धान दिवसको तामझाम, कर्णालीमा खेतीयोग्य जमिनको २० प्रतिशत मात्र सिंचाई सुविधा

राजेन्द्र कार्की । जाजरकोट

बर्षेनी धान दिवसमा सरकारी पक्षबाट निकै तामझाम हुने गरेपनि कर्णालीमा करीब २० प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाई सुविधा पुगेको छ । सरकारी पक्षबाट धान दिवस मनाउने नाममा फजुल खर्च गर्ने र धानकै विउको माला लगाएर किसानलाई हौसला दिनुको साटो उनीहरुले दिनहुँ गरिएको कामलाई उल्टै खिल्ली उडाएको जस्तो हुन थालेको छ । फोटो सेसन गर्ने सामाजिक सञ्जालमा हाल्नैका लागि धान दिवस मनाउने गरिएको एक किसानले बताए । उनले भने वास्तविक किसानका लागि असार महिनाभर दिवसै छ नक्कलीका लागि एक दिन रमाइलो मात्र हो ।

८० प्रतिशत जमिन आकासे पानीको भरमा खेतीगर्ने गरिएको छ । कर्णाली प्रदेशको कुल क्षेत्रफलको ९ दशमलब ५२ प्रतिशत अर्थात २ लाख ८७ हजार ७ सय ६१ हेक्टर जमिन मात्र खेती योग्य छ । त्यस मध्य पनि २ लाख ६ सय २ हेक्टर जमिनमा मात्र खेती हुने गरेको छ । कर्णालीका १० जिल्लामा १९ दशमल जिरो ६ प्रतिशत मात्र सिंचाई सुविधा पुगेको छ । त्यस मध्य पनि ३९ हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको कर्णाली प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

bhumi-sanrakshyan


मन्त्रालयका सुचना अधिकारी तारा बरालका अनुसार गत बर्ष कर्णालीमा एक लाख २४ हजार ९ सय ६९ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष उत्पादकत्व बढ्ने अनुमान गरिएको छ । समयमा पानी परेकोले यस बर्ष धानको उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । शुक्रवार सम्म जुम्ला, हुम्ला र डोल्पामा ९० प्रतिशत धान रोपाई भैसकेको छ । त्यस्तै सल्यानमा ६५ प्रतिशत, रुकुम पश्चिममा ५५ प्रतिशत, कालिकोटमा ४२ प्रतिशत, मुगुमा ४० प्रतिशत, दैलेखमा ३२ प्रतिशत, सुर्खेतमा २० प्रतिशत र सवैभन्दा कम जाजरकोटमा १७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको सुचना अधिकारी बरालले जानकारी दिए ।
औषतमा ३९ दशमलब १४ प्रतिशत मात्र रोपाई भएको छ । यो तथ्यांक बढ्ने क्रममा छ । जुम्ला लगायतका हिमाली जिल्लामा चैत्रमै ब्याड राखेर बैशाख देखि नै रोप्न सुरु हुने गरेको भएपनि कर्णालीका सुर्खेत लगायतका जिल्लामा साउन १५ भित्र रोपाई सकिने उनको भनाइ छ । विश्वकै अग्लो ठाँउमा फल्ने मार्सी धान जुम्लामा लगाउने गरिएको छ । मार्सी धानको भात स्वादिलो र स्वास्थ्यका लागि समेत फाइदाजनक मानिन्छ ।

कर्णालीका धेरै ठाँउमा रोपाईका लागि गोरुको नै प्रयोेग गरेर हिल्याउने गर्दछन् । केही किसानले मात्र ट्याक्टरको प्रयोग गर्न थालेका छन् । कर्णालीमा अहिले पनि अर्मा पर्मा ( मिलेर एक अर्काको काम गर्ने ) गर्ने चलन छ । एक दिन एउटाको रोपाई गर्न छिमेकीहरु गएर एकै दिनमा सक्ने अर्को दिन अर्काको गर्ने, काममा सघाउने चलन रहेको भेरी नगरपालिका २ का किसान कालीबहादुर कार्कीले बताए । उनले सरकारलाई समयमा मल, विउ उपलब्ध गराउनुका साथै सिंचाईको सविधा विस्तार गर्न आग्रह गरे । महिलाले रोप्ने र पुरुषले खेत हिल्याउने गर्छन भने महिलाहरु भाका हालेर असारे भाका गाँउदै महिला पुरुष हिलो खेलेर रमाइलो गरेको दृश्य निकै रोमाञ्चक हुने गरेको स्थानियको भनाई छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा सवैभन्दा धेरै धान खेती सुर्खेतमा हुने गरेको छ । सुर्खेतमा १३ हजार ६ सय ६५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ । सवै भन्दा कम डोल्पामा १ सय ९९ हेक्टरमा मात्र धान खेती हुने गरेको छ । उत्पादनको हिसावले पनि सवैभन्दा सुर्खेतमा हुने गरेको छ । सुर्खेत जिल्लाको उत्पादकत्व ३ दशमलब ४३ रहेको छ भने सवैभन्दा कम हुम्लाको १ दशमलब १२ मेट्रिक टन प्रति हेक्टर रहेको मन्त्रालयका सुचना अधिकारी बरालले बताए । देशभरमै सवै भन्दा कम धान उत्पादन हुने प्रदेशको रुपमा रहेको कर्णालीले रैथाने र आग्यानिक सिमी, भटमास, कोदो, फापर, कागुनो लगायतका खाद्यान्न उत्पादन गदै देश विदेशमा निर्यात गर्ने गरेपनि चामलमा भने आयातकै भरमा रहनु पर्ने बाध्यतामा छ ।
जाजरकोटमा कही दिन यता धान रोपाई धमाधम भैरहेको कृषि विकास कार्यालयका प्रमुख विद्या गौतमले बताइन । उनले भनिन यस बर्ष बर्षात धेरै हुने अनुमान गरिएको छ जुन आकासे पानीको भरमा खेती गरिरहेका किसानका लागि निकै फाईदाजनक मानिन्छ । जसका कारण यस बर्ष धानको उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

असार १५ मा सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा प्रदेशका जुम्ला बाहेक ९ जिल्लामा सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेशका धेरै जिल्लामा धान रोप्ने चटारो चलिरहेको र यसको महत्व अझ बढाउन सार्वजनिक विदा दिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले बताए । उनले धान र अन्य बालीको उत्पादकत्व बढाउन बजेटमा सिंचाई सुविधा विस्तारका साथै मल, विउ र किसानका लागि आवश्यक कृषि उपकरण खरीदमा अनुदान दिने ब्यवस्था मिलाईएको बताए ।

लिफ्ट सिंचाई आयोजनाबाट पानी पुगेपछि सुख्खा ठाँउमा पनि रोपाई

लिफ्ट सिंचाई आयोजनाबाट पानी आएपछि भेरी नगरपालिका १३ कुदुका किसानले पहिलो पटक आफ्नो खेतमा धान रोपेका छन् । खानेपानीको समेत हाहाकार हुने यो सुख्खा ठाँउमा पानी पुगेपछि रोपाई गर्न किसानलाई भ्याइनभ्याई छ । यस बर्ष धान दिवस समेत कुदुमै मनाईएको छ । कृषि विकास कार्यालय र भेरी नगरपालिकाको कृषि शाखाको समन्वयमा धान दिवस पहिलो पटक कुदुमा मनाईएको भेरी नगरपालिका कृषि शाखाका प्राविधिक भोला खत्रीले बताए ।

सिँचाइको सुविधाको अभावमा वर्षौँदेखि बाझिएको जमिनमा यसपालि धान रोपाई भएको हो । एकीकृत कर्णाली सिँचाइ आयोजनाको साढे ५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको लिफ्ट सिँचाइ आयोजना सञ्चालनमा आएसँगै स्थानीय किसानहरू उत्साहित बनेका छन् । भेरी नदीबाट लिफ्ट मार्फत कुदुममा पानी पुरयाईएको हो । भेरीबाट करीब ५ मिटर उकालो र दुई किलोमिटर टाढा पानी ल्याईएको कार्यालयले जनाएको छ ।
सिँचाइको पहुँच नहुँदा खण्डहरजस्तो देखिने कुदुमा अहिले खेतीपाती सुरु भएको छ । भेरी नगरपालिका वडा नं १३ का यामबहादुर रोकायले भने, “हामीलाई अव आकासे पानीको भर पर्नु परेन, सिँचाइ पुगेपछि पहिलो पटक खेतमा धान रोप्न पायौँ ।”

उक्त आयोजनाबाट लामितरा, रोकाय गाउँ, कुस्तरा र बटालागाउँका करिब ४ सय ८५ घरधुरीका २ हजार ३ सय ८६ जनसंख्या लाभान्वित भएका छन् । आयोजनाबाट करिब ७६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको एकीकृत कर्णाली सिँचाइ आयोजनाका कार्यालय प्रमुख कृष्ण प्रसाद डुम्रकोटीले जानकारी दिए ।
वर्षौँ देखि सिँचाइ र खानेपानीको अभाव खेप्दै आएका कुदुवासी अहिले घर नजिकै खानेपानी र सिँचाइको सुविधा पाएपछि दंग छन् । आयोजनाबाट सिंचाइका साथै खानेपानी सुविधा समेत पुगेको कार्यालय प्रमुख डुम्राकोटीले बताए । आयोजना सम्पन्न भए सँगै भेरी नदीको दूषित पानी खानबाट मुक्त भएको स्थानीय दीपक बटालाले बताए । आयोजना निर्माणले किसानहरू आकासे पानीको भर पर्नुपर्ने बाध्यता हटेको, उब्जनी बढ्ने र आम्दानीमा सुधार आउने भन्दै खुसी भएको उनले बताए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya