April 14 - 2024, Sunday२ बैशाख २०८१, आईतवार

भुकम्प गएको तीन महिना पुग्न लाग्दा बल्ल ३२ हजार अस्थायी आवास निर्माण

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भुकम्प गएको तीन महिना पुग्न लाग्दा पनि जाजरकोट र रुकुम पश्चिममा हाल सम्म करीब ३२ हजार मात्र अस्थायी आवास निर्माण भएका छन् । जाजरकोटमा १३ हजार १८ र रुकुम पश्चिममा १८ हजार ८ सय ६६ गरी ३१ हजार ८ सय ८४ अस्थायी आवास निर्माण भएका हुन् । जाजरकोटमा ४२ हजार ५ सय २४ र रुकुम पश्चिममा २९ हजार ४ सय ६ गरी दुई जिल्लामा ७१ हजार ९ सय ३० लाभग्राही कायम भएका छन् ।

जाजरकोटमाको नलगाड नगरपालिकामा ६ हजार ८ सय १८, कुशे गाँउपालिकामा २ हजार ४ सय ६६, बारेकोट गाँउपालिकामा एक हजार ६ सय ३१, भेरी नगरपालिकामा ४ सय ९२, छेडागाड नगरपालिकामा ३ सय ७२, शिवालय गाँउपालिकामा एक हजार २ सय २३ र जुनीचाँदे गाँउपालिकामा १६ गरी १३ हजार १८ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । जाजरकोटमा करीब १५ हजार अस्थायी आवास निर्माणाधिन अवस्थामा छन् । अझै १४ हजार परिवारले पहिलो किस्ताकै रकम पाउन सकेका छैनन् । २८ हजार ३ सय ७६ परिवारले मात्र पहिलो किस्ताको रकम पाएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । उनले लाभग्राही छनौट देखि अनुदान रकम हस्तान्तरण देखि अस्थायी आवास निर्माण सम्मको दायित्व स्थानिय सरकारको भएको बताउँदै जुन गतिमा काम हुनु पथ्र्यो त्यो गतिमा काम हुन नसकेको बताए । कर्मचारी अभाव, बैकको ढिलासुस्ती, लाभग्राहीकै हेलचक्रयाई, जनशक्ति अभाव आदि कारणले अस्थायी आवास निर्माणमा ढिलाई भैरहेको उनको भनाई छ ।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ हजार ९ सय १५, आठविसकोट नगरपालिकामा ५ हजार ७ सय ८५, मुसीकोट नगरपालिकामा ४ सय ९६, सानीभेरी गाउँपालिकामा ५ हजार २ सय ४०, त्रिवेणी गाउँपालिकामा २ हजार ४ सय ७५ र बाँफिकोट गाउँपालिकामा ९ सय ७३ वटा अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । रुकुम पश्चिममा २७ हजार ३६ लाभग्राहीको खातामा अस्थायी आवासको लागि पहिलो किस्ताको रकम भुक्तानी भएको छ ।

हिउँद सकिन लाग्दा पनि अझै कुल लाभग्राहीको आधाले पनि अस्थायी आवास बनाउन सकेका छैनन् । हिउँदको चिसोमा भुकम्प पिडितहरु त्रिपालमै रात कटाउन बाध्य छन् । सरकारी प्रक्रियागत झण्झट र ढिलासुस्तीका कारण पुर्ननिर्माणमा ढिलाई भैरहेको पिडितहरुको गुनासो छ । सरकारी ढिलासुस्ती र प्रक्रियागत समस्याका कारण अस्थायी आवास निर्माणका साथै पुर्ननिर्माणमा ढिलाई भैरहेको भेरी नगरपालिका ४ का ओम बहादुर खत्रीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad