राजेन्द्र कार्की । जाजरकोट
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुलाई चुनाव प्रचार प्रसार गर्न भ्याईनभ्याई छ । उमेदवारहरु गाँउ गाँउ पुगिरहेका छन् । अरु भन्दा आफ्ना उम्मेदवारको पक्षमा माहोल देखाउन कार्यकर्ताहरु विभिन्न रणनिति अपनाई रहेका छन् ।
त्यस अन्र्तगत पछिल्लो समय सयपत्रीका माला उनेर उम्मेदवारको गलामा माला लगाउने होडवाजी नै चलेको देखिन्छ । खासगरी प्रतिस्पर्धि पार्टीका उम्मेदवारमा माला मोह अर्थात माला क्रेज बढेको देखिन्छ । सामाजिक सञ्जालमा पनि आफ्नो पक्षमा धेरै मास देखाउन र स्थानिय मतदाताले भब्य स्वागत गरेको देखाउन कार्यकर्ताले गाँउघरमा जताततै निशुल्क पाईने सयपत्री लगायतका फुलका माला उनेर उम्मेदवारलाई लगाउने होडवाजी नै चलेको विरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।
जनताले भन्दा कार्यकर्ताले माहोल देखाउन धेरै माला लगाईदिने गरेका छन् उनले भने ‘चुनाव नजित्दै गला भरी माला लगाएका नेता सामाजिक सञ्जालमा छाउँदा र गाँउमा हुने कार्यक्रममा माला र अविराबरण गर्दा साँचिकै चुनावको रौनक निकै बढेको देखिन्छ । यो लोकतन्त्रका लागि निकै सुखद कुरा हो ।’ नेतालाई अरु वेला जतिसुकै गाली गरेपनि गाँउमा आएको बेला स्वागत गर्नु ,उम्मेदवारका कुरा सुन्नु र आफ्ना गुनासा राख्नु राम्रो संकारको रुपमा लिनु पर्ने उनको भनाई छ । चुनावले गाँउघरमा निकै चहलपहल बढेको छ । साँचिकै पर्व आएको जस्तो अनुभुति भएको छेडागाड नगरपालिका २ का दीपक बुढाले बताए । कतै उम्मेदवारहरु स्थानिय सँगै नाचेर मन जित्ने प्रयास गरिरहेका छन् भने कतै समृद्धि र विकासका आश्वासन दिएर मत मागिरहेका छन् ।
यस अघि पैदलै हिड्नु पर्ने नेताहरु गाँउ गाँउमा गाडी पुगेका कारण प्रचारमा निकै सहजता भएको छ । प्रतिनिधी सभाका लागि एक निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र एमालेका निरज आचार्य विच नै मुख्य प्रतिस्पर्धा छ । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पनि दुवै उम्मेदवारलाई टक्कर दिईरहेका छन् । त्यस्तै प्रदेश क मा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका बेदराज सिंह र एमालेका डम्बर सिंह विच नै मुख्य प्रतिस्पर्धा छ । स्वतन्त्र उम्मेदवार कमान खड्काले पनि दुवैलाई टक्कर दिईरहेका छन् । प्रदेश ख मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजिव विक्रम शाह र एमालेका खिमबहादुर शाही विच नै प्रतिस्पर्धा छ ।