March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

अनियमितताकोे आरोपमा प्रधानाध्यापकलाई कालोेमोसो!

प्रवाह संवाददाता । जाजरकोट

विद्यालयमा अनियमितता गरेको आरोपमा जाजरकोटका एक प्रधानध्यापकलाई नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी)ले कालोमोसो दलेको छ । जिल्लाको नलगाड नगरपालिका १२ तल्लुवगर स्थित वीरेन्द्र हिमालय माद्यामिक विद्यालयका प्रधानध्यापक चन्द्रबहादुर केसीलाई अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमोसो दलेर कारवाही गरेको जनाएको छ ।

सामाजिक विकास कार्यालय मार्फत आठ कोठे भवन निर्माणमा नियम विपरीत सामाग्रीको प्रयोग गरी छानो चुहिएर भवनमा बस्न लायक नरहेको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत दुई कोठे भवन गुनस्तरहिन सामाग्रीको प्रयोग गरिएको र भवनको कार्य पुरा नभएको, नगरपालिकाको बजेटमा निर्माण शौचालय नियम अनुसार निर्माण नगरेको, प्रदेश सरकारको बजेटमा फिल्ड निर्माणको २० लाखको काम पाँच लाखमा ठेक्का दिएर १५ लाख हिनामिना गरेको अखिल क्रान्तिकारीको आरोप छ ।

त्यस्तै, कक्षा ६ देखि १२ सम्मको विद्यार्थीको लागि विज्ञान सामाग्री खरिदको दश लाख, कर्णाली प्राविधिक विद्यालयबाट प्राप्त १५ लाखको कुनै पनि सामाग्री खरिद नगरी प्रधानाध्यापकले व्यक्तिगत घर निर्माण गरेको, त्यस्तै, ३२ लाखको आईसिटी वापत प्राप्त रकम हिनामिना, छोटो अवधिको तालिम संञ्चालन वापत कृर्ते हस्ताक्षर गरी रकम हिनामिना, आ.व. २०७२÷०७३ देखि यताको छात्रबृत्ति, पाठ्यपुस्तकको रकमको हिनामिना, विगत पाँच बर्ष देखि नगरपालिकाबाट आएको रकम कुनै काम नगरेको, कक्षा ११ र १२ को शिक्षक दरबन्दी हुदाँपनि प्रति विद्यार्थी बार्षिक ७ हजार ५ सयका दरले शुल्क असुलेको, निःशुल्क शिक्षाको व्यवस्था हुदाँपनि प्रति विद्यार्थी भर्ना शुल्क एक हजारको दरले शुल्क असुलेको, विदेशमा काम गर्न गएका विद्यार्थीहरुबाट एक हजारको दरले रकम असुली फर्जि विद्यार्थी बनाई कक्षा ११ र १२ कक्षाको प्रमाण पत्र दिने गरेको आरोप लगाईएको छ ।

विद्यालयको मुद्दती खातामा रहेको आठ हजार विउ कोष निकालेर हिनामिना गरेको, शिक्षक बृत्ति विकासमा अवरोध खडा गरेको, धार्मिक महोत्सवबाट उठेको सात लाखको कुनै काम नगरेको, सरोकारवालाहरुबाट प्रति प्रमाण प्रत्र तिन हजारका दरले कक्षा १०, ११ र १२ का तिन सय ७० जना विद्यार्थीहरुबाट रकम असुली गरेको एकै समयमा तिन शिर्षकमा भत्ता लिने जस्ता विविध विषयमा चरम अनियमितता गरेको भन्दै अखिल ( क्रान्तिकारीले) केसीलाई कालोमोसो दलेको ईन्चार्ज विराज शाहीले जानकारी दिए ।

विद्यालयमा पटकपटक ध्यानआकर्षण गराउँदा समेत नमानेपछि कालोमोसो दलेर कारबाही गर्नु परेको उनले बताए । यो विद्यालय सदरमुकाम खलंगाबाट २२ कोष टाढा पर्छ । प्रधानाध्यापक सँग सम्पर्क गर्न खोज्दा टेलिफोन सम्पर्क हुन सकेन । चन्दा नदिएको आरोपमा उनीहरुले कालोमोसो दलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले कानुन हातमा लिएर विद्यालयका प्रधानाध्यापकलाई हातपात र अभद्र ब्यवहार गर्नेलाई खोजी भैरहेको जनाए । जाहेरी नपरेपनि सामाजिक सञ्जालमा आएको कुराका आधारमा प्रधानाध्यापक सँग सोधपुछ गर्दा नचिनेका केही मान्छे आएर विद्यालयमा हाम्रो कार्यक्रम छ भने त्यसपछि एक्कासी मोसो दलेर हातपात गरेर फर्किए म कोहीलाइ चिन्दिन भनेर बताएको डिएस्पी थापाले बताए । प्रत्यक्षदर्शीका अनुसार अखिल क्रान्तिकारीका विद्यार्थीहरु नसचिए भौतिक कारवाही सम्मको चेतावनी दिएर फर्किएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad