राजेन्द्र कार्की । जाजरकोट
करीब डेढ सय बर्ष देखि इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाचले अहिले पनि जाजरकोटमा निरन्तरता पाइरहेको छ । तत्कालिन जाजरकोटी राजा स्वर्गीय उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ । जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो । अन्तिम दिन आइतवार लाखे नाच हेर्न हजारौ स्थानिय वासिन्दा सदरमुकाम खलंगा आएका छन् । खलंगामा रहेको राधाकृष्ण मन्दिर हुँदै बजार परिक्रमा गरेर भेरी नगरपालिका ४ गैरीखालीमा भब्य लाखे जात्रा विभिन्न झाँकीका साथ मनाइएको हो ।
जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले भक्तपुरबाट जिल्ला भित्र्याएका नेवार समुदायका स्वर्गीय गोविन्दमान भडेलले डेढ सय वर्षअघि शुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय जनक भडेलले बताए ।
विगत केही समय सरोकारवालाहरूको बेवास्ताका कारण ओझेलमा परेको थियो । जिल्लाको महत्त्वपूर्ण पुरातात्विक सम्पदा भएकाले यसको संरक्षणमा आफूहरूले पहल गरेको नेवार समुदायको संस्था नेवाः दे्वबु जाजरकोट अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले बर्षभरीका दुःख, पिडा विर्साउन पनि यस बर्ष पनि लाखे नाचलाई निरन्तरता दिइएको बताए ।
उनले प्रत्येक वर्ष साउन महिनाको कृष्ण त्रयोदशीका दिन गठेमङ्गल पर्व मनाउँदै यो लाखे नाच शुरु हुने बताए । सामाजिक एकता, मेलमिलाप र मनोरञ्जन दिनका लागि जिल्ला सदरमुकाम खलङ्गामा मात्रै देखाइने लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट सकिने गर्दछ । आइतवार राक्षसको प्रतिकको रुपमा रहेका भप्पु र लाखेको भगवान कृष्णले बध गरे सँगै यो पर्व सकिएको छ । द्वापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै खलङ्गा बजार क्षेत्रमा लाखे नाच मनाउने चलन सबैका लागि मनोरञ्जनको उत्कृष्ट नमूना भएको भेरी नगरपालिका ४ का ७९ बर्षिय समाजसेवी खम्बजंग शाहले बताए ।
नेवार समुदायमा प्रचलित लाखे नाच जाजरकोटमा निकै लोकप्रिय भए पनि सरोकारवाला र स्थानीयको बेवास्ताले विस्तारै सङ्कटमा पर्न थालेको स्थानीय बासिन्दाको गुनासो छ । खासगरी युवापुस्ताको सक्रियता र चासोको अभावले लाखे नाच निरन्तर चलिरहेको भए पनि मौलिक बन्न नसकेको सरोकारवालाको गुनासो छ ।
विगत देखि नै निकै लोकप्रिय र भव्य स्थानीय पर्वका रूपमा रहेको लाखे नाचलाई लोप हुन नदिन र यसको संरक्षण तथा संबद्र्धनका लागि आफुहरु निरन्तर सक्रिय रहेको नेवाः दे्वबु जाजरकोट अध्यक्ष श्रेष्ठले बताए । उनले सवैको साथ र सहयोगको अपेक्ष गरे ।
लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतीकका रूपमा विभिन्न काला, सेता र अन्य रङ्गका मुखुण्डो लगाएका भप्पु र अन्य हास्य पात्रका रमाइला र मनोरञ्जनात्मक गतिविधिले स्थानीय बस्ती र बजारमा छुट्टै रौनक छाउने गर्छ ।