प्रवाह संवाददाता । जाजरकोट
आफनो जन्म दिनको अवसरमा जाजरकोट खलंगाका एक जेष्ठ नागरिकले एकल महिला र विपन्न वालवालिकाहरुका लागि खाद्य लगाएतका सामाग्रीहरु सहयोग गरेका छन् । आफनो ८७ औं जन्म दिनको अवसरमा भेरी नगरपालिका वडा नम्वर २ राङसी घर भइ हाल सोहि नगरपालिकाको वडा नम्वर ४मा वस्ने गणेशवहादुर शाहले स्थानीय दुइ जना एकल महिलाहरुको परिवारको लागि खाद्य तथा सरसफाइ र पढाइ सामाग्रीहरु दिएका हुन् ।
जन्म दिनको अवसर पारेर जेष्ठ नागरिक शाहले भेरी नगरपालिका ६ भेरे माइती घर भइ छेडागाड नगरपालिका वडा नम्वर १० की एकल महिला कल्पना घर्ती र उनका दुइ छोराछोरी र कुसे २ घर भइ भेरी नगरपालिका वडा नम्वर ४ वस्ने माया शाह वुढा र उनका तीन छोराहरुको लागि चामल दाल, तेल सावुन र नगद पैसा समेत दिएका छन् ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक के.सी.को समन्व्यमा शाहले उनीहरुलाइ ३० हजार वरावरको सामाग्रीहरु र नगद रकम हस्तान्तरण गरेका हुन् । जन्म दिनको अवसरमा केहि सामाजिक तथा परोपकारी कार्य गर्नु पर्छ भन्ने उनकी नातिनी गीता शाह मल्लको मान्यतालाइ स्वीकार गर्दै उनले सो सहयोग गरेका हुन् ।
शाहले आफनो जन्म दिनको अवसरमा गत एक वर्ष अघि श्रीमान गुमाएर एकल जीवन विताइरहेका दुइ जना महिलाहरुका विपन्न परिवारलाइ चार चार वोराका दरले ८ वोरा अर्थात २ सय किलो चामल, पाँच पाँच लिटर तेल, वाह्र वाह्र किलो दाल, एक एक दर्जन लुगा धुने सावुन, आठ आठ वटा नुहाउने सावुनका साथै चार चार हजार नगद समेत दिएका छन् ।
आफनो वाजेको जन्म दिनमा उनकी नातिनी गीता शाह मल्लले यो सहयोग सामाग्रीको व्यवस्थापनमा सहयोग गरेकी हुन् ।सानैमा आफुलाइ हुर्काउने वढाउने तथा विद्यालयमा वोकेर पुर्याउने समेत कार्यमा आमावुवाको जस्तै भुमिका पनि निर्वाह गरेको हुनाले आफुले वाजेको जन्म दिनलाइ परोपकारी कार्य गरेर मनाउन सहयोग गरेको गीताले वताइन् ।
मेरो जीवनको वाल्यकाललाइ सुन्दर र सुरक्षित वनाउने कार्यमा मेरो जिजुवुवाले निकै ठुलो दुख र संघर्ष गर्नु भएको छ त्यसैले उहाँको लागि पनि म केहि गर्न चहान्छु, गीताले भनिन् । मेरो जीवनको सवै भन्दा ठुलो आदर्श मेरो जिजुवुवा हो त्यसैले उहाँको सेवा गरेर उहाँलाइ खुसी राख्ने मेरो चहाना छ , गीताले थपिन् ।
यस्तै आफनो जन्म दिनमा विपन्न महिला र वालवालिकालाइ सहयोग गर्न पाएकोमा निकै खुसी लागेको जेष्ठ नागरिक शाहले वताए । आफना वुवाआमा र वाजेवज्यैको खुसीको लागि चिन्ता गर्ने मेरो नातिनी जस्तै छोरीहरुले सवैको घरमा जन्म लिउन,शाहले भने । वुवा आमा र वाजे वज्यैको दुख संघर्ष र त्याग वुझ्ने छोराछोरी नै हाम्रो जीवनको ठुलो उपलव्धी हुने उनको भनाइ छ ।
आफनो जन्म दिनमा हाम्रो लागि यति ठुलो सहयोग गरेर ठुलो गुण लगाएकोमा एक विपन्न महिला माया शाह वुढाले वताइन् । भरखरै सुत्केरी भएर घरमा समस्या परेको वेला यो सहयोग पाएँ सारै गुण मानेकी छु , उनले भनिन् । श्रीमानको मृत्यु पछि एक्लै भएको वेला यो साथ दिने गणेशवहादुर शाह र उनकी नातिनी गीता शाह मेरो लागि भगवान नै वन्नु भएको छ, उनले थपिन ।
यस्तै अर्की एकल विपन्न महिला कल्पना घर्तीले पनि श्रीमानको मृत्यु पछि आफुहरु विचल्लीमा परेको वेला पाएको यो सहयोगले आफुहरुलाइ ठुलो राहत मिलेको वताइन् । यो अन्नले त हाम्रो तीन जनाको परिवारलाइ एक वर्ष खान पुग्छ कल्पनाले भनिन् । यो सहयोग पाएर भगवान नै फेला परेको जस्तो लागेको छ , कल्पनाले भनिन् ।
अरुको दुख पिडा र समस्यामा सहयोग गर्ने गणेशवहादुर शाहलाइ सहयोग पाएका महिला र वालवालिकाहरुले दिर्घायुको कामना गर्दै जन्म दिनको अवसरमा शुभकामना दिए । उनीहरुले यस्तो सामाजिक कार्य गर्ने मान्छे ८७ वर्ष होइन सयौं वर्ष वाँच्नु पर्ने कामना गरे ।
जाजरकोटी राजाका सन्तान शाह कुनै वेलाका खुद्रा पसले हुन भने अहिले गाउँ घरमै खेती किसानीमा रमाइरहेका छन् ।