March 25 - 2023, Saturday११ चैत्र २०७९, शनिबार

कमिसनको चक्करमा नौ सिँचाइ आयोजना अलपत्र

राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ आयोजना कागजी रुपमा सम्पन्न भएको ५ महिना पुग्यो । तर आयोजना पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । २५ लाख रुपैयाँ खर्चिएको यो आयोजना अलपत्र छ । सोलार पाताहरू अलपत्र र तोडफोड गरिएको अवस्था छन् । निर्माण सम्पन्न भएको भन्दै कृषि विकास कार्यालयले आयोजनाको सम्पूर्ण रकम भुक्तानी दिइसकेको छ । आयोजनाका लागि पर्याप्त पाइपसमेत छैन । ५ सय मिटर पाइप स्टेमेट भएपनि आयोजनामा कार्यालयले तीनसय मिटरमात्रै पाइप दिएको छ । सिँचाइ पोखरीसम्म पाइप नपुगेकै कारण आयोजना सञ्चालनमा आउन नसकेको हो । आयोजनाको सम्पूर्ण निर्माण सामग्री कार्यालय आफैले खरिद गरेको थियो ।

Swasthya sewa karyalaya, jajarkot

त्यस्तै भेरी नगरपालिका–१३ बारेलास्थित इमिलेचौर लिफ्ट सिँचाइ योजना पनि अलपत्र छ । १५ लाखको यो आयोजनाको पाइप र सोलार पाता यत्रतत्र छरिएका छन् । आयोजनाको सोलार सिस्टमनै चल्दैन । यो आयोजनाको पनि सम्पूर्ण निर्माण सामग्री कार्यालयले आफैले खरिद गरेको थियो । तर आयोजनाले स्टेमट अनुसार पाइप पाएन । पाइप अपुग भएकै कारण नदीदेखि पोखरीसम्म पानी पुगेको छैन ।

भेरी नगरपालिका १२ को बिस्नेचौर लिफ्ट सिँचाइ आयोजना पनि अलपत्र छ । १० लाखको यो आयोजनाले न स्टमेट अनुसार पाइप पाएको छ, न त पाइप र सोलारको संरक्षण नै गरिएको छ । ५ सय ८० मिटर पाइप स्टमेट गरिएको आयोजनाले ३ सय मिटरमात्र पाइप पाएको छ । यो आयोजनाको त पोखरीसमेत निर्माण गरिएको छैन । सोही क्षेत्रमा यसअघि निर्माण गरिएको डिप बोरिङको पोखरीमा पानी जम्मा गर्ने भनिएको थियो । तर नदीबाट पोखरीसम्म पुग्ने पाइप आयोजनाले पाएको छैन । आयोजनाको सोलार सिस्टमपनि चल्दैनन् । खानेपानीसमेत सुविधा नभएको त्यहाँका २५ घरधुरी स्थानीयले नदीबाट पानी बोकेर पिउन बाध्य छन् ।

भेरी नगरपालिका–१३ स्थित बिस्नेचौरमा लिफ्ट सिँचाइ योजनाको अवस्था पनि हरिबिजाग छ । १५ लाखको यो आयोजनाबाट ३५ घरधुरी लाभान्वित हुने लक्ष्य थियो । दुर्भाग्य, निर्माण सम्पन्न नभएकै कारण किसानले लाभ पाउन सकेका छैनन् ।

उल्लेखित आयोजनामात्रै होइन । गत आर्थिक वर्षमा कृषि विकास कार्यालयबाट सञ्चालन भएका नौ वटा सिँचाइ आयोजनाहरू अहिले पनि अलपत्र परेका छन् । आयोजना कागजमा सम्पन्न भएपनि सञ्चालनमा ल्याउन सकिएको छैन । तर सबै आयोजनको रकम भुक्तानी भइसकेको छ । कमिसनको चक्करले कुनैपनि आयोजनाको पूर्ण निर्माण सम्पन्न भएका छैनन् । सबै आयोजनाले लागत स्टमेट अनुसार पाइप पाएका छैनन् । आयोजना सञ्चालनमा आउन नसकेपछि पाइप, सोलार र पानी तान्ने मोटरहरू अलपत्र छन् । तर लिफ्ट सिँचाइ आयोजनाको नाममा १ करोड ३५ लाख रकम भुक्तानी भइसकेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा दशवटा सिँचाइ योजनाहरू निर्माण थालिएका हुन् । कागजी रुपमा निर्माण सम्पन्न गराएर कार्यालयले एक करोड ३३ लाख रकम भुक्तानी दिइसकेको भएपनि आयोजना सम्पन्न हुन सकेका छैनन् । आयोजना अलपत्र परेको र कार्यालयले कमिशनको चक्करमा काम अलपत्र पारेको गुनासो गर्दा पनि सुनुवाई नभएको उपभोक्ता समितिहरुले जनाएका छन् ।
यी हुन् अलपत्र आयोजनाहरू
गत आर्थिक वर्षमा कृषि विकास कार्यालयले सञ्चालन गरेका नौ वटा सिँचाइ आयोजनारु अलपत्र परेका छन् । छेडागाड–१३ को मनघाट लिफ्ट सिँचाइ योजना, भेरी १० को तल्लोचौर लिफ्ट सिँचाइ योजना, भेरी १२ को बिस्नेचौर लिफ्ट सिँचाइ योजना, भेरी १३ को इमिलेचौर लिफ्ट सिँचाइ योजना अलपत्र छन् । त्यस्तै भेरी १२ को बारेला लिफ्ट सिँचाइ योजना, भेरी ११ को थापाचौर लिफ्ट सिँचाइ योजना, भेरी नगरपालिका–१ को रिम्ना लिफ्ट सिँचाइ योजना नलगाड ७ को चामाखेत लिफ्ट सिँचाइ योजना र नलगाड ८ को मनमइ लिफ्ट सिँचाइ योजना पनि अलपत्र छन् । आयोजनामध्ये मनघाट ८ लाख, तल्लोचौर दश लाख, बिस्नेचौर १५ लाख, इमिलेचौर १० लाख, बारेला १० लाख, थापाचौर १५ लाख, रिम्ना, २५ लाख, चामाखेत १० लाख र मन्मइ १५ लाखको सिँचाइ आयोजनाहरू हुन् ।
कसले खायो कमिसन ?
कमिसन खाने प्रवृतिका कारण लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन् । तर कमिसन कसले खायो भन्ने विषयमा भने उपभोक्ता र कार्यालयले एकले अर्कालाई दोष दिएका छन् । कार्यालयले कमिसन खाएकै कारण सिँचाइ आयोजना अलपत्र परेको उपभोक्ताहरू आरोप लगाउँछन् । ‘कमिसन खानकै लागि आयोजनाका सम्पूर्ण सामग्रीहरू कार्यालय आफैले खरिद ग¥यो’ इमिलेचौर लिफ्ट सिँचाइ योजनाका अध्यक्ष रामे कामीले भने, ‘कमिसन खाएकै कारण कार्यालयले स्टमेट अनुसार पाइप दिएन, दिएका सामान पनि गुणस्तर छैनन् ।’
त्यस्तै भेरी नगरपालिका–१३ का धरमबहादुर बस्नेतले पनि कृषि विकास कार्यालयले कमिसन खाएकै कारण आयोजना अलपत्र परेको आरोप लगाए । ‘कमिसनका लागि उपभोक्तालाई थाहानै नदिइ कार्यालयले सामग्री खरिद ग¥यो’ उनले भने, ‘कार्यालयले उपभोक्ताको खातामा रकम हाल्यो, चेकमा सही गराएर समान खरीद गर्ने भन्दै चेक दियौ ।’ उनीहरुले उपभोक्ता समितिलाई थाहा नदिए बोलपत्र आह्वान गरेको, उपभोक्ताको नामबाट कागज मिलार सामग्रीहरू खरिद गरेको जस्ता आरोप लगाएका छन् । कमिसनकै लागि कार्यालयले सोलार, पाइप, जाली, सिमेन्ट लगायतका सामग्री आफैले खरिद गरेको उपभोक्ताहरूको आरोप छ ।
केही आयोजना सम्पन्न हुन नसकेको कृषि विकास कार्यालयले पनि स्वीकार गरेको छ । हतारमा आर्थिक बर्षको अन्तिममा गरिएका आयोजना भएकोले भने जस्तो र स्टमेट अनुसार गर्न नसकिएकोे कार्यालय प्रमुख रविन धितालको स्वीकारोक्ती छ । ‘आयोजनाहरूका सामान खरिदमा कार्यालयले कमिसनको प्रलोभन गरेको छैन । हामीले सप्लायर्स र सोेलार कम्पनी सँग कन्टक गराईदिएका हौ । उपभोक्ता समितिलाई थाह नै नदिएर होइन समान ल्याउन सहज होस भनेर सवै ठाँउको सामान एकै पटक खरिद गरिएको हो’ कृषि विकास कार्यालयका प्रमुख रविन धितालले भने,–‘ढिलो गरी बजेट गत बैशाखमा आएको उपभोक्ता समिति गठन गरेर सम्झौता गर्दा सम्म जेठ लागेको र एक महिनामा सवै काम हतारमा गर्दा केही सामग्री अपुग भएको हो । केहीमा पानी चलेको छ केही आयोजनामा पानी चल्न बाँकी छ । यसमा हाम्रो कुनै संलग्नता छैन । प्रदेश सरकारका यी आयोजना छनौटमा प्रदेश सभा सदस्यको समेत संलग्नता रहेको छ । तर काम सम्पन्न भए नभएको बारे उनीहरुले कुनै चासो देखाएका छैनन् । उपभोक्ता समितिले पनि आयोजनालाई ठेक्का जस्तै सम्झने, श्रमदान नगर्ने र कमिशनकै चक्करमा पर्ने भएकोले गर्दा आयोजनाहरुले पुर्णता पाउन नसकेको भेरी नगरपालिका १३ का स्थानिय दीपक बटालाले बताए । कार्यालय र उपभोक्ता समितिका अध्यक्षको मिलेमतोमा आयोजना सम्पन्न नभएरै काम सम्पन्न भएको भनि फरफारक गरिएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad