जातिय विभेदको मुद्धामा न्यायको जीत

lagu ausadhi biruddha abhiyan jajarkot

२४ जनालाई जन्म कैद, प्रेमिका र आमालाई जातिय छुवाछुत कसुरमा दुई बर्ष सजाय
राजेन्द्र कार्की । जाजरकोट
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट भेरी नगरपालिका ४ रानागाँउका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए । नवराज सहित ६ जनाको ज्यान गयो । नवराजको मल्ल थरकी एक किशोरी सँग दुई बर्ष देखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवार विच सम्बन्ध राम्रो थिएन । तल्लो जातको केटा सँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको छुटाउन चाहन्थ्यो तर प्रेमीप्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे । केटा कथित तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको थियो ।

जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका २१ वर्षीय नवराज विक त्यो दिन बेलुका करीब ५÷६ बजेतिर जाजरकोटबाट १९ जनाको टोली सोती पुग्यो । केटीको घरमा नपुग्दै दलितको छोरो ठकुरीकी छोरी लिन आउने आँट गर्ने भन्दै सोतीका स्थायियले केटाहरुलाई लखेट्दै भेरी किनारमा कुटिकुटी मारेर ६ जनालाई फालिदिए । बाँकी अरु भागेर ज्यान जोगाए । नवराज सहित भेरी नगरपालिका ४ का सन्दीप विक र गणेश बुढा, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र चौरजहारीका टीकाराम सुनार घटनामा परि ज्यान गुमाएका थिए ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा नवराजका बुवा मुनलाल नेपाली सहितले ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभाव लगायतको अभियोगमा मुद्दा दायर गरेका थिए । मुद्धा परेका ३४ जना नै पक्राउ परेकामा ११ जना उच्च र सर्वोच्च अदालतको आदेशले रिहा भएका र बाँकी २३ जना पुर्पक्षका लागि जेलमा रहेका थिए ।

अन्र्तजातिय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँमा जाजरकोटका नवराज विक सहित ६ जना युवाहरुको ज्यान जाने गरि तीन बर्ष अघि भएको घटनाको मुद्धामा २४ जना लाई जन्मकैदको फैसला गरिएको छ । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी बहस मंगलवार सकिएपछि जिल्ला न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेका २४ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।


जन्म कैद सजाय पाउनेहरु
जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्द प्रसाद कोईरालाका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर ८ का तत्कालिन वडा अध्यक्ष समेत रहेका डम्बर बहादुर मल्ल, डिल्ली बहादुर ठकुरी, प्रेम बहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मान बहादुर मल्ल, टोप बहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्र बहादुर भनिने इर्द बहादुर ठकुरी, लिपेन्द्र कुमार मल्ल, हर्क बहादुर मल्ल, बिनोद मल्ल, नेत्र बहादुर मल्ल, रेशम बहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीन जना नाम परिवर्तित रहेका छन् । नाम परिवर्तित तीन जना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाई र भाई हुन् । भाईको उमेर १८ बर्ष भन्दा मुनी रहेकोले उनलाई तारेखमा छोडिएको थियो । सजाय पाउने सवै चौरजहारी नगरपालिका ८ सोती गाँउका हुन् ।
जन्मकैद फैसला भएका मल्ल ठकुरी जातका लाई थप  जातिय छुवाछुततर्फ थप दुई वर्ष कैद र ४० हजार जरिवाना समेत भएको छ । प्रतिवादीका तर्फबाट जनही ४० हजार जरिवानाको रकम पिडित परिवारलाई दामासाहीका हिसाबले उपलब्ध गराउने फैसला भएको छ । त्यसैगरी नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातिय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना गरिएको छ ।


सफाई पाउनेहरु
तारेकमा रहेका अन्य आठ जनालाई उक्त मुद्धामा सफाई दिईएको छ । सफाई पाउनेहरुमा चौरजहारी नगरपालिका ८ सोतीका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भिमबहादुर बुढा, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द र जाजरकोटका इन्द्रबहादुर मल्ल रहेका छन् ।
४२ महिना पछि फैसला
पिडित परिवारको तर्फबाट नवराजका बुवा मुनलाल नेपालीको किटानी जाहेरीका आधारमा हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो । २०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको तीन बर्ष ६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो । बादीका तर्फबाट सरकारी वकिल सहित १५ जना र प्रतिवादीका तर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए । फैसलाको पुर्ण पाठ आउन कम्तिमा एक साता लाग्ने सुचना अधिकारी कोइरालाले बताए । धेरै प्रतिवादी रहेकाले सवैको छुटाछुटै मिसिल बन्ने भएकोले केही समय लाग्छ उनले भने ।
अदालतको मुल गेटमा धर्ना
पेशी सुनुवाई तोकिएको अघिल्लो दिनदेखि नै पीडित परिवारहरु र केही दलित अधिकारकर्मीहरु रुकुम जिल्ला अदालतको मूल गेटमा धर्ना दिईरहेका थिए । न्यायको माग गर्दै नाराजुलुस सहित उनीहरुले धर्ना दिएका हुन् । छोराको हत्या भयो । न्यायको हत्या नहोस । श्रीमान पिडितलौ न्याय दे लेखिएका ब्यानर सहित धर्ना दिएका थिए । दलित अधिकारकर्मी खगेन्द्र सुनारले न्यायको माग गदै तीन दिन देखि अदालतको गेटमा धर्ना दिएको बताए । उनले फैसलाले पिडितलाई न्याय मिलेको प्रतिक्रिया दिए । उनले भने ‘मंगलवारको फैसला न्यायको पक्षमा आएको छ । अदालत प्रति उच्च सम्मान गर्दछौ ।’ नवराजका बुवा मुनलाल नेपालीले छोरो मरे पनि न्याय नमरोस भनेर न्यायको भीख माग्न तीन दिन देखि अदालतको गेटमा धर्ना बस्नु परेको बताए ।
फैसला न्यायको पक्षमा
जिल्ला अदालत रुकुम पश्चिमले मंगलवार गरेको फैसला न्यायको पक्षमा भएको नागरिक समाजका अगुवाहरुले प्रतिक्रिया दिएका छन् । सोती नरसंहारका विरुद्ध पीडित परिवारजन र उनका पक्षमा न्यायप्रेमी जाजरकोट लगायत संसारभरका आवाजको सम्मान भएको नागरिक समाज जाजरकोटका अगुवा राजेन्द्र विक्रम शाहले बताए ।
उनले भने–‘घटना घटेको दिन देखि आज सम्म साढे ३ वर्ष देखिको अनवरत न्यायिक तथा सामाजिक संघर्षवाट एउटा विजय प्राप्त भएको छ । रुकुम जिल्ला अदालतवाट २४ जनालाई आजीवन कारावास र २ जनालाई जातीय विभेद विभेदको कसूरदार ठहर्याई भएको फैसलाले घटनामा ज्यान गुमाउने ६ जना युवाका परिवारजनको माग र न्यायका पक्षमा अभिव्यक्त हाम्रो ऐक्यवद्धताको एकहद सम्म विजय भएको छ ।’
दलित अधिकारकर्मी गोपाल नेपालीले पनि फैसला स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् । फैसला न्यायको पक्षमा भएको छ । निरन्तरको खवरदारी र दवावले पिडित परिवारलाई एक किसिमको न्याय मिलेको अनुभुति भएको छ उनले भने ‘यो घटनालाई लिएर न्यायका लागि राजधानी काठ्मान्डौ सम्म पुगेर सवैको ध्यानाकर्षण र खवरदारी गर्ने काम गर्यौ । निरन्तर दवाद दिईरह्यौ । ढिलै भएपनि न्याय मिलेको छ ।’
आफ्ना भर्खरका तन्नेरी छोराहरु गुमाउनु पर्दा विक्षिप्त भएका पिडित परिवारहरु फैसलाले थोरै भएपनि न्याय मिलेको महसुस भएको दलित अधिकारकर्मी हजारी नेपालीले बताईन । न्याय नपाईने हो कि भन्ने चिन्ता थियो । नेपालमा न्याय मरेको रहेनछ उनले भनिन अपराध अपराध नै हो । जुनसुकै हालतमा क्षम्य हुँदैन ।
सोती घटनाको मुद्धामा वहस गरेकी अधिवक्ता एम कुमारी ददेलले यतिवेला सोती अँध्यारो भएको र जाजरकोटले उत्सव मनाईरहेको प्रतिक्रिया दिएकी छन् । आफुहरुको अथक प्रयासले पिडितले न्याय पाएको उनको भनाई छ ।

????????????????????????????????????

पिडित परिवारलाई न्याय
फैसलाले न्याय मिलेको अनुभुति भएको नवराजका बुवा मुनलाल नेपालीले बताए । छोरो मरे पनि न्याय पाईएको छ । अपराधीहरु आजिवन कारावास गएका छन् । न्यायका लागि मैले साढे तीन बर्ष देखि संघर्ष गरे । काठ्मान्डौ सम्म पुगे । तारेक बोक्दा बोक्दा मेरा जुत्ताका तला फाटे ढिलै भएपनि बल्ल न्याय पाईएको छ । अव त मेरो छोराको आत्मले पनि शान्ति पाउँछ होला उनले भने ‘न्याय पाईदैन कि भन्ने मनमा त्रास थियो । किन भने उनीहरु राजनैतिक पहुँचवाला थिए । तर नेपालमा अझै न्याय मरेको रहेनछ । यो फैसला प्रति हामी सन्तुष्ट नै छौ । न्यायमुर्तीहरुलाई हार्दिक आभार प्रकट गर्दछौ । हामी पिडितहरुको तर्फबाट । निडरताका साथ न्याय दिलाईदिएकोमा धन्यवाद छ ।’
सोही घटनामा हत्या गरिएका भेरी नगरपालिका ११ मटेलाका लोकन्द्र सुनारकी आमा लक्ष्मी सुनारले पनि ढिलै भएपनि न्याय मिलेको प्रतिक्रिया दिईन । अपराधीहरुलाई जन्मकैद भएको सुनेकी छु । अव त मेरो छोराको आत्माले पनि शान्ति पाउँछ होला उनले भनिन ’मेरो छोराको न्याय पक्षमा उभिने सवै प्रति हामी कृतज्ञ छौ ।’
त्यस्तै सोही घटनामा हत्या गरिएका भेरी नगरपालिका ११ मटेलाकै गोविन्द शाहीका बुवा इन्द्रबहादुर शाही पनि फैसला प्रति सन्तुष्ट भएका छन् । उनले भने ‘आफ्ना छोराहरुको हत्या गर्ने अपराधीहरुलाई सजाय भएको छ । यसमै खुसी छौ । हाम्रा छोरालाई मार्नेहरुलाई जन्मकैद भएको छ । बल्ल न्याय मिलेको अनुभुति भएको छ ।’
एक रात थुनिएका थिए नवराज
जाजरकोट खलंगाका नवराज र सोतीकी मल्ल थरकी युवती विच प्रेम सम्बन्ध यति गाढा थियो कि केटाको घरमै आएर केटी बस्ने गरेकी थिईन । नवराजकी आमाका अनुसार ति युवती २०७६ पुस १२ गते आएर चार दिन बसेको र फेरी पुस २९ गते आएर तीन दिन नवराज सँगै बसेकी थिईन । त्यतिवेलै नबराजका आमाबुवाले तिमी को हौ कसकी छोरी हौ । यहाँ यसरी बस्दा तिम्रा आमाबाबु रिसाउलान भनेर भन्दा उनले ‘हामी दुवै एक अर्कालाई प्रेम गछौ । मेरो घर रुकुम सोती हो । म मल्ल ठकुरीकी छोरी हुँ ।’ भनेकी थिईन । त्यसपछि तिमी ठकुरीकी छोरी रहिछौ हामी दलित हौ भोली तिम्रा आमा बुवाले गाली गर्नुहोला भनेर नवराजका बुवा मुनलालले भन्दा उनले ‘हामी माओवादी हौ । जातभात केही मान्दैनौ । कुनै चिन्ता नमान्नुहोस केही हुदैन । भनेर भनेकी थिईन ।’ नवराज पनि युवतीको डेरा रहेको चौरजहारी पटक पटक जाने गर्दथे । तर युवतीका आमाबुवालाई त्यो सम्बन्ध पटक्कै मन परेको थिएन । सम्बन्ध तोडाउने सुरमा थिए । २०७७ बैशाख १७ गते तीन जना साथीहरु सहित नवराज युवतीको घर सोती गए । उनी त्यहाँ पुगेको युवतीका आमाबुवाले थाह पाउने वित्तिकै गाँउका केटाहरु बोलाएर नियन्त्रणमा लिएर कुटपिट गरि चौरजहारी स्थित इलाका प्रहरी कार्यालयमा बुझाईदिए । प्रहरीले एक रात थुन्यो । भोली पल्ट नजराजकी आमा गइन किन मेरो छोरालाई थुनेको ? थुन्ने मान्छे बोलाउनुस भन्दा केटी तर्फका कोही आएनन् । प्रहरीले उनीहरुलाई छोडिदियो । चेतावनी दिन कुटपिट गरेर थुनेपनि नवराजले आफ्नो प्रेम सम्बन्धलाई अघि बढाउने प्रयास गर्दा अन्ततः उनको ज्यानै गयो । १० जेठमा बेहुली लिन भनेर १९ जना साथीहरु सहित गएका नवराजको टोलीलाई देख्ने वित्तिकै युवतीकी आमा प्रकाशी मल्लले फेरी यो ‘डुमौ टोक्या’ आईगछ । अस्तीको कुटाइले पुगेनछ । यसलाई आज यही ठिक गर्नु पर्छ भन्दै गाँउलेलाई हारगुहार गरेपछि केटाहरु फर्किएका थिए । उनीहरु फर्किएर तल बाटोमा आईसकेको बेला आधा घण्टा पछि घरेलु हतियार सहित आएका गाँउलेले नवराज सहित ६ जनालाई हत्या गरि भेरीमा बगाईदिएको र अन्यले भागेर ज्यान जोगाएको सँगै गएका नवराजका साथीहरुको भनाई छ । मेरो छोरा दलित नभएको भए मारिने थिएन उर्मिलाले भनिन ‘छोरा मेरेपनि न्याय मरेको रहेनछ । अव त उसको आत्मले पनि शान्ति पाउला ।’ यद्यपी प्रेमिकाकी आमालाई पनि आजिवन कारावासको सजाय हुनु पर्नेमा नभएकोमा न्यायलय प्रति गुनासो छ ।
प्रेमका कारण ज्यान गुमाउने दलितहरू
काभ्रे, पाँचखाल– ६, होक्सेका अजीत मिजार कक्षा १२ मा अध्ययनरत थिए । गैरदलित युवतीसँगको दुई वर्षको प्रेमलाई उनले २०७३ असार २५ मा विवाहमा परिणत गरे। नवदम्पती अजितको दिदीकोमा बसेको थियो। दुई दिनपछि युवतीले माइतीलाई जानकारी दिइन्। माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी थियो । उनीहरूको सम्बन्ध–विच्छेद गराइयो । अर्को दिन अजित बेपत्ता भए । अजितको परिवारले प्रहरीमा उजुरी ग¥यो । भोलिपल्ट धादिङको कुलपुर गाविसको परेवाटारमा झुण्डिएको अवस्थामा एउटा शव भेटियो। दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लाश गाड्यो। यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । घटनास्थल पुग्दा लाश गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लाश निकाले । लाश अजितकै थियो । प्रहरीले पोस्टमार्टम गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँकतै चिरफार गरेको भेटिएन । आफन्तले शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल ल्याए । अजीतको शव अझै अस्पतालमा छ । गैरदलित युवतीसँग छोराको प्रेम सम्बन्धका कारण २०६८ को भदौमा दैलेखका सेते दमाई मारिए । आफ्नै उमेरकी गैरदलित युवतीसँग उनको छोराको प्रेम थियो। दुवैले राजीखुशीमा प्रेमलाई बिहेमा परिणत गरे। तर, गैरदलित प्रेमिकाकी परिवारले सेतेका छोरालाई आक्रमण ग¥यो। छोरालाई बचाउँदा उनी आफैँ मारिए । त्यही वर्षको माघ १६ मा भएको सप्तरी, पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो । आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एउटै पासो लगाए । तनहुँकी संगीता परियार, सिन्धुपाल्चोककी माया तिरुवा र म्याग्दीकी सविता नेपालीले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाएका थिए ।
कानुनमा के छ ?
नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भएको छ । मुलुकी अपराध संहिता २०७४ ले छुवाछुतलाई दण्डनीय भनेको छ । कानुनी रूपमा मात्र होइन, व्यवहारमा पनि अब छुवाछुतको व्यवहार हुने छैन भनेर संसद्ले २१ जेठ २०६३ मा नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो । प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादा समान हुने प्रत्याभूति देशको कानुनले गरेको छ । वर्तमान संविधानको धारा ४० मा ‘दलितको हक’ अन्तर्गत सात वटा उपधारामा दलितका अधिकार र हक उल्लेख छन् । जातीय छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ ले प्रत्येक व्यक्तिको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई आत्मसात् गरेको छ । यसैमा छुवाछुत तथा भेदभावविरुद्धको अधिकारमा विवाह गर्ने तथा वरवधू छान्ने अधिकार सुरक्षित छ । कसैले प्रचलित कानुनबमोजिम उमेर पुगेका वरवधूबाट मञ्जुर भएको अन्तरजातीय विवाह गर्नबाट कुनै पनि व्यक्तिलाई उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा रोक लगाए छुवाछुत तथा भेदभाव गरेको मानिन्छ । कानुनमा समानका कुराहरु गरिएपनि ब्यवहारमा अझै विभेद कायमै छ । चेतनाको अभाव एकातिर छ भने अर्कोतिर पुखौपुर्खा देखि नै गैरदलितले हामी माथिल्लो जातको हौ र दलित भनेका तल्लो जातका हुन । यीनीहरु दोस्रो दर्जाका नागरिक हुन भन्ने परम्परागत सोचले गर्दा पनि विभेद हट्न सकेको छैन । अरुको लागी समानता खोज्ने तर आफुलाई पर्दा स्वीकार गर्न नसक्ने प्रबृत्ति पनि समाजमा विद्यमान छ । तसर्थ जातिय विभेद जस्तो अमानवीय कार्य रोक्न राज्यले नै अग्रसरता देखाउनु पर्छ । दलितलाई शसक्तिकरण गर्नु पर्छ । शिक्षा र राजगारीका अवसर सिर्जना गर्नुपर्छ र कानुन कडाईका साथ कार्यान्वयन गरिनुपर्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad