March 1 - 2024, Friday१७ फाल्गुन २०८०, बिहीबार

बस्ने डेरा भत्किएर किताव पुरिए,अव डेरा पाईदैन कहाँ बसेर पढ्ने ?

राजेन्द्र कार्की । जाजरकोट
एक महिने दशैंतिहार विदा भएपछि नलगाड नगरपालिका ५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताबकपी, डे«स सवै छोडेर घर गएकी थिईन । भेरी नगरपालिका १ रिम्ना स्थित भेरीत्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत उनी विद्यालय नजिकै तुल्सी नेपालीको घरमा डेरा गरेर बस्थिन । तर विदा नसकिदै गत कात्तिक १७ गते राती आएको भूकम्पले उनको घरमा मात्र क्षति गरेन । विद्यालय र डेरा गरेको घर पनि भत्कियो । बस्नेघर भत्किएपछि उनको परिवार अहिले त्रिपालमा बस्छ । उनी बस्ने डेरा भत्किएपछि घरभेटी तुलसा घाईते छन् । घर भत्किएर उनका सवै किताब कपी, विद्यालय पोशाक सवै त्यही पुरिए । सोमवार देखि विद्यालय खुले पनि उनी काँहा बस्ने ? किताब कपी के गर्ने ? पोशाक के लगाउने केही सोच्न सकेकी छैनन् । विद्यालय भवन भत्किएपनि खुल्ला चौरमै भएपनि पढाई हुन थालेको छ रे उनले भनिन्–‘म कहाँ गएर बसुँ, बस्ने घर(डेरा) नै भत्कियो । न त पढ्ने किताब नै छ ।’ उनको यस बर्ष एसईई परीक्षा हो । पढ्ने समयमा भुकम्पलै सवै तहस नहस बनायो अव के गर्ने उनी अन्यौलमा छन् । उनको घर देखि विद्यालय जान ५ घण्टा समय लाग्छ । रिम्नामा अरु बस्न लायक घर बचेका छैनन् ।

भेरी नगरपालिका १ जुरेलीकी निर्मला घर्ती पनि सोही विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन् । घरबाट विद्यालय टाढा भएपछि उनी पनि रिम्नामै कोठा भाडामा लिएर भाई सँग बस्थिन तर भुकम्पले उनी बस्ने घर चर्किएर त्रिपालमा उनको परिवार सरेको छ भने डेरा लिएको घर पुरै भत्किएर विद्यालय पोशाक, किताब, कपी, कलम, नोटबुक सवै पुरियो । उनले भनिन ‘अब हामी कहाँ बसेर कसरी पढ्ने ?

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा ४ सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये तीन जना भूकम्पमा परेर बिते । घाईते १२ जना अस्पतालमा उपचाररत छन् । धेरै विद्यार्थी मानसिक त्रासमा छन् । सोमवार देखि विद्यालय खोले पनि थोरै मात्र विद्यार्थी विद्यालय आउन थालेका छन् प्रधानाध्यापक प्रेमबहादुर पुनले भने सवै कक्षाका गरी सोमवार ६० जना आएका थिए । मंगलवार एक सय २२ जना आए । सामान्य सरसफाई र मनोपरामर्श दिएर पठायौ । पठनपाठन शुरु गरेका छैनौ उनले भने ‘करीब दुई सय बढी विद्यार्थी डेरामै बस्थे । रुकुम पश्चिम बाट पनि आउँथे भुकम्पले धेरै विद्यार्थीका पोशाक र किताब पुरिएका छन् । अव कसरी उनीहरुको समस्या समाधान गर्ने होला । हामी आफै त्रिपालमा बसेका छौ । डेरावाला विद्यार्थीको विजोग हुने भो ।’ जाजरकोटमा मात्र करीब दुई हजार विद्यार्थी कोठाभाडामा बस्ने गरेको अनुमान छ ।

नलगाड नगरपालिका ११ कि रेखा सिंह सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत छन् । सदरमुकाम खलंगा स्थित उनी बस्ने घर भुकम्पले भत्किएपछि उनका पनि किताब कापी सवै पुरिएका छन् । मैले लगाउने दुई जोर ड्रेस पनि कोठामै थिए । सवै पुरिदिएछ । मंगलवार मात्र सदरमुकाम खलंगा आएकी उनले दिनभर कोठा खोजे पनि पाउन सकिनन् । गाँउको मेरो घर पनि बस्न नमिल्ने गरे दर्किएको छ । घरका सवै त्रिपालमा बस्छौ । ४ गते देखि विद्यालय लाग्छ भनेर आएँ तर कहाँ बस्ने हो ? मेरो सवै समान पुरिएको छ उनले भनिन् ‘अहिले सम्म निकाल्न पाएको छैन । केही पक्की घर बाहेक सवै घर भत्किएका छन् । पक्की घरमा कोठा पाउँदैन । पक्की घरका पनि त्रासले बाहिरै सुत्छन् । अव कहाँ बसेर पढ्ने ?’

उनी पढ्ने विद्यालय पनि खुल्न सकेको छैन । सो विद्यालयमा रातह वितरणका लागि शसस्त्र, नेपाली सेना र नेपाल प्रहरीको टोली बसिरहेको छ । विद्यालय भवन पक्की भएका कारण खासै क्षति नभएपनि खुल्ला चौर भएकोले केही भुकम्प पिडित र सुरक्षाकर्मीको वास विद्यालयमै भएको करीब ९ सय विद्यार्थी अध्ययरत सो विद्यालय पनि खुल्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले विद्यालय खोल्ने काम भएपनि पठनपाठन सुचारु गर्न नसकिएको बताए । सुरक्षाकर्मी र पिडितहरु बसिरहनु भएको छ । स्थानिय प्रशासन र स्थानिय सरकारले जे भन्छ त्यही गछौ उनले भने । ६ कक्षा देखि १२ कक्षा सम्म पढाई हुने यो विद्यालयमा जिल्लाभरीका विद्यार्थी अध्ययनका लागि आउने गर्दछन् । धेरै विद्यार्थी कोठा भाडामा लिएर बस्ने भएकोले पनि निकै समस्या रहेको प्रधानाध्यापक मल्लको भनाई छ ।

 

भेरी नगरपालिका ३ का युवराज थापा स्थानिय हनुमान प्राथमिक विद्यालयमा ५ कक्षामा पढ्छन् । उनी पढ्ने त्यो विद्यालय भुकम्पले भत्काएको छ । पढ्न मिल्ने अवस्था छैन । विद्यालय खुल्ने सुरसार पनि छैन । दशैंतिहारको एकमहिने विदा गत मंसिर ३ गते सकिएर ४ गते देखि खुल्नुपर्ने हो तर भुकम्पले विद्यालय, शिक्षक र विद्यार्थीका घर भत्किएपनि कहिले देखि पढाई हुन्छ अहिले सम्म टुङ्गो छैन । युवराज बस्ने घर पनि भत्कियो किताब कपी र ड्रेस त्यही घरमा पुरिए । भाग्यले उनी र उनको परिवारलाई केही भएन् । भागेर ज्यान जोगाए । अस्थायी सिकाई केन्द्र बनाएर पठनपाठन गर्न नगरपालिकाले आग्रह गरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताए । तर साँघुरो ठाँउमा रहेको विद्यालय र वरिपरिको थाप्लेबस्ती नै भग्नावशेषको रुपमा परिणत भएपछि समस्या भएको बताए । टेन्ट राख्ने र बाहिर राखेर पढाउन मिल्ने विद्यालयको चौर नहुँदा पठनपाठन गर्न समस्या भएको उनले बताए । ‘दुई भवनका तीन वटा कक्षाकोठा भत्किएका छन् । बाँकी रहेका कोठामा पनि जोखिम छ,’ प्रधानाध्यापक कृष्ण सिंहले भने, ‘विद्यालयको चउर पनि छैन । पठनपाठनका लागि नगरपालिकासँग समन्वय गरेर अघि बढ्छौँ।’ उनले भने । ५ कक्षा सम्म पढाई हुने त्यस विद्यालयमा अध्ययनरत डेढ सय विद्यार्थीको पठनपाठन कहिले हुने हो केही निश्चित छैन ।
विद्यालयको चौरमा भुकम्प पिडितहरु त्रिपाल टाँगेर भरिभराउ भएपछि सदरमुकाम स्थित भेरी प्राथमिक विद्यालय पनि खुल्ने केही टुगों छैन । भवन पुरै चिराचिरा परेर चर्किएका छन् । बाहिर भुकम्प पिडित स्थानियो वास छ कहाँ पढाउने ? कसरी पढाउने प्रधानाध्यापक ललितराज भण्डारीले भने ‘विद्यालय खुल्ने बारे अहिले केही टुगो छैन । स्थानिय सरकारले भने अनुसार गछौं ।’

भूकम्पले जाजरकोटका अधिकांश विद्यालय भवनमा क्षति पुगेको छ । कात्तिक ४ गते सोमबारदेखि नै पढाइ सञ्चालन गर्नुपर्ने भए पनि भूकम्प प्रभावित जिल्ला जाजरकोटका विद्यालयहरू अन्योलमा छन् । केहीले विद्यालयको चौरमै कक्षा संचालन गर्ने प्रयास गरेका छन् तर त्रासका कारण विद्यार्थीको उपस्थिति एकदमै न्युन छ । जुनिचाँदे गाउँपालिका–२ को महादेव आधारभूत विद्यालयलका पक्की र कच्ची भवनमा गरी ५ वटा कोठा थिए । ती दुवै भवन चर्किएका छन् । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा ५५ जना विद्यार्थी मध्य सोमवार १३ जना र मंगलवार १७ जना मात्र विद्यार्थी उपस्थित भएको शिक्षक नरेन्द्र शाहीले बताए । ‘टेन्टको व्यवस्था भएको छैन । तर पनि अहिले घाम न्यानो हुने भएकाले चउरमै सामान्य छलफल गरेर विद्यार्थीलाई पठाउने गरेका छौ । पाठ्यपुस्तक पढाउन सुरु भएको छैन । सवै विद्यार्थी आए भने चौरमै कक्षा संचालन गर्नु पर्ने बाध्यता छ ।’
भुकम्पले क्षति नगरेका पक्की भवनमा समेत विद्यार्थी बस्न नमानेको भेरी त्रिवेणी माध्यमिक विद्यालयका शिक्षक रुद्र वलीले बताए । ‘विद्यार्थीले बरु चौरमै बसेर पढौ कक्षाकोठा भित्र त हामी बस्दैनौ भन्छन उनले भने ।’ न शिक्षकलाई पढाउन मन छ न विद्यार्थीलाई पढन नै मन छ । भुकम्पको त्रासले अहिले पनि शिक्षक विद्यार्थी एकोहोरो हुने, टोलाउने, झस्किने, वर्वराउने लगायतका समस्या देखिन थालेको उनले बताए ।

 

शनिबार जाजरकोट जिल्ला विपद व्यवस्थापन समितिको बैठकले भूकम्पबाट आंशिक क्षति भएका विद्यालयको पठनपाठन सम्बन्धित स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको समन्वयमा गर्ने निर्णय गरेको छ । सोहीअनुसार स्थानीय तहहरूले पनि विद्यालय सञ्चालनको सम्बन्धमा क्षति भएका विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन थाल्न निर्देशन दिएका छन् । तर कतिपय विद्यालयमा खुला चौर नभएको, भएका विद्यालयमा पनि भुकम्प प्रभावितहरु बसिरहेको लगायतका कारणले धेरै विद्यालय अझै खुल्न नसकेका हुन् ।
भेरी नगरपालिकाले पनि जोखिममा रहेका विद्यालयहरूमा सुरक्षित स्थान छनोट गरी पठनपाठन चलाउने निर्णय गरेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनले पढाउने ब्यवस्था तत्काल गर्न नसकेपनि विद्यार्थी सँग कुराकानी गर्ने, खेल खेल्ने, कथा भन्ने लगायतका क्रियाकलाप गरेर त्रासलाई भुलाउन निर्देशन दिएका छौ । कतिपय विद्यालयमा पिडितहरु बसिरहेका छन् । कतिपय विद्यालयमा टेन्ट राख्ने नै ठाँउ छैन । यी सवै कारणले भेरीका धेरै विद्यालय खुल्न सकेका छैनन् । खुलेका विद्यालयमा पनि विद्यार्थीको उपस्थिति एकदमै न्युन छ उनले भने ‘यतिवेला हाम्रो जोड अस्थायी सिकाई केन्द्र बनाएर मनोपरामर्श दिने भन्ने छ । धेरै विद्यार्थीका पाठ्यपुस्तक पुरिएकाले पनि समस्या छ । हामी ब्यवस्थापन गर्ने तयारीमा छौ ।’ उनका अनुसार पालिकासँग निरन्तर समन्वय गरेर पठनपाठन चलाउन विद्यालयहरूलाई भनिएको छ । भेरी नगरपालिकामा ५६ वटा विद्यालय छन् त्यसमध्य १७ ओटा पुर्ण रुपमा भत्किएका छन् भने अरु सवै चर्किएको छन् ।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार जोखिममा रहेका विद्यालयहरूले तत्कालका लागि नजिकको सुरक्षित स्थानमा पढाइ चलाउने निर्णय भएको छ । ‘पहिलो चरणमा पढनपाठन भन्दा केही संघसंस्थाको सहयोगमा मनोपरामर्श सेवा पनि संचालन गर्ने तयारीमा छौ’ उनले भने ।
नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विकका अनुसार कुल ७१ विद्यालयमध्ये ५४ वटामा क्षति पुगेको छ । ‘केही विद्यालयहरू सोमबार नै खुलेका छन् । अति जोखिममा रहेका विद्यालयहरूमा सिकाइ केन्द्र बनेपछि मात्र पठनपाठन हुन्छ,’ उनले भने, ‘जोखिम धेरै भएका विद्यालयहरूमा पनि प्रशासन खोलेर अन्य आवश्यक तयारी भैरहेको छ ।’
उनका अनुसार नगरपालिकाले विद्यालय व्यवस्थापन समिति र सामाजिक समितिले काम गर्ने गरी विद्यालयको जोखिम मूल्यांकन गर्ने संयन्त्र बनाइएको छ । यस्तो संयन्त्रले विद्यालयहरूको अनुगमन गर्न थालेको छ । संयन्त्रले आवश्यकता अनुसार अस्थायी सिकाइ केन्द्र बनाउने र अन्य आवश्यक कामबारे प्रतिवेदन तयार गर्नेछ ।

जाजरकोटमा २९० वटा विद्यालयहरूमा पूर्ण क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश मल्लका अनुसार जिल्लामा १ सय ५४ विद्यालय आँशिक रुपमा क्षति पुगेको छ । ३२ जना विद्यार्थीको ज्यान गएको छ भने ३५ जना विद्यार्थी घाईते भएका छन् । भुकम्पमा २ जना शिक्षकको मृत्यु, ५ जना शिक्षक र एक जना विद्यालय कर्मचारी घाईते भएका छन् । धेरै विद्यालयका कम्प्युटर, शौचालय, खानेपानी, आईसीटी ल्याव, सोलार सिस्टम, पुस्तकालग लगायतमा क्षति पुगेको उनले बताए । ती विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र निर्माणका लागि युनिसेफ, लायन्स क्लब लगायतका सरोकारवाला निकायसँग समन्वयको प्रक्रिया सुरु भएको उनले बताए । भुकम्पबाट करीब तीन हजार विद्यार्थीका पाठ्पुस्तक पुरिएका छन् । जाजरकोटका ७५ हजार ८ सय ५५ विद्यार्थी मध्य करीब ५० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् उनले भने ‘अस्थायी सिकाई केन्द्र भन्दा अस्थायी संरचना नै बनाउन आवश्यक छ भनेर सम्बन्धित निकायमा सुझाव दिएका छौ ।’
कात्तिक २४ गते भएको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद बैठकले भूकम्प प्रभावितका लागि अस्थायी आवास र अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो ।

रुकुम पश्चिममा अस्थायी सिकाई केन्द्र मार्फत पढाई
रुकुम पश्चिमका केहि बिद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण भईसकेको छ भने केही विद्यालयमा सिकाई केन्द्र बनाउने कार्य जारी छ । दशै, तिहार र छठ पर्वको अवसरमा बिदा भएका बिद्यालयहरु सोमबारबाट खुलेसँगै अस्थायी सिकाई केन्द्र धमाधम निर्माण हुन थालेका छन् । बनिसकेका सिकाई केन्द्रमा सामान्य मनोपरामर्शका कक्षाहरु संचालन भैरहेका छन् ।
आठविसकोट नगरपालिकामा १३९ वटा अस्थायी सिकाई केन्द्र निर्माणको अन्तिम चरणमा रहेको नगर प्रमुख रबि केसीले जानकारी दिए । उनका अनुसार बिद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्धेश्यका साथ अस्थायी सिकाई केन्द्रलाई प्राथमिकता दिईएको हो । अस्थायी सिकाई केन्द्र निर्माणका लागि युनिसेफले नगरपालिकासँग सहकार्य गरेको नगर प्रमुख केसीले बताए । युनिसेफले एउटा केन्द्रको लागि दुई वटा त्रिपाल, १० किलो प्लाष्टिक, ३२.५ वर्गमिटर पि फर्म र बिद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री उपलब्ध गराएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर बिष्टका अनुसार भूकम्पले आठविसकोटमा मात्रै ११ जना बिद्यार्थीको मृत्यु भएको छ । साथै एक जना कार्यालय सहयोगीको पनि ज्यान गएको छ । उनले नगरपालिका भित्र रहेका ६४ बिद्यालय मध्य ५३ वटा बिद्यालय, २५२ वटा कक्षाकोठा, ७६ वटा शौचालय र नौ हजार ८४७ जना बिद्यार्थी प्रभावित भएको जानकारी दिए ।
भूकम्पको कारण घर भत्किदा बिद्यार्थीहरुका किताबकापी समेत क्षति पुगेको छ । शाखा प्रमुख बिष्टले कक्षा १ देखि १० सम्मका एक हजार ४ सय ४१ किताबका सेट बिभिन्न बिद्यालयबाट माग भई आएको जानकारी दिए । अहिले नगरपालिकाले १३९ वटा सिकाई केन्द्र बनाएर पठनपाठन सुरु गर्ने भएको छ ।
रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना बिद्यार्थीको मृत्यु भएको छ । सामाजिक विकास कार्यालय रुकुमपश्चिमको तथ्याङक अनुसार एक जना बिद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना बिद्यार्थी र एकजना शिक्षक घाईते भएका छन् । भूकम्पको कारण रुकुम पश्चिमका ११ हजार ९५२ बिद्यार्थी प्रभावित भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad