जाजरकोटको ब्यापार प्रर्वद्धनका चुनौती र अवसर

जनक के.सी. । जाजरकोट
केहि समय अघि खलंगामा खोलिएको एउटा होटेलको उद्घाटनको कार्यक्रममा मलाइ पनि निमन्त्रणा थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न दल, संघ सँस्था र निकायमा आवद्ध धेरै व्यक्तिहरु पुगेका थिए । सवैको उपस्थितिका माझ होटेलका साहुले आफनो होटेलमा पाइने सेवा सुविधाका वारेमा चार पाँच मिनेट वोले ।उनले सवैलाइ आफनो होटेलमा आएर सेवा लिन, होटेलको प्रचार प्रसार गरेर धेरै ग्राहकहरु आउने वनाइदिन र आफनो लगानीलाइ सार्थक वनाइदिन आग्रह पनि गरे ।
होटेलको उद्घाटन कार्यक्रम सकिएपछि मैले कुराकानीकै क्रममा संगै वसेका साथीसंग भनेँ– जाजकोट खलंगा लगाएतका मुख्य वजारहरुमा महंगा होटेल त खुल्दै जान थाले तर यहाँका ग्राहक को हुन यो पहिचान गर्न पर्यो । जनघनत्व निकै कम हुदै गएको खलंगा वजार र अन्य स्थानमा खुल्दै गरेका आकर्षक होटेलहरु एक गिलास चिया, समोसा र जेरी वेच्नलाइ खुलेका त हैनन् होला । अनि सानो तिनो लगानी र खर्च गरेर यी भव्य होटेल खोलेका पनि होइनन होला । स्थानीय सवै जनताहरु घरको नास्ता छोडेर होटेलमा महंगो नास्ता खान दैनिक पनि आउदैनन होला । यसका लागि खलंगा क्षेत्रमा भव्य कार्यक्रमहरु भइरहन पर्यो, मान्छेहरुको ओइरो लागिरहन पर्यो , ठुलो संख्यामा कर्मचारी , सेना प्रहरी र पर्यटकहरुको चहलपहल हुन पर्यो ।
मेरो कुरा सुनेपछि ती साथीले मलाइ समर्थन जनाए । उनले पनि कुरा थप्दै भने यहाँका स्थानीयहरु आफनो घर छोडेर होटेलमा वास वस्न पनि आउदैनन् होला अनि होटेल पसल र गाडी चल्नको लागि त आन्तरिक तथा वाह्य पर्यटकको संख्या धेरै हुन पर्छ । उनले फेरि भने वजारमा मान्छेहरुको चहलपहल धेरै हुन पर्यो । मानिसहरुको चहलपहल जति धेरै वढ्छ त्यति धेरै व्यापार व्यवसायलाइ फाइदा पुग्छ । त्यो मात्रै नभएर वस्ती र वजारमा मानिसहरुको चहलपहल वढेपछि स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसरहरु सिर्जना पनि हुन्छन् । हामी दुवै जनाले गरेको छलफल पछि मैले घर पुगेर जिल्लाको अवस्था र सम्भावना वारे धेरै कुरा सम्झिएँ ।
जिल्ला भित्रका विभिन्न स्थानीय तह र गाउँवाट मान्छेहरु पनि खलंगामा वास वस्ने भन्दा पनि थोरै काम सकेर आफनै घरगाउँतिर फर्कि जाने गरि आउछन् ।जाजरकोटको होटेलहरुमा वास वस्न र खाना नास्ता खान र पसलहरुमा सामान किन्नकै लागि रुकुम, सल्यान, सुर्खेत नेपालगन्जका मानिसहरु खलंगामा आउने कुरा पनि हुदैन ।अव जिल्लाका होटेलपसलको व्यापार चलाइदिने भनेका यहाँका सेना प्रहरी र कर्मचारी तथा फाटफुट वाहिरवाट कहिले काहि मात्र आउने आगन्तुकहरु नै हुन तर त्यो संख्या पनि धेरै छैन । कहिले काहीँ कुनै सन्दर्भले जाजरकोटमा केहि मात्रामा मानिसहरु आएपनि सधैं आउने कुनै स्थायी वाटो र कारण पनि छैन ।
यो कुरा कुनै व्यापारी या नेतृत्वले गम्भीर भएर सोचेको पनि छ जस्तो लाग्दैन । हाम्रो गाँउ वन्नलाइ, हाम्रो व्यापार व्यवसाय फस्टाउनलाइ अनि हाम्रा अघि रोजगारी र आयआर्जनका अवसर मौलाउनलाइ हाम्रा वजार र वस्तीहरुमा मानिसहरुको अत्यधिक आवातजावत वा चहलपहल चाहिन्छ ।
त्यसका लागि कि हाम्रो ठाँउमा ठुुला उद्योग कलकारखाना हुन परयो, कि प्राविधिक विषयहरु पढाइ हुने राम्रा कलेजहरु हुन पर्यो , कि सुविधा सम्पन्न अस्पताल हुन पर्यो कि आकर्षक पर्यटकीय क्षेत्रहरु हुन पर्यो कि हाम्रो ठाउँ र वजारका वस्तीहरु राष्ट्रिय अन्र्तराष्ट्रिय महत्वको क्षेत्रका लागि ट्रान्जीट प्वाइन्ट हुन परयो ।
ती केहि पनि नभएपछि सिमित स्थानीय जनता र केहि कर्मचारी वाहेक अरुको भरमा हाम्रो वजार, व्यापार व्यावसाय जीवन्त राख्न सकिदैन ।
अव यसको लागि के हुनु पर्छ भनेर छलफल गर्दा केहि प्रश्नहरुको जवाफ हामी सवैले खोज्नै पर्ने देखिन्छ ।
जाजरकोटमा वाहिरको मान्छे किन आउने? के हेर्न आउने? वाहिरका मान्छेहरुलाइ जिल्लामा भुलाउने कसरी ? जाजरकोटमा वाहिरका मानिसहरु घुम्न या वस्न आउने वातावरण वनाउने कसरी?जाजरकोटमा वाहिरका मानिसहरुलाइ पल्काउने कसरी ? यी प्रश्नको उत्तर नखोजेर जिल्ला सदरमुकाम खलंगा लगाएतका कुनै पनि वजार र ठाउँको व्यापार व्यावसायमा प्रगति र जनताको समृद्धिमा आसा पलाउने ठाउँ छैन ।
यी माथि उल्लेख गरिएका प्रश्नहरुको जवाफ निर्माण गर्ने सम्भावना क्षमता जाजरकोटसंग अवस्य पनि छ । यसका लागि नेतृत्वको गतिलो इच्छा शक्ति र सक्रियता सहितको समर्पणभाव चाहिन्छ । त्यस्तो खालको नेतृत्व निर्माणको चेतना भएका जनता र जिल्लावासीको पनि उत्तिकै खाँचो छ । जिल्लामा उद्योग वाणिज्यको क्षेत्रमा सक्रिय विभिन्न संघसंगठनहरु छन् । उनीहरुले पनि आज सम्म आफनै लागि समेत यो विषयमा छलफल वहस र लविंग कतै गरेको देखिदैन ।
यस्तै स्थानीय गाउँ र वजारमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गरेर जनतालाइ आत्मनिर्भर वनाउने कुरा पनि यो विषय संग जोडिएको छ । स्थानीय जनताहरुसंग कुनै लगानीको क्षमता र शैक्षिक योग्यता नभएपनि आफुसंग भएको सीप कला र घरेलु श्रोतलाइ उपयोगको अवसर दिने कुरा निकै जरुरी र आवस्यक छ ।
यी माथिका प्रश्नहरुको सहि जवाफ निर्माण नगरेर जनताका लागि आयआर्जनका अवसर सिर्जना गर्ने कुरा र हाम्रो ठाउँको गुणात्मक विकासको वहस सार्थक हुन सक्दैन । सडक वनेर मात्र हुदैन सडकमा हिड्ने मानिसहरु चाहिन्छ ,ठुला ठुला घर वनेर मात्र हुदेन ती घरमा वस्ने मानिसहरु चाहिन्छ । ठुलो ठुला पसल र होटेलहरु खोलेर मात्र हुदैन ती होटेल पसलमा आउने ग्राहकहरु चाहिन्छ । अनि मात्र हाम्रो विकास र समृद्धिको सपनाले साकार रुप लिन सक्छ ।
यी सवै हुनको लागि हाम्रो गाउँ र वजारहरुमा जनताको चहल पहल वढ्नु पर्छ अर्थात यहाँ मनग्य मान्छेहरु आउने कारण चाहिन्छ । किन आउने यहाँ मानिसहरु ? के कामका लागि आउने ? आएर के गर्ने ? यी प्रश्नहरुको जवाफ स्थानीय सरकारले दिने हो । यहाँका नेतृत्वहरुले दिने हो । यसका लागि यहाँका जनताले नेतृत्व र सरकारलाइ दवाव दिने हो ।
अन्यत्र जिल्लाका विभिन्न ठाउँहरु हेर्नका लागि हामी जाजकोटीहरु नै योजना वनाएर जान थालेका छौं । धेरै टाढाका ठाउँहरुको वारेमा कुरा नगरेर नजिकका जिल्लाहरुको कुरा गरौं ।नजिकैको रुकुमकै चौरी खर्क, स्पार्पु ताल, कमल दह, डिग्रे मन्दिर, सल्यानको कुभिन्डे दह, सुर्खेतको काँक्रेविहार, देउती वज्यै, वुलवुले ताल, डोल्पाको फोक्सुन्डो, मुगुको रारा, जुम्लाको गुठीचौर हेर्ने भन्दै मानिसहरु टाढाटाढा देखि आइरहेका छन् ।जसले ती क्षेत्र रहेका वस्ती र जिल्लामा होटेल व्यवसायको प्रवद्र्धनका साथै स्थानीय जनताको आयआर्जनमा समेत सहयोग पुगेको देखिन्छ । ती ठाउँहरुको व्यवस्थापन, प्रचार प्रसार र सहित पुर्वाधार निर्माणको लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारले समेत प्राथमिकता दिएर काम गरेको देखिन्छ । राजनैतिक नेतृत्वले पनि जिल्ला देखि माथिल्लो तह सम्म वजेट र योजना निर्माणका लागि सक्दो पहल गरेको देखिन्छ । रुकुम सल्यानका गाउँ वस्तीहरुमा वाहिरवाट आएका पाहुनाहरुलाइ भनेर स्थानीय जनता र सरकारहरुको पहलमा स्थानीय कला सँस्कृति प्रवद्र्धन गराउने काम भएको पनि देखिन्छ । कोहि वाहिरका मानिस गए भने ती ठाउँका स्थानीय वाजा, कला सँस्कृति अनि मौलिक पहिचान झल्काउने झाँकी देख्न पाउछन् । त्यसमा स्थानीय सरकार र जनताको गहिरो चासो छ, ध्यान छ अनि लगानी पनि छ । त्यो सवै देखेर हामी पनि त्यता पुग्न निकै उत्सुक हुन्छौं । ती ठाउँ सुन्दर देख्छौं, आकर्षक देख्छौं अनि मनमोहक र फरक देख्छौं । त्यो सवै अवस्था र दृस्यले हामीलाइ ति ठाउँतिरै जाउँ जाउँ भन्ने वनाइरहेको पनि छ ।
जाजरकोटमा यी माथि उल्लेख गरिएका भन्दा अझ महत्वपुर्ण,सुन्दर अनि आकर्षक पर्यटकीय क्षेत्रहरु छन् तर ती हामी कसैको प्राथमिकतामा छैनन । खास गरि राजनैतिक नेतृत्व र सरकारको प्राथमिकतामा छैनन् । हाम्रो गाउँ ठाँउमा भएका पर्यटकीय क्षेत्रहरु हाम्रो सम्पदा मात्र होइनन यी त हाम्रो आयआर्जन र रोजगारीका श्रोत पनि हुन । हाम्रो व्यापार व्यवसायलाइ फलाउने कारक पनि हुन यी क्षेत्र र विषयहरु ।
जाजरकोट दरवार, मछाइनाको मालिका मन्दिर, कालेगाउँको शिवालय मन्दिर, जगतिपुरको वायु घटट, वारेकोटका सुन्दर अनि आकर्षक पाटनहरु, विभिन्न दहहरु, कुसे पाटन, वारेकोटकै च्याखुरे पाटन, नलगाडको खनटाकुरा क्षेत्र, छेडागाडको सुयडा क्षेत्र, खलंगा नजिकैका गुफा र झरनाहरु समेत स्थानीय सरकारले नै देखेको छैन भने प्रदेश र संघ सरकारले कसरी देख्न सक्छ ? नत्र आज यी क्षेत्रहरु जिल्लामा मात्रै नभएर कर्णाली प्रदेश र देशमा पनि चर्चित हुन सक्थे । यी ठाउँ हेर्नु घुम्न मान्छेको ओइरो लागेको हुन्थ्यो । यस्तै जिल्लामा अर्गानिक रुपमा उत्पादन हुने, घिउ, मह, आलु, टिमुर, गाभा र तरकारीको लागि संकलन तथा विक्रि केन्द्र स्थापना गर्न सके वाहिर जिल्लाका मानिसहरुलाइ हाम्रो ठाँउमा आकर्षित गर्न सकिने सम्भावना पनि छ । यिनै विषय र मुद्धाहरुलाइ लिएर यी ठाउँहरुको विकास विस्तार र प्रचार प्रसारको लागि स्थानीय सरकारसंग सामथ्र्य छैन भने पनि पनि प्रदेश र संघीय सरकारसंग जिल्लाको नेतृत्वले सार्थक पहल गरे धेरै काम गर्न सकिने सम्भावना छ ।
आज सँसारका धेरै देशहरुले कृत्रिम झरना वनाएर, कृत्रिम ताल अनि कृत्रिम हिमाल वनाएर सन्सार भरिका मानिसहरुलाइ आकर्षित गर्दै राष्ट्रिय आय वढाइ रहेका छन् । हाम्रै देशका विभिन्न जिल्लामा पनि आन्तरिक र वाह्य पर्यटनको विषयलाइ विशेष चासो दिएर काम गर्दा सयौं जनतालाइ रोजगारी र आयआर्जनको अवसर दिएको हामीले प्रत्यक्ष देखेका छौं । चाहे मन्दिर होला, चाहे ताल तलैया होला, चाहे पाटन, झरना, दरवार, गुफा जे सुकै भएपनि तिनलाइ उचित लगानीमा आकर्षक स्वरुप प्रदान गरेर प्रचार प्रसार गर्न सके रोजगारी, विकास र समृद्धिको सवालमा उठेका धेरै प्रश्नहरु हल गर्न सकिन्छ ।
हाम्रो गाउँ टोल र जिल्लामा भएका पर्यटकीय क्षेत्रहरु माथिको लगानी भनेको उत्पादनमुखी लगानी हो तर हामी हाम्रा पुर्खा र प्रकृतिले वनाइदिएका सम्पदाहरु नास हुनै लाग्दा या गुमनाम हुदा पनि वेवारिसे जस्तै छौं । आफनो कर्तव्य र जिम्मेवारीलाइ सुन्यमा झारेर अरुको खेदो खन्ने, झुटा आस्वासन वाँड्ने, अरुतिर मात्रै चोर औँला ठड्याउनेतिर हामी निकै सक्रिय भयौं ।
यहाँ जनतासंग भएका मौलिक सीप कला अनि श्रोतहरुको प्रयोगको अवसर दिएर रोजगारी र आयआर्जनमा सहयोग गर्नेतिर खासै हाम्रो ध्यान छैन । पहुँचवाला कर्मचारी र नेताहरुले विचौलिया र चाकरीवाजहरुको मात्र कुरा सुन्ने गरेको देखिन थालेको छ । जिल्लाको पहिचान झल्काउने, जनताको लागि रोजगारीको अवसर सिर्जना गर्ने तथा जनतालाइ आत्मनिर्भर वनाउन सहयोग गर्ने खालको योजना निर्माणमा मुख्य रुपले राजनैतिक नेतृत्व अग्रसर भएमा हाम्रा गाउँ वस्तीहरु सुख्खा र सुनसान हुनवाट जोगिन्छन् ।
जिल्लाको स्वरुप वदल्ने कुनै सोच योजना र सपना भएकाहरुको कुरा सकभर सुन्नै नचहाने सुने पनि एक कानले सुनेर अर्काे कानले उडाइदिने प्रवृत्ति वढ्दो छ । लोकतन्त्र गणतन्त्र स्थापनाको २० वर्ष सम्म पनि डोजरले वाटो मात्रै खन्ने योजना प्राथमिकतामा पर्ने गरेका छन् । उत्पादनमुखी लगानीको क्षेत्रमा पनि सरकारी लगानी वढाउनेतिर हाम्रो राजनैतिक नेतृत्व सचेत हुन पर्यो ।
हाम्रा सडकहरु, वस्तीहरु र वजारहरु कुरुप वन्दा पनि हाम्रो प्रशासन र सरकार मुख दर्शक हुने परम्परा पनि अन्त्य गरौं । समाजमा अराजकता वढ्दा पनि हामी अरुको मुख ताकेर अरुतिर औँलो सोझ्याएर वस्छौं अव यो परम्परालाइ पनि तोड्ने हिम्मत गरौं ।
हामी सवैले वलियो संकल्प सहित समग्र जाजरकोटलाइ सवैले हेर्न र घुम्न लायक वनाऔं । हाम्रो जाजरकोटलाइ सवैले गर्व गर्न लायक अवस्थामा पुरयाऔं । धन्यवाद ।

लेखक के.सी.नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya