May 20 - 2024, Monday७ जेष्ठ २०८१, सोमबार

आयो दशैं, आएन चामल

राजेन्द्र कार्की । जाजरकोट
डिपोमा चामल आउला र दशैं मनाउँला भनेर आशामा बसेका जुनीचाँदे ७ रजुतराका करवीर बुढा निराश छन् । दशैं अघि खाद्य डिपोमा चामल नआउने निश्चित भएपछि उनी जस्तै धेरै स्थानिय निराश छन् । दशै अघि डिपोमा सहुलियत दरको चामल पाईने आशामा बसेका त्यहाँका बासिन्दा चाडवाड कसरी टार्ने भन्ने पिरालो छ । स्थानिय बजारमा खाद्यन्न पाईदैन । पाईएपनि निकै महँगो पर्छ । खाद्यको भन्दा झण्डै दोब्बर पैसा तिरेर पनि सहज रुपमा चामल पाईदैन । बर्षातमा विग्रेको बाटो अझै बनेको छैन । जसका कारण पनि जुनीचाँदेवासी थप समस्यामा छन् । सरकारले खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड मार्फत ढुवानी अनुदान दिएर सहुलियत दरमा खाद्यन्न विक्रि गर्ने गरेको छ । तर चाडवाडको बेला सहुलित दरको चामल नपाउँदा करवीर जस्तै धेरै विपन्न नागरिक समस्यामा परेका छन् ।
मुल्य बृद्धिले खाद्यान्न छोइ सक्नु छैन । नजिकमा बजार पनि छैन । कसरी खाद्यान्न जुटाउने रजुतराकै अर्की स्थानिय रामकली घर्तीले भनिन् ‘चाडवाड आउन थालिसके । घरमा खाने अन्न छैन । डिपोमा चामल आएको छैन । म जस्तै धेरैले डिपोको चामल कुरेर बसेका छौ तर कहिले आउने हो केही टुगो छैन । डिपो तीन महिना देखि बन्द छ । दशै कसरी मनाउँ ?’
सहुलियत दरको चामल खाद्य डिपोमा नहुँदा खाद्य संकट झेलिरहेका स्थानिय चर्को मुल्यको मारमा परेका छन् । बजारबाट उनीहरुले दोब्बर बढी मूल्य तिरेर चामल किन्न बाध्य छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको जुनीचाँदे वडा नम्बर ७ रजुतरामा रहेको खाद्य डिपोमा यतिवेला एक गेडो पनि चामल छैन । रजुतरामा मात्र होइन जुनीचाँदेकै ताँगाचौर, बारेकोटको काउली र नायकवाडा, नलगाडको चौखा, कुशेको टापुचौर, छेडागाडको दशेरा र पजारु खाद्य डिपोमा चामल ढुवानी हुन नसक्दा स्थानिय मारमा परेका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले समयमा टेण्डर नगर्दा डिपोमा खाद्य पुग्न नसकेको हो ।
नलगाड नगरपालिका, कुशे गाँउपालिका, छेडागाड नगरपालिका र जुनीचाँदे गाँउपालिकामा यतिवेला खाद्यान्न अभाव देखिएको छ । ति पालिकामा रहेका खाद्य डिपो र विक्री केन्द्र यतिवेला रित्तै छन् । नयाँ बाली नपाकेको, बर्षातले ग्रामिण सडक अवरुद्ध पारेको र खाद्य डिपो तथा विक्रि केन्द्रमा खाद्यान्न नहुँदा दुर्गमका बासिन्दालाई यतिवेला खाद्यान्नको जोहो गर्न कठिनाई पर्न थालेको छ ।
जिल्लाका ग्रामिण भेकमा हिजोआज स्थानीयले पैसा तिरेर पनि चामल नपाउने अवस्था छ । स्थानीय चामलको जोहो गर्नका लागि भौंतारिरहेका छन् । दुर्गममा चाडपर्वको बेलामा चामल अभाव हुन नदिन खाद्य कम्पनीले चामल खरिद र ढुवानीको प्रक्रिया अगाडी नबढाउँदा समस्या परेको हो । खाद्य कम्पनीले हालै मात्र टेण्डर स्वीकृत गरेको छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले गत २० असोजमा जाजरकोटका खाद्य डिपोमा चामल ढुवानीका लागि टेण्डर स्वीकृत भएको र १५ दिन भित्र सम्झौता गर्न २५ गते केन्द्रबाट पत्र आएको बताए । १५ दिनको म्याद भएपनि संभव भए सम्म ५ दिन भित्र सम्झौता गरि दशै अघि नै चामल ढुवानी गर्न आग्रह गरेपनि बाटोघाटो विग्रेको कारण देखाउँदा ठेकेदारहरुले चामल ढुवानी गर्न र सम्झौता गर्न आनकानी गरेको शाखा प्रमुख पौडेलले बताए ।

केहि समय अघि बसेको जिल्ला खाद्य ब्यवस्था समितिको बैठकले पनि दशै अघि नै खाद्यान्न डिपोमा पठाउन सम्बन्धित निकायलाई आग्रग गरेको थियो । चौखा, टापुचौर, ताँगाचौर खाद्य डिपोको चामल ढुवानीका लागि एमवि विल्डर्स जाजरकोटको फार्म स्वीकृत भएको छ । त्यस्तै पजारु, दशेरा, नायकवाडा र रजुतराका लागि एन्जिला टे«डर्स नेपालगञ्जको नाममा स्वीकृत भएको छ । चौखा सात सय ५० क्वीन्टल, नायकवाडा एक हजार क्वीन्टल, टापुचौर पाँच सय क्वीन्टल, ताँगाचौर सात सय ५०, रजुतरा सात सय क्वीन्टल, दशेरा र पजारुमा पाँच÷पाँच सय क्वीन्टल चामलको कोटा स्वीकृति भएको पौडेलले बताए । पजारु र दशेरा नेपालगञ्जबाट ढुवानी हुनेछ भने अन्य डिपोका लागि सदरमुकाम खलंगाबाट हुनेछ ।
स्थानियले मोटो र सस्तो चामल खोज्ने गरेका छन् तर खाद्य कम्पनी लिमिटेड सँग उक्त चामल नहुदा थप समस्या देखिएको छ । स्थानियले मोटो चामल खोज्छन् तर मोटो चामल खाद्य कम्पनीका गोदाम नेपालगञ्ज र राजापुरमै छैन । मसिनो चामल महँगो पर्छ त्यही भएर स्थानियको रोजाईमा पदैन । प्रति केजी ६० देखि ८० रुपैया सम्ममा मोटो चामल पाईन्छ भने मसिनो चामल झण्डै एक सय रुपैया प्रतिकेजी पर्दछ । शाखा कार्यालयमा करीव चार सय ५० क्वीन्टल मसिनो चामल गत बर्षकै मौज्दात छ । त्यसले जेनतेन धानिरहेका छौ । सदरमुकाममा अहिले पनि त्यही मसिनो चामल वितरण भैरहेको छ तर सदरमुकाममै पनि मोटो चामलको माग आईरहेको छ कार्यालय प्रमुख पौडेलले भने । जाजरकोटका ग्रामिण भेकमा धान उत्पादन नहुँदा बर्षेनी चामलको अभाव हुने गरेको छ । यातायातको सहज पहुँच नहुँदा पनि ढुवानीमा समस्या हुदै आएको स्थानियको भनाई छ ।
सरकारको फितलो तयारी र बेवास्ताले दुर्गममा हरेक वर्ष चामलको अभाव हुने गरेको छ । समयमै ढुवानी नहुँदा चाडपर्वका बेला पनि चामल नपाउँदा दुर्गमका बासिन्दामा सधै पिरलो हुने गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad