर्माण र तालिम प्याकेज कार्यक्रम तयार पार्ने गरेको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा मध्य तथा सुदुर पश्चिमका सिकाई उपलब्धी न्युन भएका बैतडी , दार्चुला , बझाङ्ग , डडेलधुरा , दैलेख र जाजरकोट गरी ६ ओटा जिल्लामा सफाई खुवाई , पढाई र सिकाई कार्यक्रम लागु गरिएको छ । एकिकृत विकास समाजले विद्यालय सफाई कार्यक्रम संचालन गरिरहेको छ । जहाँ हात धुन सिकाउने , ब्यक्तीगत सरसफाईमा चेतना जगाउने तथा खानेपानी र चर्पी बनाउन सहयोग गरिरहेको छ । खुवाई कार्यक्रम अन्र्तगत पौष्ट्रिक आहार कार्यक्रम मार्फत विद्यालयमा दिवा खाजा खुवाउने गरिएको छ । विद्यार्थीको कक्षा छाड्ने दर घटाई पढाई प्रति जागरुक बनाउन र कुपोषण हटाउन दिवा खाजाको ब्यवस्था गरिएको हो । जहाँ दिवा खाजाको ब्यवस्था गरिएको छ त्यही पढाई र सिकाई कार्यक्रम लागु गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रामजंग शाहले बताए । यो कार्यक्रम जिल्लाका दुई सय दुई विद्यालयमा लागु गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad