प्रवाह संवाददाता । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालय र आसपासका फिडर विद्यालयका शिक्षकहरुले शिक्षण सुधार गर्ने प्रतिवद्धता गरेका छन् । त्रिभुवन मावि खलंगाको आयोजना र सिकाई समुहको सहजीकरणमा भएको पाँच दिने प्रगतीशील सिकाई र अन्र्तक्रियात्मक कक्षाका लागि आइसीटीको प्रयोग विषयक कार्यशालाको समापनका क्रममा शिक्षकले यस्तो प्रतिबद्धता गरेका हुन् । शिक्षकले परम्परागत शिक्षण पद्धति त्यागेर प्रोग्रेसिभ शिक्षण सिकाई तथा विद्यार्थी केन्द्रित शिक्षण सिकाई गर्ने प्रतिबद्धता गरेका छन् ।
यस्तो प्रभावकारी तालिम अहिले सम्म आफुले नलिएको त्रिभुवन मावि खलंगामा ३२ बर्ष शिक्षण गरेका विज्ञान शिक्षक सत्यनारायण मण्डलले बताए । उत्साहित हुँदै उनले भने–‘तालिमले विद्यार्थी प्रति हाम्रो परम्परागत जे धारणा थियो त्यो नै बदलिदिएको छ । हामीले जे गरिरहेका छौ यो भन्दा फरक तरीकाले प्रस्तुत हुनु पर्ने कुरा सिकेका छौ । हामीमा उर्जा थपिएको छ । अव हामी साँचिकै ब्यवहारमा लागु गछौ ।’
सिकाई समुहका अध्यक्ष सुर्दशन घिमिरे, काठ्मान्डौ विश्वविद्यालयका कृष्ण खतिवडा र फ्रिलेन्सर माधव अधिकारीको सहजीकरणमा भएको तालिममा त्रिभुवन मावि र आसपासका फिडर विद्यालयका गरी जम्मा २० जना शिक्षकको सहभागिता रहेको थियो । सिकाउनका लागि सिक्ने अभियान चलाईरहेको सिकाई समुहले पहिला आफु सिकौ, अध्ययन गरौ, सन्दर्भ पुस्तक पढौ अनि मात्र सिकाउन सकिन्छ भन्ने अवधारणा अघि सारेको अध्यक्ष घिमिरेले बताए । उनले भने–‘परिवर्तन संभब छ । शुरुवात आफैबाट गरौ । आफु बदलिए अरुलाई पनि बदल्न सकिन्छ । शिक्षकले चाहेमा शिक्षा क्षेत्रमा धेरै परिवर्तन गर्न सकिन्छ ।’

प्रत्येक महिना एक जना शिक्षकले एक पुस्तक अभियान अन्र्तगत एउटा सन्दर्भ पुस्तक अध्ययन गर्नुपर्नेछ । अध्ययन गरेका उक्त पुस्तकको समिक्षा सहित मासिक रुपमा शिक्षक सेमिनार हुनेछ भने शिक्षकले विद्यार्थीलाई मोडेलको रुपमा परियोजना कार्य गरेर देखाउने र विद्यार्थीलाई गर्न लगाउने प्रतिवद्धता जनाएका छन् । आइसीटीको प्रयोग अन्र्तगत मोवाईल एपको प्रयोग गरेर सिक्ने वातावरण तयार गरिने भएको छ भने विद्यार्थीलाई कुनै पनि कार्यमा सोच्ने समय प्रदान गरिने भएको छ । सहजकर्ता माधब अधिकारीले ६ देखी १० कक्षा सम्मका विद्यार्थीलाई मोटिभेशनल कक्षा समेत लिएका थिए । विद्यार्थी केन्द्रित सिकाईमा जोड दिन र शिक्षकहरु आफै परिवर्तन भई पढाउने शैलीमा परिवर्तन गर्न तयार रहेको त्रिभुवन माविका सहायक प्रधानाध्यापक हरिबहादुर बस्नेतले बताए । प्रधानाध्यापक भक्तबहादुर मल्लले कार्यशैली र ब्यवहारमा परिवर्तन गरि त्रिभुवन माविलाई नमुना विद्यालयको रुपमा स्थापित गर्न सहयोगात्मक भावनाका साथ अघि बढ्न सबैलाई आग्रह गरेका छन्


