February 4 - 2023, Saturday२१ माघ २०७९, शनिबार

नगरपालिकाको लापरवाहीले अपाङ्ग भत्ताबाट बञ्चित

निवेदन दिएको ८ महिना सम्म पनि पाएनन् परिचय पत्र
राजेन्द्र कार्की । जाजरकोट
नगरपालिकाको लापरवाहीले एक युवक अपाङ्ग भत्ता पाउनबाट बञ्चित भएका छन् । भेरी नगरपालिका ७ रुपाकोटका २४ बर्षिय मानबहादुर वली सामाजिक सुरक्षा अन्र्तगत सरकारले दिने अपाङ्ग भत्ता पाउनबाट बञ्चित भएका हुन् ।

Swasthya sewa karyalaya, jajarkot

अपाङ्ग भत्ता पाउनका लागि सवै प्रक्रिया पुरयाएर गत बैशाखमा निवेदन दिएपनि अहिले सम्म सुनुवाई हुन नसकेको पिडित परिवारको गुनासो छ । नगर उपप्रमुखको अध्यक्षतामा रहेको अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिको बैठक बसेर अपाङ्गताको श्रेणी निर्धारण गरि निर्णय गरेपछि नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले परिचय पत्र दिने ब्यवस्था छ । सोही परिचयपत्रका आधारमा भत्ता दिने ब्यवस्था छ । तर बैशाख यता उक्त समितिको बैठक नबसेका कारण निर्णय हुन नसकेको हो । ७÷८ महिना विति सक्दा पनि बैठक बसाल्न पहल नगर्नु नगरपालिकाको गंभिर लापरवाही तथा गैरजिम्मेवारीपना भएको पिडित परिवारको गुनासो छ ।

शुरुमा उनको स्वास्थ्य अवस्था राम्रै भएपनि अहिले मानसिक समस्याले ग्रस्त उनका दुवै हातखुट्टा चल्दैनन् । ओछ्यानमै दिसापिसाब गर्छन । उनलाई स्याहार्न निकै कठिन छ बुवा कालीबहादुर वलीले भने –‘५ बर्ष जति भयो सवै हामीले नै स्याहार्नुपर्छ । दिसापिसाब गर्ने समेत थाह पाउँदैन । भत्ता पाएको भए केही राहत हुन्थ्यो कि भनेका थियौ तर निवेदन दिएको सात महिना विति सक्दा पनि कुनै सुनुवाई हुन सकेको छैन । बैठक बसेको छैन मात्र भन्छन् । बैठक किन बसाल्दैनन् । गरीव दुःखीहरुको समस्या समस्या होइन ?’।

निवेदन दिएको धेरै समय भैसक्दा पनि छोराले परिचयपत्र पाउन नसक्दा नगरपालिका प्रति बुवा कालीबहादुर निकै आक्रोशित भएका छन् ।
शुरुमा कालीबहादुरलाई छोराले भत्ता पाउँछ भन्ने थाह पनि थिएन । सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा संचालित पहुँच परियोजनाले अपाङ्ग युवक मानबहादुरलाई गाडीमा जिल्ला प्रशासन सम्म ल्याउने ब्यवस्था मिलाएर नागरिकता दिलाएको थियो । २०७८ चैत्र २९ गते नेपाली नागरिकता पाएका उनलाई वडा कार्यालय र चिकित्सकको सिफारिस सहित अपाङ्ग परिचय पत्रका लागि गत बैशाख पहिलो साता नगरपालिकामा निवेदन दिएको तर अहिले सम्म सुनुवाई नभएको पहुँच परियोजनाको फिल्ड अफिसर दिनेशकुमार चन्दले बताए । नगरपालिकामा शारीरिक तथा मानसिक अपाङ्ग युवकको परिचय पत्र बारे सोध्न जाँदा बैठक नबसेर निर्णय हुन नसकेको जानकारी दिने गरेको चन्दले बताए ।
युवकको शारीरिक र मानसिक अवस्था अनुसार उनले क बर्गको परिचय पत्र पाउँछन् । क बर्गका अपाङ्गलाई सरकारले जीवन निर्वाहका लागि तीन हजार नौ सय ९० रुपैया मासिक भत्ता दिने ब्यवस्था गरेको छ । नगरपालिकाको लापरवाहीले उनले उक्त सुविधाबाट बञ्चित हुनु परेको भेरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । उनी मात्र होइन समितिको बैठक नबस्दा उनी जस्तै ८÷९ जनाका निवेदन थन्किएका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका निमित्त प्रमुख शारदा शर्माका अनुसार बैशाखमा चुनावले गर्दा समितिका पदाधिकारीको फुर्सद नभएर बैठक बस्न नसकेको र निर्वाचन भैसकेपछि समितिका पदाधिकारीको कार्यब्यस्तताले गर्दा बैठक बस्न नसकेको हो । उनले समितिको बैठकले निर्णय गरेपछि मात्र परिचय पत्र दिन मिल्ने भएकोले बैठक नबस्दा ढिलाई भएको स्वीकार गरिन ।

समितिमा नगर उपप्रमुख अध्यक्ष, डाक्टर, प्रहरी प्रमुख, कार्यपालिकाका एक जना सदस्य, अपाङ्ग मध्यबाट ३ जना, संघसंस्थाबाट एक जना, प्रधानाध्यापकबाट एक जना गरि १३ सदस्यीय समिति रहने ब्यवस्था छ । समितिका पदाधिकारीलाई भत्ता र खाजा खर्च गरि एकै बैठकमा ४०÷५० हजार खर्च हुने भएकोले गर्दा पनि धेरै निवेदन आएपछि मात्र नगरपालिकाले बैठक बोलाउने गरेको बताईएको छ । उपप्रमुख सीता जैसीले यसबारे आफुलाई जानकारी नभएको बताउँदै तत्काल बैठक बोलाएर निर्णय गरिने बताईन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad