May 21 - 2024, Tuesday७ जेष्ठ २०८१, सोमबार

जाजरकोटमा ५० शैयाको जिल्ला अस्पताल भवन उद्घाटन

राजेन्द्र कार्की । जाजरकोट
जिल्ला अस्पताल जाजरकोटको नव निर्मित पचास सैयाको भवन उद्घाटन गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले एक समारोहका विच आइतवार जाजरकोट सदरमुकाम खलंगा स्थित थाप्लेचौरमा निर्मित सुविधा सम्पन्न अत्याधुनिक भवनको उद्घाटन गरेका हुन् ।

१५ शैयाबाट २०७२ सालमा यो अस्पताल ५० शैयामा स्तरोन्नती भएको थियो । तर न भवन थियो न जनशक्ति नै । जिर्ण भवनबाट सेवा प्रवाह भैरहेको थियो । स्तरोन्नती कागजमै सिमित थियो । सरकारले ५० शैयाको मापदण्ड अनुसार भवन बनाए पनि जनशक्ति भने अझै पठाउन सकेको छैन । यो अस्पतालमा ७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको छ तर हाल सम्म एक जना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन् । स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नी, वेहोसपार्ने, सर्जन र कन्सल्टेन्ट डाक्टर अहिले सम्म आएका छैनन् । एक जना एमडिजीपी, ५ जना मेडिकल अधिकृत र अन्य जुनियर स्वास्थ्यकर्मीले अस्पताल चलाईरहेका छन् । सामान्य रोगका विरामीको पनि उपचार हुन नसक्दा अस्पताल रेफर सेन्टर जस्तै बनेको छ । सामान्य रोगको उपचारका लागि पनि विरामीहरुले चौरजहारी, सुर्खेत, नेपालगञ्ज र काठ्मान्डौ जानुपर्ने बाध्यता छ ।

तर यी सवै बाध्यता हट्ने गरी काम गर्ने मन्त्री बस्नेतले बताए । हामीले भौतिक पुर्वाधार बनायौ अव हामी जनशक्ति ब्यवस्थापनको काममा लाग्छौ मन्त्री बस्नेतले भने–‘स्वास्थ्य मन्त्री र सचिव सँग कुरा भएको छ । फेरी पनि म काठ्मान्डौ फर्केपछि कुरा गर्छु । विशेषज्ञ चिकित्सक र आवश्यक उपकरणका लागि तत्काल पहल गछौ । यसै अस्पतालबाट भरपर्दो सेवा दिने गरि काम गछौ । म तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु ।’

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले संघिय सरकार सँग समन्वय गरेर जाजरकोट जिल्ला अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको ब्यवस्थापन गरिने बताए । उनले जाजरकोट अस्पताललाई कर्णालीकै नमुना अस्पताल बनाउन सवै मिलेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा जाजरकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर प्रतिक्षा भारती र अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले अस्पतालमा रहेका समस्या र प्रगति पेश गरेका थिए । भौतिक पुर्वाधार सुविधा सम्पन्न भएपनि जनशक्ति ब्यवस्थापन चुनौतिपुर्ण रहेको स्वास्थ्य सेवा ब्यवस्थापक भारतीले बताईन । दुर्गममा आएर काम गर्न विशेषज्ञ चिकित्सकले नमान्दा समस्या हुने गरेको उनको भनाई छ । सवै विशेषज्ञ चिकित्सक ल्याउन नसकेपनि कल्सल्टेन्ट ल्याएर सामान्य खालका सर्जरीका काम गर्न सकेपनि ठुलो उपलब्धी हुने उनको भनाई छ । यद्यपी पहिलेको तुलनामा अस्पतालको सेवा प्रवाह राम्रो हुँदै गएको डाक्टर भारतीको भनाई छ । कार्यक्रममा संघिय साँसद मैना कार्की रावल, पुर्व मन्त्री सत्या पहाडी, जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री, राजनैतिक पार्टीका प्रतिनिधी लगायतले अस्पतालको सेवा प्रभाव सुधारका लागि शुभकामना दिएका थिए ।  

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad