जाजरकोटमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील
राजेन्द्र कार्की । जाजरकोट
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जाजरकोटमा निर्वाचन सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
जुनीचाँदे गाँउपालिका, कुशे गाँउपालिका, शिवालय गाँउपालिका र बारेकोट गाँउपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बुधवार र नलगाड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मतदान पुर्व गर्नु पर्ने काम, मतदानको दिन गर्नुपर्ने दिन र मतदान पश्चात गर्नुपर्ने कामका बारेमा अभिमुखिकरण गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । १ सय ५० मतदान अधिकृत तथा १ सय ५० सहायक मतदान अधिकृत गरी ३ सय जनालाई अभिमुखिकरण प्रदान गरिएको हो । मुख्य निर्वाचन अधिकारी दुर्ग प्रसाद खनाल, प्रमुख जिल्ला अधिकारी पौडेल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले निर्वाचनलाई कसरी शान्तिपुर्ण, भयरहित र निश्पक्ष तरीकाले सम्पन्न गर्ने भन्ने बारे आवश्यक जानकारी र निर्देशन प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले राज्यले दिएको जिम्मेवारी कुशलतापुर्वक इमान्दारीपुर्वक पुरा गर्न निर्देशन दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई नमुना मतदान समेत गराईएको थियो । जाजरकोटमा आगामी फागुन १८ गते देखि मतदान स्थलमा खटाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा ८८ मतदान स्थलमा एक सय ४७ मतदान केन्द्र रहेका छन् । जसमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील र १५ मतदान स्थल सामान्य भनेर बर्गिकरण गरि आवश्यक सुरक्षा ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । मतदान स्थलको भौगोलिक अवस्थिती, सडक यातायातको पहुँच, राजनैतिक दलको एकलौटी प्रभाव र हुलदंगा हुन सक्ने संभावित स्थलको पहिचान गरि जिल्ला सुरक्षा समितिले मतदान स्थलको बर्गिकरण गरेको हो ।
सुरक्षा संवेदनशिलताका आधारमा मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिने उनको भनाई छ । तत्कालिन विद्रोही नेकपा माओवादी केन्द्रको उद्गम स्थान र पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको गृह जिल्ला भएकोले पनि सुरक्षा सर्तकता उच्च पारिएको छ ।
निर्वाचनलाई शान्तीपुर्ण, निश्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नका लागि म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिने भएको छ । जाजरकोटमा ८ सय ८२ म्यादी प्रहरी परिचालन गरिने भएको छ । म्यादी प्रहरी सहित तीन ओटै सुरक्षा निकायलाई फिल्डमा खटाउने कार्य जारी रहेको प्रजिअ पौडेलले बताए ।
जाजरकोटमा तीन नगरपालिका र चार गाँउपालिकामा गरी जम्मा ७७ वटा वडा रहेका छन् । सवै ठाँउमा यातायातको पहुँच नपुगेको र एउटा वडाबाट अर्को वडामा जान घण्टौ समय लाग्ने भएकोले पनि निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समस्या पर्ने देखिन्छ भने प्रचारप्रसारका लागि उम्मेदवारलाई सवै वडामा पुग्नै हम्मेहम्मे परिरहेको छ । मतदातालाई पनि मतदान गर्न आउनका लागि बढीमा ५÷६ घण्टा सम्म लाग्ने भएकोले पनि सुरक्षा संवेदनशीलता उच्च रहेको सुरक्षा निकायको विश्लेषण छ ।
पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् । जाजरकोटमा ११ दल प्रतिस्पर्धामा छन् । जिल्लामा मुख्य तीन दलको प्रतिस्पर्धा हुने देखिएको छ । काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी विच कडा प्रतिस्पर्धा हुने देखिएको हो । काँग्रेसबाट युवा नेता खडकबहादुर बुढा मैदानमा उत्रिएका छन् । एमालेबाट डम्बरबहादुर सिंह र नेकपाबाट पुर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनलाई निश्पक्ष र भयरहित तरीकाले सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा ब्यवस्था, मतपेटिका पुर्याउने र संकलन गर्ने सवै ब्यवस्थाको तयारी र योजना बनाइसकिएको प्रजिअ पौडेलले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जाजरकोटमा मतपत्र आइपुगेको छ । जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार प्रत्यक्षतर्फ १ लाख १५ हजार र समानुपातिकतर्फ १ लाख १८ हजार मतपत्र जिल्लामा प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि आवश्यक मतपत्र सुरक्षित रूपमा ल्याएर व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । जिल्लामा कुल १ लाख ७ हजार ९३ मतदाता रहेका छन् । मतदाताको सङ्ख्यालाई आधार मानी आवश्यकताभन्दा केही बढी मतपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।


