राजेन्द्र कार्की । जाजरकोट
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आवश्यक मतदान सामग्री जाजरकोटमा बुझ्ने र बुझाउने कार्य भैरहेको छ । भौगोलिक विकटताका कारण समयमा नै मतदान स्थलमा आवश्यक मतदान सामग्री सहित कर्मचारी पुग्ने गरी शनिवार देखि नै मतदान सामग्री बुझाउन थालिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लाका भौगोलिक रुपमा विकट कुशे गाँउपालिका, बारेकोट गाँउपालिका र जुनीचाँदे गाँउपालिकामा रहेका मतदान केन्द्रमा निर्वाचनमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचन सामग्री वितरण गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी नविनकुमार कठायतले जानकारी दिए । ति पालिकाका ३५ बढी मतदान केन्द्रका मतदान अधिकृतले निर्वाचन सामग्री बुझेर लगेका छन् ।
बारेकोट गाँउपालिकाका बाँकी, शिवालय गाँउपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र नलगाड नगरपालिकाका मतदान केन्द्रमा भने आइतवार निर्वाचन सामग्री वितरण गरिने भएको छ । निर्वाचन सामग्री सम्बन्धी कर्मचारीलाई बुझाउने काम सकेर सोमवार सुरक्षा निकायको कमान्डमा सम्बन्धित मतदान स्थलमा कर्मचारी जाने ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।
जिल्लामा ८९ मतदान स्थलमा एक सय ४७ मतदान केन्द्र रहेका छन् । जसमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील र १५ मतदान स्थल सामान्य भनेर बर्गिकरण गरि आवश्यक सुरक्षा ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । जिल्लामा ४ सय ३६ स्वयमसेवक सहित ८ सय ७९ जना कर्मचारी निर्वाचनमा खटिएका छन् ।
जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिकामा गरी जम्मा ७७ वटा वडा रहेका छन् । सवै ठाँउमा यातायातको पहुँच नपुगेको र एउटा वडाबाट अर्को वडामा जान घण्टौ समय लाग्ने भएकोले पनि निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समस्या पर्ने देखिन्छ ।
जाजरकोटमा मतदान सामग्री बुझ्दै निर्वाचन कर्मचारीहरु

