छवि पन्त । जाजरकोट
नेपालीका घरहरुमा तिहारको हर्ष उलास छाउँदै गर्दा म सँगै भुकम्पपिडित जनताका घरमा वेदना र चित्कारले चिच्याइरहेको छ । मन र मष्तिसकबाट विश्वास ,आशा र भरोसाले गिज्याइरहेको छ । आमा बुबा म छु नि केहि समय धैर्य गर्नुहोस न भन्ने सहारा ढलेको छ । आम नेपालीको जस्तै मेरो पनि सामान्य जिवन चलिरहेको थियोे तर हो त्यही कहालीलाग्दो दिन जुन दिन म नियमित जस्तो दिनभरि गरेको कामको सम्झना गर्दै सुतेको केहि बेरमै घर बेस्सरी हल्लियो,परम्परागत शैलीमा निर्मीत घरको धुलोे मुखै भरि छरियो, छेउमै रहेको मोबाईल मुस्किलले भेटे छोरी लिएर बाहिर जाउ भनेर श्रीमतिलाई जोडले कराए .. बाहिर निस्कीएर हतार हतार गाउँमा बस्नुभएको मुवालाई फोन गरे र सोधे के छ त्यता …मेरो प्रश्न सकिन नपाउदै उत्तर आयो,सब खतम भयो छोरा,घर भत्कियो,हामी बारीमा जम्मा भएका छौ, साईला छोराको फोन आयो राख त भन्नु भयो,फोन होल्डमा गयो,मुवा सकुशल हुनुहुन्छ भन्ने निश्चित हुदै थिए,नयाँ नम्बरबाट फोन आयो, भक्कानिदै अंकल बहिनी पुरिरहेको छ,चाडो आउनु,फोन कट्यो केहि बेरमा निश्चीत भए त्यो आवाज एलिसा नानु को हो, बहिनी भनेको मेलिना….जस्तो अवस्थामा थिए त्यस्तै हतार हतार दौडिए । लाग्यो त्यहाँ पुग्नासाथ बचाउन सकिन्छ, बाटोभर छरपस्ट भत्किएका घरहरु,मान्छेको कोलाहल, दौडधुप, बाइर्क र गाडिको साईरन यी कहालिलाग्दो अवस्थालाई थिचोल्दै बल्लतल्ल पुग्यौ,दौड्दै गर्दा लागेको थियो,उद्धार हुदै होला,शसस्त्र प्रहरी बलको कार्यालय १०० मिटर पर छ, पुगेसी अचम्म लाग्यो,घरका आमा,बुवा,भाई घाईते अवस्थामा कराउदै,चिच्याउदै गरेको… अँध्यारो ठाउँ भत्किएको घर माथि २ जना युवा हरु वर पर गरेर मोबाईलको सहायताले ढुंगा हटाउन प्रयास गरिरहेको यो परिस्थितिले मन अझै धेरै अतालिन थाल्यो । सोधेपछि थाहा भयो,ईन्जिनियर पास गरेको अवसरमा आफन्त समेत रहेको साथिहरु जम्मा गरेर खुसि साटेर सुतेका ४ जना नै पुरिएछन, स्कुलमा १ बर्ष पढाएको आफ्नै आँखा अगाडि हुर्केको मान्छे भत्किएको घरभित्र पुरिएको अवस्था साच्चै हृदयबिदारक थियो।
यता नानी मेलिना पुरिएको ठाउँ माथि गएर चिच्याउन थाले मेलिना..मेलिना हामी छौ नआत्तिनु कहाँनेर छौ आवाज निकाल है भनेर सान्त्वना दिँदै थिए पुरिएको अवस्थामा ढकढक आवाज ३ तिन तिरबाट आयो । घरमा पलाइ काठ प्रयोग गरेकोले आवाज जोडले आयो,लाग्यो बचाउन सकिन्छ, स्थानिय युवाहरु,सुरक्षा कर्मि सबै थपिएसी मनोबल जागेर आयो, अब बचाउन सकिन्छ तर उद्धार सामग्रिबिना अँध्यारोमा धुलै धुलोको घरबाट उद्धार सोचे भन्दा असाध्यै कमजोर रहयो,२ घण्टासम्म सो क्रम चलिरहयो पुरिएका नानीहरु सायद स्वास प्रश्वासमा समस्या आयो होला, पटक पटक ढकढक गर्थे, हामी नजिक छौ अब ५ मिनेट है नानीहरु भन्दै ढाडस दिईरह्यौ,फोनका घण्टिहरु बज्न थाले,सयौँ फोन रिसीभ गर्न सकिएन,कतिपय फोन उठाउन साथ मेरो मान्छे बिते..मेरो मान्छे घाईते भए तत्काल एम्बुलेन्स पठाउन पर्यो,सडक बन्द भए..बिरामी बोकेर ल्याएको बाटोमा रोकिएका छौ बाटो डोजरले क्लियर गर्न पर्यो यी र यस्ता कुराहरुले म झन आतिए कता के गर्ने कसरी गर्ने भन्ने समेत मेरो दिमागले सोच्न सकेम म झन शुन्य शुन्य हुँदै गए भने चारैतीरको व्यस्तताले पनि होला सम्बन्धित व्यक्तिसँग फोन सम्वाद कठिन भयो यता साढे २ घण्टा पछि भित्रबाट निरन्तरको ढकढकको आवाज बन्द भयो, शरिर लर्थक्कै गल्यो, बचाउन सकिएन भन्ने लाग्यो तर कोहिसँग केहि भनिन, ३ घण्टापछि ४ जना मध्ये ३ जनाको मृत शरिर निकाल्यौ र आमाबुवा लाई भन्यौ,जिवीत छन..उनीहरुको लागि ५ मिनेट कहिले आएन ..
सबैतीरका लास र घाईतेहरु अस्पताल पुर्याएको अवस्थामा अस्पताल पुग्यौ,सयौ मान्छेको बिचमा सन्नाटा छाईरह्यो, को बिरामी को मृत ,कस्को घर भत्किए भन्ने अध्याए सकिएर मृतक संख्या कति घाईते कति ? भन्नेतिर अध्याए मोडियो,के गर्ने कसो गर्ने भन्ने सोच्न नसकिने अबस्था सृृजना भयो,केहि समय अगाडी सकुशल भएको,भलाकुसारी गरेको ब्यक्ति एकै पटक लासमा परिणत भएको देख्दा निशब्द बन्दै गए । कोहि केहि बोल्दैनन, रुदै गरेको, चिच्याईरहेको शिवाय केहि छैन, केवल भगवान भरोसा भनेर भगवानको पुकार गरिरहेका थियौं ।
बिहानै फेसबुकका भित्ता र समाचार कभर भरि सर्वत्र जाजरकोट भुकम्पका समाचार र श्रद्धाञ्जलीले मोबाईल खोल्न नसकिने भयो, बिहानै देखि राष्ट्रपति , प्रधानमन्त्री, उपप्रधानमन्त्री सहित देशका उच्च पदस्थ ब्यक्तिहरुको ह्वारह्वार्ति हवाई आगमन सुरु भयो, सवारी साधनको बाक्लो चाप बढ्यो, नागरिक भने सडक छेउमा सुत्ने ठाउँ रोज्न तछाडमछाड गरेर रात बिताउन थाले, सरकार, नागरिक समाजका संस्था,समाजसेवी तथा सेलिब्रेटीहरुले सके सम्मको राहत भित्र्याउन थाले, यो आगमनले लाग्थ्यो कि भुकम्प पिडित एक्लै छैनन, साथमा राज्य छ सँगै उभिन्छ जाजरकोटी जनताको चोटमा मलम पट्टी बन्छ भने भ्रममा रहयौँ । तर सरकार निरिह बन्यो राहतमा ढिलासुस्ति,वितरणमा पक्षपात देखिन थालेसी नागरिकको राज्य प्रतिको भरोसाले ओरालो बिन्दुको कदम तय गर्न थाल्यो । जाडो यामको कठ्यांग्रिने चिसो,गर्मिको टन्टलापुर राप र वर्षायामको गडगडाह बर्षा खुला आकाशमुनि बिताउनु परेको पिडा सायद आजन्म भुल्न कठिन छ । खुला आकास मुनिका नागरिकलाई टाउको छोप्न सहज होस भनेर अस्थायि आवास निर्माणका लागि घोषित ५० हजार राहत त घोषणा गर्यो तर उक्त राहत पाउन बैंकबाट ऋण लिएको भन्दा कठिन र लाभग्राहिलाई अदालतका अपराधि झै प्रमाण जुटाउनु पर्ने प्रावधान राखियो । राजकिए भ्रमण, विलासिता र स्वास्थ्यपचारमा करोडौ खर्चने शासकले राज्य समृद्धिका लागि राज्यलाई कर तिर्ने नागरिकप्रतिको राज्यको अविश्वास र बेवास्था सायद इतिहास रच्ने सुनौलो अवसर बन्यो होला। भुकम्प पिडितलाई राहत रकम दिन फोटा, बैंक खाता, स्वघोषणा गरेर किस्ता बन्दिमा राहत भुक्तानी त्यो पनि १ बर्ष सम्म नपाउने ? हुनत राज्यको संबेदनशिलताको गहिराई भुकम्पको ५ महिना पछि अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्नु ले नै प्रस्ट पार्छ १ बर्ष अगाडिको सग्लो राज्यप्रतिको भरोसा तासको महल बनेर ढल्नु कल्पना बाहिरको कुरा हुनुपरथ्यो तर गल्र्यामगुर्लुम्मै ढल्यो भरोसा ।
उद्धार उद्धार, पानी पानी, बचाउ बचाउ भन्दै दिबंगत भएका १५७ जना, भुकम्पका कारण घरबाट त्रिपालमा आएर चिसोले कठ्यांग्रिएर स्वर्गिए भएका ४३ जना र पालमुनिको बास बस्दा बाढि पहिरोमा परि ज्यान गुमाउने १२ जनाको मृत आत्माले साच्चै के सोचिरहेको होलान ? भुकम्पमा परेर घाईतेहरु भएका हरु चिसोले बिरामी परेका करिब ६ हजार बढि वृद्धबृद्धा,सुत्केरी र अपांगता भएका ब्यक्तिहरुको अवस्था कस्ले देख्छ? राज्य फेरी जाडो सिजन सुरु होस र समवेदना प्रकट गरौला भन्ने तिथि मिति हेरेर बसिरहेको कुरा उसका निर्णय र शैलीले प्रष्ट पारीरहेका छन । २०८० कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ हेक्टर स्केलको भुकम्पबाट प्रभाबित जाजरकोट,पश्चिम रुकुम र सल्यानका अधिकांश नागरिक रोजिरोटीका लागि खाडि मुलुक तथा छिमेकी देश भारतमा जानुपर्ने बिगत देखिको श्रृंखला भुकम्पले रोकको छ, भत्केको घर अगाडि खुल्ला पालमुनी परिवारका सदस्य छाडेर कमाई गर्न परदेश जान परिस्थिति बाधक बनिरहेको छ भने गाउँमा रोजगारीको अवसरको बाधक । जसले कालान्तरमा नागरिकको जिवनशैलीमा गम्भिर असर पर्ने निश्चित छ ।
पुनं निर्माणका लागि चालु आ.ब.मा बिनीयोजित २१ अर्ब रकम अर्थ बिबीधको अबण्डा कोषमा सारिए पछि पलाएको झिनो आशा पनि निराशामा बदलिएको छ। भुकम्पले भत्काएका ८५९१९ परिवारका घरहरु पुनं निर्माण हुने भरोसा हराउदै गैरहेको छ। पुनं निर्माणसंगै भत्किएका घरहरु मात्र उभिदै थिएनन,चर्किएका मनहरु समेत जोडिने थिए,गुमाएका सन्तानको स्मृति कम हुदै जाने थियो,नागरिक क्रमश नियमित कर्ममा फर्कन्थे तर राज्य आज पनि व्यक्तिगत स्वार्थमा लिप्त छ । ४०० विद्यालय भवन भत्किए पछि भत्किएको घरबाट च्यातिएको झोला बोकेर भत्किएको बाटो हुदै भत्किएको बिद्यालयमा उज्वल भविष्यको सपना बोकेर भविष्यका कर्णधारहरु करिब खुल्ला आकाश मुनि अस्थायी सिकाई केन्द्र र पालमुनि पठन पाठन गरिरहेछन् यस्तो वातावरणमा पढिरहेका बिद्यार्थिले कस्तो मनोबिज्ञानका साथ अध्ययन गरिरहेका छन ?
५० बढि भत्किएका स्वास्थ्य कार्यालय,२० प्रहरी कार्यालय,२३ सरकारी कार्यालय र भत्किएका संचार गृहले कसरी सेवा प्रबाह गरिरहेको होलान भन्ने सन्देश राज्यले नसुनेको हो कि नबुझेको ? एकात्मक शासन ब्यबस्था बाधक भयो घर छेउ सरकार चाहिन्छ भनेर बलिदान गर्ने नागरिकसंगको जवाफ के हो ? बर्ष दिनसम्म अनुदान नदिनु तथा पुनं निर्माणको कार्यबिधी नबनाउनुको कारण के हो कि फेरी भुकम्प पिडीतले अर्को बिपत्ति सामना गरुन र क्षति बेहोरुन भन्ने हो ? बसोबासका लागि अयोग्य भनि भुगर्भविदले सिफारिस गरेको बस्तिहरुमा नागरिक बसाल्नु तिमीहरु मरे पनि मर भनेर राज्यले दिएको अघोषित प्रमाण पत्र नै सरह भएन र ? भुकम्पका कारण नागरिक सडकमा पुग्दा तिनै जनताको सेवाको कसम खाएकाहरु जाजरकोट,पश्चिम रुकुम र सल्यानलाई नचिन्ने,यहाका नागरिकलाई दुख्दा नदुख्ने उटधारी छाला भएका सिंहदरबारको बागडोरका ठेकेदारका बिरुद्ध सडकमा आउने बेला ढिला भएन र ? सडकमा जादा कसैको पुर्ब मन्त्री, मन्त्री, सांसद, मेयर वा अध्यक्ष पद खोसिए नि राम्रै हुन्छ जनताको आवाजका लागि । बिनयकोे बेवास्ताको प्रतिउत्तर आन्दोलन नै हो,बिद्रोह नै हो ।
निराशालाई आशामा बदल्नु नै महानता हो,बिपत्तिको बिश्व ईतिहास नियाल्दा बिपद रोक्न छेक्न सकिदैन, अनुकलन क्षमता अभिबृद्धि अनिबार्य शर्त हुन, पुर्ब तयारी र साबधानि अबलम्बन गरियो भने सुरक्षित रहन र राख्न सकिन्छ, जुन जाजरकोट भुकम्पमा देखिएन,एउटा नाईट भिजन हेलि उडाउन नसकिनु, उद्धारका न्युनतम सामग्री बिना उद्धार कार्य गरिनु, अत्याबश्यक अबस्थामा बैकल्पिक सेवा प्रबाह र सहजिकरणको संयन्त्र नहुनु,मानबिय कार्य प्राथमिकतामा नराखिनु, राज्य बिपत्ति कुरेर बस्नु,मापदण्ड पालना नगरि संरचना निर्माण गरिनु सार्बजनिक खुल्ला स्थल नहुनु , साँघुरा र असजिला सडक संजाल र बाटाहरु निर्माण गरिनु तथा राज्यको खबरदारीको भरोसा नगर्ने नागरिक, हाम्रा भबिष्यका जोखिम नित्याउने क्षेत्र हुन । बिगतलाई समिक्षा गरौ,सुधार गरौ र नागरिक बचाउने र नागरिक स्वंय सुरक्षित रहने कुरामा संकल्प गरौ । सरकारलाई भरोसा गुमाउने अधिकार त छैन नै तर छुट समेत दिईनुहुन्न ।