प्रवाह संवाददाता । जाजरकोट,
छेडागाड नगरपालिकामा अपाङ्गता सहायक सामग्री वितरण वितरण गरिएको छ । छेडागाडका ४८ जना अपांगता भएका व्यक्तिहरूले शारीरिक पुनस्र्थापना सेवा मार्फत सहायक सामग्रीहरू प्राप्त गरेका छन् ।
छेडागाड नगरपालिकामा सञ्चालन गरिएको दुई दिने शिविरबाट ४८ जना अपाङ्गता भएका व्यक्तिहरूले शारीरिक पुनस्र्थापना सेवामार्फत सहायक सामग्री प्राप्त गरेका छेडागाड नगरपालिका नगर नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले बताएका छन् । प्राप्तकर्ता मध्ये १० जना बालबालिका र ३८ जना वयस्क रहेका छन् । उक्त शिविरमा २ सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिले सेवा लिएका छन् भने ३८ जनाले अपाङ्गता परिचयपत्र समेत प्राप्त गरेका छन्।
शारीरिक पुनस्र्थापना सेवा मार्फत प्रदान गरिएको सहायक सामग्री ५ लाख ४२ हजार बराबर रहेको तथा त्यसको आर्थिक व्यवस्थापन सहयात्रा परियोजना मार्फत गरिएको पाँच तारा युवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ ।
सहायक सामग्री वितरण तथा प्रयोग सम्बन्धी शिविर छेडागाड नगरपालिकाको दुई स्थान—नगर स्वास्थ्य कार्यालय बडाबन र वडा नं. १२ मनघाटमा सम्पन्न भएको थियो। शिविरमा सहभागी भएकी छेडागाढ नगरपालिका वार्ड नं १ कि भद्रशिला बुढाले कृत्रिम खुट्टा प्राप्त गरेपछि नयाँ जीवन पाएको आफ्नो अनुभव सुनाउनुभयो । त्यसैगरी छेडागाड नगरपालिका वडा नम्बर ११ कि बालिकाले शारीरिक पुनस्र्थापना सेवा मार्फत ह्वीलचेयर प्राप्त गरेपछि आफूलाई भित्र बाहिर गर्न सहज भएको र त्यसले घरमै बसी पठनपाठनमा समेत सहजता हुने अनुभव बताउनुभयो साथै आफ्नो दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेकी छन् ।
शिविरको पहिलो दिन नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सहायक सामग्री हस्तान्तरण गरिएको थियो। प्राविधिक सहयोग नेपाल राष्ट्रिय समाज कल्याण संघ पुनस्र्थापना केन्द्र कञ्चनपुर र छेडागाड नगरपालिकाको स्वास्थ्य शाखाबाट प्रदान गरिएको थियो भने कार्यक्रमको कार्यान्वयन व्यवस्थापन पाँचतारा युवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको सहयात्रा तेस्रो परियोजनाबाट गरिएको थियो।