राजेन्द्र कार्की । जाजरकोट
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भेरी नगरपालिका जाजरकोटले योग गुरु रेखा शाहलाई एक समारोहका विच सम्मान गरेको छ । योगको विकास र विस्तारमा महत्वपुर्ण योगदान गरेको भन्दै शाहलाई सम्मानित गरिएको हो । दोसल्ला र सम्मान पत्रले जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर खत्री र भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्मान गुर्नभएको हो ।
जीवन विज्ञान योग अन्र्तगत २०६९ सालमा जोडिएर, २०७२ सालमा चक्र विज्ञान कार्यक्रममा सहभागि हुँदै २०७४ सालमा प्रशिक्षक प्रशिक्षण लिएर २०७६ देखि जाजरकोटमा जीवन विज्ञान योग प्रयोगशाला स्थापना गरेर नियमित योगाभ्यास गराइरहनु भएकी शाहले जीवन विज्ञानबाट वोध विज्ञान, चक्र विज्ञान, लय विज्ञान, शिक्षक प्रशिक्षण, स्व संवाद अभ्यास, दिब्य संवाद अभ्यास, समृद्धि संवाद, समाधि रहस्य, ऐश्वय विज्ञान लगायतका दर्जनौ तालिम तथा प्रशिक्षण लिनुभएको छ । कोशी प्रदेशको इटहरीमा सम्पन्न जीवन विज्ञान परिषदबाट कर्णाली प्रदेशको सह संयोजकको जिम्मेवारी प्राप्त गर्नुभएकी शाहले जाजरकोट जिल्लामा योगको विस्तार र विकासमा महत्वपुर्ण योगदान पुरयाउनु भएको छ ।
“एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने मुल नाराका साथ भेरी नगरपालिकाको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा शनिबार पतंजली योग समिति, जाजरकोट र जीवन योग प्रयोगशाला योग समिति, जाजरकोटसंगको सहकार्यमा शनिवार ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
त्रिभुवन माध्यामिक विद्यालयको प्राङ्गणमा योग, प्राणायाम र ध्यान गरेर योग दिवस–२०८२ मनाईएको थियो । भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमका सहभागीहरुलाइ पतंजली योग पीठका योग शिक्षक धर्म बहादुर बुढा र जीवन विज्ञानका योग गुरु रेखा शाहले योगाभ्यास, प्रणायाम र ध्यान अभ्यास गराउनु भएको थियो ।
कार्यक्रममा योग अभियान्ता शाह सहित पतंजली योग समिति, जाजरकोटलाई पनि सम्मान गरिएको थियो । सम्मान पछि शाहले भेरी नगरपालिका योगमय नगरपालिका हुने अभियानमा रहेकोमा खुसी ब्यक्त गदै सम्मानका लागि आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो ‘आफुहरुले ६, ७ बर्ष अघि नै योगको आवश्यकता औल्याउँदै योगाभ्यास गराउन थालेकोमा अहिले नगर सरकार नै यो अभियानमा जुटेको देख्दा निकै खुसी लागेको छ । मानव स्वास्थ्यका लागि योग, प्रणायाम र ध्यान निकै आवश्यक छ । यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ ’ ।