राजेन्द्र कार्की । जाजरकोट
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री सहित सवै मतदान केन्द्रमा कर्मचारी पुगेका छन् । जिल्लाका १ सय ४७ ओटै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामाग्री सहित सुरक्षाकर्मी र कर्मचारी पुगेका हुन् । भौगोलिक रुपमाम विकट रहेका मतदान केन्द्रमा आइतवार नै कर्मचारी पठाइएको थियो । बाँकी पालिकामा सोमवार पठाइएको हो ।
मतदान केन्द्रमा निर्वाचनमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचन सामग्री सहित ८९ मतदान स्थलका १ सय ४७ केन्द्रमा खटिएका सुरक्षाकर्मी, मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित स्थानमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । सुरक्षा निकायको कमान्डमा सम्बन्धित मतदान स्थलमा कर्मचारी जाने ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जिल्लामा ८९ मतदान स्थलमा एक सय ४७ मतदान केन्द्र रहेका छन् । जसमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील र १५ मतदान स्थल सामान्य भनेर बर्गिकरण गरि आवश्यक सुरक्षा ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । जिल्लामा ४ सय ३६ स्वयमसेवक सहित ८ सय ७९ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । त्यस्तै ८ सय ८२ निर्वाचन प्रहरी परिचालन गरिएको छ ।
जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिकामा गरी जम्मा ७७ वटा वडा रहेका छन् । निर्वाचनलाई शान्तिपुर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सवैलाई सहयोग गर्न मुख्य निर्वाचन अधिकारी दुर्गाप्रसाद खनालले आग्रह गरे । उनले आचारसंहिताको पुर्ण रुपमा पालन गर्न सवैलाई आग्रह गरे ।


