यात्रा संस्मरणः मेरो मन मश्तिष्क भित्रको अष्ट्रेलिया

राजेन्द्र विक्रम शाह । जाजरकोट

पृष्ठभाग
हाम्री कान्छी छोरी सनम शाह उच्च शिक्षा अध्ययन गर्न विक्रम सम्वत् २०७५ सालमा अष्ट्रेलियाको सिडनी गएकी थिईन् । उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरि सके पनि दिक्षान्तमा सहभागिता वांकी थियो ।

अभिभावकको सहभागितामा प्रमाणपत्र ग्रहण गर्ने छोरीको ईच्छाले नियमित भन्दा २ वर्ष ढिलो गरी अगष्ट २७, २०२५ ः २०८२ भाद्र ११ गतेका लागि उक्त कार्यक्रम तय भएको, छोरीको जन्म दिन भदौ २२ गते पर्ने भएको र उनको शुभ विवाह २०८२ असोज ११ गते तय भएकाले हामी २०८२ भदौ ७ गते तदनुसार २३ अगष्ट, २०२५ मा भारत नयां दिल्ली — श्रीलंका कोलम्वो हुंदै सिडनी अष्ट्रेलिया प्रस्थान गरी २०८२ भदौ ८ गते तदनुसार अगष्ट २४, २०२५ मा पुगेका थियौं र तय भएका कार्यक्रम सहितको भ्रमण सम्पन्न गरी सोही हवाई मार्ग हुंदै २०८२ असोज १८ गते तदनुसार अक्टूवर ०४, २०२५ मा घर नेपाल फक्र्यौ ।

bhumi-sanrakshyan

छोरी र हामी अभिभावकहरुका लागि महत्वपूर्ण ३ वटा क्रियाकलापहरु र आउंदै गरेको दशैंको टीका समेत जोड्दा जम्मा ४० दिनको अष्ट्रेलिया वसाई अवधीका अध्ययन तथा अवलोकलन गरिएका विषय तथा स्मरणीय क्षणहरु मध्य मन मस्तिष्कमा वसेका केही क्षण, सन्दर्भ, व्यक्तिगत अनुभूति र सिकाईहरु उल्लेख गर्दैछु ।

अष्ट्रेलियाको संक्षिप्त परिचय

विश्वको दक्षिणी गोलार्धमा पर्ने अष्ट्रेलिया अहिले विश्वकै मानिसहरुको आकर्षणको केन्द्र वनेको छ । यो देशलाई चारै दिशा तर्फ प्रशान्त महासागर र हिन्द महासागरले घेरेको छ । यहांको प्रकृति, अर्थव्यवस्था, शासन व्यवस्था, गुणस्तरीय जीवनपद्धति लोभलाग्दो भएकाले नै यस देशले विश्वकै ध्यान खिचिरहेको छ ।

करिव ७७ लाख वर्ग किलोमिटरमा फैलिएको यो देशको जनसंख्या करिव २ करोड ८० लाख छ ।

यहांको शासन प्रणाली वहुदलीय लोकतान्त्रिक संवैधानिक राजतन्त्र हो । यो देशको राजधानी क्यानवेरा शहर हो ।
यो देश वहुधार्मिक, वहुजातिय, वहुभाषिक, वहुसांस्कृतिक विविधतायुक्त देश हो । वर्तमान समयमा निम्न कारणले विश्व भरीका मानिसहरुले यो देशलाई चिन्दछन् ।

१. यो देशका जनताको जीवनस्तर उच्चस्तरको छ ।
२. यहांको सरकार र शासन जनता प्रति अत्यन्त जवाफदेही छ ।
३. यस देशको मानव विकास विश्वकै उच्च सूचक भएका १० देश भित्र पर्दछ ।
४. यहांको शिक्षा व्यवस्था विश्वकै उत्कृष्ट १५ देश मध्य पर्दछ र साक्षरता करिव ९९ प्रतिशत छ ।
५. यहांका शहरहरु विभिन्न वर्षहरुमा विश्वका वस्नलायक उत्कृष्ट शहरहरुमा छानिन्छन् ।
६. यो देश भ्रष्टाचार अति कम हुने विश्वका १० देश मध्य पर्दछ र औषत आयु करिव ८५ वर्ष छ ।
७. अन्तरराष्ट्रिय स्तरका विभिन्न खेलको समष्टिगत औषतमा पनि विश्वका उत्कृष्ट ५ देशमा पर्दछ ।
८. प्रति व्यक्ति आम्दानी करिव ७० हजार अमेरिकी डलर छ र कर प्रणाली गतिशील छ ।
९. समग्र क्षेत्रमा प्रविधिको उच्चतम उपयोग गरिएको, आर्थिक र राजनीतिक स्थिरता नमूना छ ।
१०. जनताहरु अति सभ्य, सहृदयी, राष्ट्रप्रेमी, विश्वासिला, श्रृजनशील र परिश्रमी छन्, देशको शासन, नीति र कानूनको सम्मान गर्दछन् । ।
११. विश्व खुसी सूचकांकमा यो देशको स्थान उत्कृष्ट १० देशमा पर्दछ ।

यो देश राजनीतिक र प्रशासनिक रुपमा ६ राज्य र २ विशेष क्षेत्रमा वांडिएको छ । जुन यस प्रकार छन्,

राज्यहरु
१. क्विन्सल्याण्ड — राजधानी व्रिसवेन, उत्तर पूर्व
२. तस्मानिया — राजधानी होवार्ट, दक्षिण मध्य
३. न्यू साउथ वेल्स — राजधानी सिडनी, दक्षिण पूर्व
४. भिक्टोरिया — राजधानी मेलवोर्न, दक्षिण मध्य
५. साउथ अष्ट्रेलिया — एडिलेड, दक्षिण पश्चिम
६. वेष्टर्न अष्ट्रलिया — राजधानी पर्थ, दक्षिण पश्चिम

विशेष क्षेत्र
१. क्यापिटल टेरिटोरी — राजधानी क्यानवेरा, दक्षिण पूर्व
२. नर्दन टेरिटोरी — राजधानी डार्विन, उत्तर पश्चिम

सामाजिक परिवेश

यहांको ९५ प्रतिशत जनसंख्या ५ प्रतिशत भूगोलमा छ भने करिव ५ प्रतिशत अरु ५ प्रतिशत भूगोलमा छ र करिव ९० प्रतिशत भूगोलमा मानव वस्ती छैन । मानव वस्ती भएको अधिकांश क्षेत्र सामुद्रिक तट क्षेत्रमा छन् । यहांको भूगोल, वनस्पति, प्रकृति र जनघनत्व विविधतामूलक छ । भाषामा ८० प्रतिशतले अंग्रेजी भाषा, १५ प्रतिशतले विभिन्न अल्पसंख्यक भाषा र ५ प्रतिशतले आदिवासी भाषा वोल्दछन् भने धर्म तर्फ करिव ४६ प्रतिशतले क्रिश्चियन र करिव १० प्रतिशतले मुस्लिम, हिन्दू, वौद्ध, सिख र अन्य धर्म मान्दछन् भने करिव ४४ प्रतिशत कुनै पनि धर्ममा आवद्ध नभएको वताउंछन् ।

 

अष्ट्रेलियामा नेपाली

आज भन्दा ४५ वर्ष अगाडी सन् १९८० देखि नेपालीहरु अष्ट्रेलिया जान थालेको पाईन्छ । नेपालीहरु अष्ट्रेलियाका करिव करिव सवै ठूला शहरहरुमा नेपालीहरु विभिन्न कामहरु गरेर वस्ने गरेको पाईन्छ । यस देशमा अहिले नेपालीहरुको संख्या करिव एक लाख पचास हजार पुग्न थालेको अनुमान छ । अष्ट्रेलियामा वस्ने नेपालीहरु मध्य वढी जसो सेवा क्षेत्रमा संलग्न छन् । नेपालमा युवाहरुका लागि पर्याप्त रोजगारीको अभाव भएको र अष्टे«लियामा श्रमको उचित पारिश्रमिक पाईने भएकाले नेपाली युवाको आकर्षक गन्तव्य वनेको छ । नेपालीहरु फुर्सद मिलाएर आफ्नो धर्म अनुसार नेपाली सांस्कृतिक परम्पराहरु मनाउने गर्दछन् ।

अन्य विविध पक्षहरु
यो देश जैविक विविधताको धनी देश हो । यहांको केही भागमा हिंउ पनि पर्दछ । तर पनि अधिकांश भूभागमा गर्मी हुन्छ । अधिकांश भूभाग जंगल, मरुभूमि, होचा पहाड र थार क्षेत्र छ । यहां धेरै प्रकारका खनिज पदार्थ, चराचुरुंगी, जीवजन्तु, पशुचौपाया, पतझर र सदावहार रुख विरुवा, वनस्पति, फलफूल पाईन्छन् । यहांका नीजि आवासहरु अधिकांश तथा साना आकारका हुन्छन् । घर वरिपरी रुख, विरुवा, फल र फूलहरु प्रसस्त हुनु यहांको विशेषता र सम्पन्नताको प्रतिक हो । उच्च प्रविधियुक्त सार्वजनिक सेवा, वजार, दीगो तथा समावेशी विकास र सुशासन यहांका प्रमुख विशेषता हुन् । खनिज पदार्थ, कृषि उपज र सेवा क्षेत्र यस देशको आर्थिक स्थिरताका मुख्य खम्वाहरु हुन् ।

अष्ट्रेलिया वसाईमा अवलोकन भ्रमण गरेका स्थानहरु

राजधानी क्यानवेरा

अष्ट्रेलियाका पुराना र ठूला शहर सिडनी र मेलवोर्न वीच संघीय राजधानी कहां राख्ने भन्ने २ मतका वीचमा विकल्पका रुपमा २ शहरका वीचमा नयां शहर वनाई राजधानी राखिएको छ । यो सानो शहर निकै सुन्दर छ र एउटा वगैंचा जस्तो लाग्दछ । अष्ट्रेलियाका ६ राज्य र २ विशेष क्षेत्र मध्य १ क्यानवेरालाई छुट्टै राज्य नभै विशेष राजधानी क्षेत्रका रुपमा लिईन्छ । विश्वकै संसदीय अभ्यासमा पारदर्शी संसदीय अभ्यास हुने संसद भवन सवैका लागि अवलोकनका लागि खुला छ ।

सिडनी ओपेरा हाउस — अनुपम कलात्मक कन्सर्ट हलहरु

अष्ट्रेलियाको नाम आउने वित्तिकै सिडनी शहरको ओपेरा हाउसको नाम अवलोकन गर्ने पर्ने स्थानका रुपमा लिने गरिन्छ । भव्य सांगितिक कार्यक्रमहरु आयोजना गरिने ३ वटा हल रहेका ३ ओपेरा हाउस निकै कलात्मक छन् ।

 

सिडनी ओलम्पिक पार्क — सिडनी ओलम्पिकलाई सम्झाईरहने पार्क

सिडनी व्लुमाउन्टेनस् — आकर्षक र मौलिक पहाडी भौगोलिक क्षेत्रहरु

सिडनी अक्यारियम — माछा सहितका सामुद्रिक जीवहरुको अवलोकन

 

अष्ट्रेलियाका स्मरणीय पक्षहरु
१. वालवालिका र समावेशितामा प्रसस्त लगानी
२. वातावरणीय सचेतना
३. श्रमको उचित मूल्य दिईने, आर्थिक तथा राजनीतिक स्थिरता
४. खुला क्षेत्र, हरियाली, प्रदुषणमुक्त
५. उच्च गुणस्तरको जीवन र जैविक एवं वहुसांस्कृतिक विविधता
६. सदाचारिता, शिष्टता, अनुशासन र अरुको सम्मान
७. उच्च गुणस्तरीय, जीवनोपयागी, श्रृजनशील र कल्पनाशील, अनुसन्धानात्मक शिक्षा व्यवस्था
८. नागरिक अधिकार प्रति जवाफदेही र जिम्मेवार सरकार

अष्ट्रेलिया वसाईका स्मरणीय क्षण, सन्दर्भ र मुख्य सिकाईहरु

१. एक पसलमा वालवालिकाले प्रयोग गर्ने खेलौनाको फोटो खिच्न खोज्दा अनुमति विना वालवालिकाको फोटो खिच्न थालेको ठानेर मलाई वालवालिकाको अभिभावक म संग रिसाएको ।
२. विद्यार्थीलाई १४ वर्ष पछाडी विद्यालय, श्रम प्रतिष्ठान, उद्योग, व्यवसाय र प्रतिष्ठानहरुमा विभिन्न कामहरु सिकाईने ।
३. संयुक्त परिवारको वसाई परम्परा नभएकाले अधिकांश जेष्ठ नागरिक वुवा वुढा मात्रै देखिने ।
४. त्यहां रहेका मध्य करिव आधा जति नेपालीहरु अरु नेपाली देख्दा वोल्न खोज्दछन् भने आधा जति नेपाली अरु नेपाली देख्दा नदेखेको जस्तो गर्ने र वोल्न नचाहेको जस्तो व्यवहार देखिन्छ ।
५. विद्यार्थीहरुलाई स्थानीय आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक र जैविक विविधताको जानकारी दिई राष्ट्रप्रेम जगाईन्छ ।
६. सडकमा मानिस अति कम देखिन्छन् । करिव करिव ९५ प्रतिशत मानिस यातायातका साधन प्रयोग गर्दछन् । ७. उद्योग, कल कारखानाहरु वजार र वस्तीवाट निकै टाढा भएकाले धुंवा, धुलो, प्रदूषणमुक्त छ ।
८. वातावरण र जैविक विविधताको संरक्षण प्रति सवै सचेत, संवेदनशील र जिम्मेवार छन् ।
९. स साना विषयमा पनि अष्ट्रेलियनहरु धन्यवाद भन्न विर्सदैनन् ।

लेखक शाह जाजरकोटको सामाजिक रुपान्तरणका लागि नागरिक अगुवा हुनुहुन्छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya