राजेन्द्र कार्की । जाजरकोट
उर्जा मन्त्रीमा शक्तिबहादुर बस्नेत नियुक्त भएपछि जाजरकोट नलगाड ७ दल्लीकी अनिता बादी निकै खुसी छन् । बस्नेत मन्त्री भएको भन्दा नलगाड जलविद्युत आयोजना अघि बढ्ने भो भनेर उनी खुसी भएकी हुन् । ६ बर्ष देखि विस्तृत आयोजना प्रतिवेदनमै अल्मलिएको आयोजना अब गृह जिल्ला त्यो पनि सम्बन्धित विभागिय मन्त्री पाउँदा आयोजनाले गति लिने र आफुहरुको जीवनस्तर उस्कन सहयोग मिल्ने अनिताको आशा छ । उनले भनिन् ‘यो आयोजना बन्दा जिल्ला र देशलाई त फाइदा पुग्छ नै हामी स्थानियलाई पनि रोजगारीका अनेक अवसर जुट्छन् । त्यसैले यो आयोजना अघि बढाउन मन्त्री ज्युले पहल गर्नु हुनेछ भन्ने आशा, विश्वास र भरोसा छ ।’
अनिता जस्तै स्थानिय अमर बहादुर सिंह पनि आयोजनाको विस्तृत आयोजना प्रतिवेदन(डिपीआर) तत्काल सम्पन्न गरेर आयोजना अघि बढाउनु पर्ने बताउँछन् । चार सय १७ मेघावाटको देशकै ठुलो मध्यको यो आयोजना सम्पन्न भएपछि स्थानियले रोजगारीका अवसर पाउने र देशको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाई छ ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका ७ दल्लीमा बन्ने नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ६ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । डीपीआरका लागि अहिलेसम्म झन्डै ६ अर्ब रुपैयाँ सकिएको छ । डीपीआरको काम अस्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एमडब्लूएच र नेपालको उदय जेभीले संयुक्त रूपमा गरिरहेका छन । डिपिआर सक्न सरकारले आवश्यक पहल गर्नु पर्ने सिंहको भनाई छ । जाजरकोटकै उर्जा मन्त्री हुनुहुन्छ । यो आयोजना अघि बढाउने सुनौलो अवसर हो यतिवेला यो अवसरलाई गुम्न दिनु हुँदैन । मन्त्री ज्युले यो आयोजनालाई विशेष प्राथमिकतामा राखेर काम अघि बढाउनु पर्छ सिंहले भने–‘यो आयोजना सम्पन्न भएपछि जिल्ला र देशै मुहार फेर्न महत्वपुर्ण योगदान हुनेछ ।’
सन् २०१६ मा ३१ महिनामा डीपीआरको काम सक्ने गरी नलगाड जलविद्युत् कम्पनी र सम्बद्ध परामर्शदाता कम्पनीबीच सम्झौता भएको थियो । यसअघि परामर्शदाता कम्पनीको मागअनुसार अगस्ट २०१९ मा पहिलो पटक ३ महिना र अगस्टदेखि मे २०२० सम्म ९ महिना दोस्रो पटक गरी डीपीआरको म्याद थपिएको थियो । डिपिआर नभएका कारण नलगाड जलविद्युत् आयोजनाका अन्य गतिविधि अघि बढ्न नसकेको इन्जिनियर पदमबहादुर थापाले जनाए । फिल्डको काम भने सकिएको उनको भनाइ छ । फिल्ड अन्तर्गत सर्भे, सुरुङ टेस्ट र पावर हाउसमा सुरुङ निर्माण भइसकेको छ । फिल्डको काम सकिएको छ । टेवल वर्कको काम मात्र बाँकी छ परामर्शदाता कम्पनीले तदारुपतका साथ काम गरे भने अवको दुई तीन महिना भित्र डिपिआरको सवै काम सकिन्छ । डिपिआर बनेपछि मात्र दाता खोजेर आयोजना अघि बढाउन सरकारलाई सहज हुन्छ ईन्जिनियर थापाले भने ‘करीब एक सय ५० अर्ब रुपैया लागत लाग्ने अनुमान छ । लगातार काम गर्दा पनि आयोजना सम्पन्न हुन १० बर्ष लाग्छ । यो आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा बाँडिसकिएको र कुनै पनि विवाद नभएकोले पनि काम अघि बढाउन सजिलो छ । अहिलेसम्म बाँधस्थल बारेकोट–८ मा ४ वटा ६०÷६० मिटरका सुरुङ बनिसकेका छन् । त्यस्तै पावरहाउस बन्ने दल्लीमा ३ सय ५५ मिटर लामो सुरुङ बनेको छ ।’
सम्झौता भएको २ वर्षभित्र बुझाएर स्वीकृत गराइ सक्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन हालै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाइएको छ । मन्त्री बस्नेतले उक्त प्रतिवेदन स्वीकृतिका लागि वन मन्त्रालयमा पठाएका छन् । अहिलेसम्म आयोजनामा मुआब्जा वितरणमा ३ अर्ब, डीपीआरमा डेढ अर्ब, बाटो, पुल, आर्मी क्याम्प र अफिस भवन निर्माणमा २ अर्ब गरी करिब ६ अर्ब रुपैयाँ खर्च भएको इन्जिनियर थापाले बताए । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आयोजनामा लगानी गर्ने इच्छा राखेको छ । त्यसबारे मन्त्री, सचिव र सहसचिवस्तरमा पटकपटक छलफल भइरहेको छ । आयोजना निर्माणमा प्रसारण लाइन बाहेक प्रति मेगावाट लागत ३१ करोड र प्रसारण लाइनसहित ३५ करोड खर्च हुने देखिएको छ । आयोजनाका लागि नलगाड खोला र ठूलीभेरीको दोभान दल्लीमा भूमिगत पावर हाउस निर्माण हुनेछ । आयोजनाबाट चार सय १७ मेघा ऊर्जा उत्पादन हुने इन्जिनियर थापाले जनाए । ड्याम बनाएर सुरुङ्ग मार्गको प्रयोग गरि बनाईने स्टोरेज प्रोजेक्ट भएकोले पनि यो आयोजना दिगो, भरपर्दो र टिकाउ आयोजना हुने विश्वास गरिएको छ । देशमा बढ्दै गएको उर्जा संकट निवारणका लागि यो आयोजना कोशे ढुङ्गा सावित हुनेछ । आयोजना बनेपछि ताल हेर्न र आयोजना हेर्न पर्यटक समेत भित्रिने अपेक्षा गरिएको छ । यो क्षेत्र नै पर्यटकिय क्षेत्र बन्ने संभावना छ नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहले भनिन–‘आयोजना अघि बढाउन सवै पक्षबाट सकारात्मक सहयोग हुन जरुरी छ ।’
आयोजनाको जलाशयको उचाई दुईसय १० मिटर र चौडाई पाँच सय ४५ मिटर फराकिलो रहनेछ । आयोजनाको जलाशय भरिँदा चार सय ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आठ हजार तिन सय मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४ सय १७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ ।
नलगाड नगरपालिका स्थित नलगाड खोला र ठूलीभेरी नदीको दोभान नजिकै भूमिगत विद्युत गृह निर्माण गर्ने प्रस्ताव छ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बनाउनुपर्छ । पाँच सय मिटर लम्बाई र दुई सय ४८ मिटर अग्लो बाँध बन्नेछ । त्यस्तै ४ सय केभीको १ सय १२ किलोमिटर डबल सक्र्यूट प्रसारण लाइन बाँकेको कोहलपुर सवस्टेशनसम्म बनाउनु पर्नेछ ।
नलगाड जलविद्युत् निर्माण भएमा यसले कूल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुख्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ । नलगाड नगरपालिका –७ दल्लीमा विद्युत गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।
आयोजनाबाट उत्पादित विद्युत् ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको कोहलपुर सबस्टेसनमा जोडिनेछ । नलगाडकै दानीपीपलमा ४ सय केभी प्रसारण लाइनको सबस्टेसन निर्माण जारी छ । नलगाड निर्माणकै लागि ४ मेगावाटको ताँसुगाड जलविद्युत् आयोजनाको डीपीआरको काम जारी रहेको उनको भनाइ छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बस्नेतले नलगाड जलविद्युत आयोजना अघि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । असार भित्र डिपिआरको काम सकेर प्रतिवेदन बुझाउन निर्देशन दिएको छु । डिपिआर हामी सँग आउने वित्तिकै हामी यो आयोजना अघि बढाउन नेपाल सरकारले विशेष पहलकदमी लिनेछ उनले भने–‘देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुग्ने यो आयोजना मेरै कार्यकालमा शुरु हुनेछ ।’