दुघर्टनामा परेका कोही पनि बाँचेनन्
प्रेम रावत । दशेरा
जाजरकोटमा सोमवार भएको जीप दुघर्टनामा गंभिर घाइते भएका थप एक जनाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । जाजरकोट छेडागाड ५ का जैवान अधिकारीको उपचारको क्रममा मंगलवार विहान (राती) प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ । यो सँग दुघर्टनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जीपमा रहेको १२ जना सवैको मृत्यु भएको हो ।
घटनास्थलमा नौ जना र उपचारका लागि सुर्खेत लैजाने क्रममा दुई जना र उपचारको क्रममा अस्पतालमा एक गरी १२ जनाको मृत्यु भएको हो । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ र ५ को सिमानामा पर्ने भीरबाटी भन्ने ठाँउमा सोमवार दिउसो साढे चार बजेतिर जीप दुर्घटना भएको हो ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जीप मध्यपहाडी राजमार्गको थलह–सुयाडा सडक खण्डको भीरबाटी भन्ने ठाँउबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो । घटना लगत्तै दशेराबाट गएको प्रहरी टोली र स्थानियले उद्धार गरेका थिए । क्षमता भन्दा बढी यात्रु र तिव्रगतिमा रहेको जीप चालकको नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको प्रहरीको अनुमान छ । पाँच जनाको क्षमता रहेको गाडीमा १२ जना चढेका कारण पनि जीप अनिन्त्रित भएको हुन सक्ने स्थानिय हर्कबहादुर बुढाले बताए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका ६ थाना जाजरकोटका ४२ बर्षिय विरबहादुर खत्री, छेडागाड ५ लेवाकी २५ बर्षिय जैकुवँरा बुढा, ४० बर्षकी नैनसरा अधिकारी, ४५ बर्षका रामबहादुर बुढा, ३५ बर्षकी देवीसरा बुढा, ४० बर्षका अम्बर अधिकारी, पाँच बर्षिया निशा अधिकारी र २८ बर्षका दीपक अधिकारी रहेका छन् । त्यस्तै गाडी चालक भगवतिमाइ गाँउपालिका २ रुम दैलेख निवासी ३० बर्षका मानबहादुर रावत, भगवतिमाई गाँउपालिका ३ दैलेखका ३७ बर्षका विरेन्द्र केसी र ३६ बर्षका अम्बर बहादुर खड्काको मृत्यु भएको हो ।
मृतकको पोष्टमार्टमका लागि इलाका स्वास्थ्य चौकी दशेरा लगिएको छ । दशेरामै पोष्टमार्टम गर्नका लागि जिल्ला अस्पताल जाजरकोटबाट चिकित्सकको टोली मंगलवार विहानैै त्यसतर्फ प्रस्थान गरेको निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए ।
दैलेख भगवतिमाई गाँउपालिका ३ का विरेन्द्र खड्का र छेडागाड ५लेवाकी सम्झना विसीको विहेका लागि दुलही लिन आएको आईतवार जन्ती बोकेर आएको जीप सोमवार दुर्घटनामा परेको हो । विवाह भोज खाएपछि दुलहीका भिनाजु दीपक अधिकारी बिरामी परेपछि उपचारका लागि थलह बजार स्थित मेडिकल लिने क्रममा जीप दुर्घटनामा परेको स्थानिय प्रेम रावतले बताए । ‘वेहुलीका भिनाजु एक्कासी विरामी हुनुभयो । उहाँलाई उपचार गराउन लिने क्रममा अरू केही मानिस पनि घर फर्कर्ने भन्दै गाडीमा चढे । गाडी चढेको १० मिनेटमै दुर्घटना भयो ,’ रावतले भने, ‘पीच बाटोमा एक्कासी गाडी कसरी खस्यो भन्ने खुलेको छैन।’
यस अघि २०७१ सालमा जिल्लाको भेरी नगरपालिका भुर रावतगाँउमा बस भेरीमा खस्दा ५४ जनाको ज्यान गएको थियो भने २०७३ सालमा भेरी नगरपालिका ४ बोहरा पासागाड खोलामा बस खस्दा २७ जनाको ज्यान गएको थियो । जाजरकोटमा साँघुरो र अफ्ठयारो बाटो, थोत्रा गाडी, क्षमता भन्दा बढी यात्रु, चालकको लापरवाही आदि कारणले ठुला दुघर्टना हुने गरेका छन् ।