राजेन्द्र कार्की । जाजरकोट
नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरु तैनाथ गरिएको थियो । सुरक्षा ब्यवस्था कडा पारिएको थियो तर पनि मतदान स्थलमा विवाद भै एक्कासी हुलदंगा हुन थालेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि नेपाली सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिईएको हो ।
जाजरकोट खलंगा स्थित थाप्लेचौरमा विहिवार गरिएको नमुना मतदान र हुलदंगा नियन्त्रण सम्बन्धी अभ्यासको दृश्य हो यो । मन्त्रालयको निर्देशनमा जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा भएको नमुना अभ्यासको अभिनयका लागि निर्वाचन प्रहरी (म्यादी प्रहरी)ले अभिनय गरेका थिए । निर्वाचन अधिकृत सहित निर्वाचन कर्मचारीहरु खटिएका थिए । कोही मतपत्र दिदै थिए । कोही नङमा मसी लगाईदिदै थिए । कोही मतदान गरिरहेका थिए । केही अपाङ्ग मतदाता पनि थिए । मतदान स्थल घेराबार गरेर सुरक्षित पारिएको थियो । पहिलो घेरामा म्यादी प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेका थिए । नमुना मतदान स्थलमा एक्कासी हुलदंगा भएको र सो हुलदंगा प्रहरी र शसस्त्र प्रहरीले नियन्त्रणमा लिन नसक्दा नेपाली सेना परिचालन गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । मतदान स्थलमा बम समेत भेटिएपछि नेपाली सेनाले डिस्पोज गरेको थियो ।
आगामी फागुन २१ गते हुन गैरहेको प्रतिनिधि सभाको निर्वाचनलाई शान्तीपुर्ण, निश्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नका लागि म्यादी प्रहरी र अन्य सुरक्षा निकायले कस्तो भुमिका निर्वाह गर्ने भन्ने बारेमा अभ्यास गराईएको प्रजिअ पौडेलले बताए । जाजरकोटमा ८ सय ८२ म्यादी प्रहरी परिचालन गरिने भएको छ । म्यादी प्रहरी सहित तीन ओटै सुरक्षा निकायलाई केही दिनमै फिल्डमा खटाईने भएको छ । जाजरकोटमा ८८ मतदान स्थलमा एक सय ४७ मतदान केन्द्र रहेका छन् । जसमा १६ मतदान स्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील र १५ मतदान स्थल सामान्य रहेको प्रजिअ पौडेलले जानकारी दिए । सुरक्षा संवेदनशिलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिने उनको भनाई छ ।


