हेमन्तकुमार खत्री । जाजरकोट
स्वर्गीय रविन्द्र शमशेर शाह पत्रकारीता पुरस्कारबाट जाजरकोटका अग्रज पत्रकार नेपाल प्रेस युनियन जाजरकोट शाखाका संस्थापक हरि सन्दर्भ पुरस्कृत भएका छन् । युनियनको छैटौं जिल्ला अधिवेशनको अवसरमा सन्दर्भलाई नगद १५ हजार पुरस्कार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
युनियनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कार्की, नेपाली काँग्रेसका कर्णाली प्रदेश सहमहामन्त्री रामछाया शाही र नेपाली काँग्रेस जाजरकोटका कार्यबाहक सभापति खडक विसीले संयुक्त रुपमा सम्मान गरेका थिए । प्रेस युनियनका संस्थापक सदस्य रविन्द्र शमशेर शाहको स्मृतिमा स्थापना भएको रविन्द्र शाह विकास पत्रकारीता पुरस्कार २०७९ संस्थापक अध्यक्ष सन्दर्भलाई प्रदान गरिएको युनियनका निवर्तमान अध्यक्ष बालकुमार शर्माले बताए ।
हरि सन्दर्भले विद्यार्थी कालमै भित्तेपत्रिका प्रकाशन गरेर पत्रकारीताको शुरुवात गरेका थिए । ३० को दशकमा जिल्लामा पत्रपत्रिका प्रकाशित नहुने वेला गाइजात्राका अवसरमा भित्ते पत्रिका प्रकाशन गर्ने गरेको, जनक पुस्तकालयको संचालक हुँदा नयाँ सन्देश, मातृभुमि साप्ताहिक विमर्श लगायतका पत्रिकामा न्युज प्रकाशन, २०५१ सालमा हिमालय टाइम्सको जिल्ला प्रतिनिधी, २०५६देखि रेडियो नेपालको संवाददाता, रेडियो देउराली कार्यक्रमको संचालक, त्रिभुवन माविको मुखपत्र मालिकाको सम्पादक भएर काम गरेको उनको अनुभव छ ।अहिले पत्रकारीतामा सक्रिय नभएपनि विगतमा गरेको कामको मुल्यांकन गरेर आफुलाई पुरस्कारका लागि योग्य सम्झेर पुरस्कार र सम्मान प्रदान गरेकोमा उनले प्रेस युनियनलाई धन्यवाद दिए । 


