प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटमा बुधबार पाँचौ राष्ट्रिय योग दिवस मनाईएको छ । स्वास्थ्य सेवा कार्यालय (आयुर्वेद शखा) जाजरकोटको आयोजना र जीवन योग बिज्ञान प्रयोगशाला, जाजरकोटको सहआयोजनामा पाँचौ राष्ट्रिय योग दिवस मनाईएको हो ।
“राष्ट्रिय एकता ः योगको सान्दर्भिकता ।” भन्ने मुल नारा सहित मनाईएको पाँचौ राष्ट्रिय योग दिवसमा आज जिल्ला प्रशासन कार्यालयको प्रारङ्गणमा योगा गरेर मनाईएको थियो । दिवस मनाउनलाई आयोजना गरिएको योगामा सरकारी कर्मचारी, स्थानिय बासिन्दा जिवन योग विज्ञान प्रयोगशाला, जाजरकोटका योग गुरु रेखा शाहले दिवसमा सहभागिहरुलाई योगा गराएकी थिइन् । योग दिवसको अवसरमा योगाबाट हुने मानसिक तथा शारिरिक फाईदाका बिषयमा स्वास्थ्य सेवा कार्यालय, जाजरकोट निमित्त व्यवस्थापक डा. रविन भुषाल, योग गुरु रेखा शाह, जिवन योग विज्ञान प्रयोगशाला, जाजरकोटका अध्यक्ष भद्रबहादुर वलीले भनाई राखेका थिए ।
दैनिक योगा गर्नाले व्यवहारिक रुपमा मानव स्वास्थ्यलाई हुने फाईदाका बिषयमा दिवसका सहभागिहरुले आफ्नो भनाई राखेका थिए । जिवन योग विज्ञान प्रयोगशाला, जाजरकोटले गत मंसिर ११ गते देखि दैनिक रुपमा जाजरकोटको सदरमुकाम खलंगामा योगा गराई रहेको जानकारी दिदै सहभागी सविता शाह सिंहले दैनिक योगा गर्नाले आजभोलि आफु १७ किलो तौल घटाउन सफल भएको बताईन् । दैनिक योगा गर्नाले शारिरीक रुपमा मात्रै नभएर मानसिक रुपमा पनि स्वस्थ हुने गरेको आफुलाई अनुभव भएको दिवसका अर्का सहभागी जय आचार्यको भनाई रहेको थियो । जिवन योग विज्ञान प्रयोगशाला, जाजरकोटले गत मंसिर ११ गते देखि खलंगामा रहेको नेपाल पत्रकार महासंघको सभाहलमा योगा गराई रहेको जानकारी दिदै योग गुरु शाहले इच्छुक महान्भाव उक्त योगामा सहभागी हुन अपिल गरिन् । आफुहरुले दैनिक रुपमा संचालन गरिएको योगामा सहभागी हुनका लागि प्रवेश शुल्क २ सय भन्दा बढी अरु कुनै शुल्क नलाग्ने अध्यक्ष वलीको भनाई रहेको छ । जिवन योग विज्ञान प्रयोगशाला, जाजरकोटले संचालन गरेको योगामा भाग लिने दैनिक सहभागिहरुको संख्या २० जना देखि ३० जनासम्म रहने गरेका छन अध्यक्ष वलीले भने–“हामीले महासंघको सभाहलमा दैनिक बिहान ५ बजे देखि साढी ६ बजेसम्म योगा गराउने गरेका छौं ।”


