March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

बैकमा भीडःभत्ता लिन सकस

राजेन्द्र कार्की । जाजरकोट

भेरी नगरपालिका ६ गंगटियाका खोरे लोहार शारीरिक रुपमा असक्त छन् । उनको गाँउबाट सदरमुकाम आउन करीव पाँच घण्टा समय लाग्छ । आफै हिड्न सक्दैनन् । यातायातका साधन चल्दैनन् । सामाजिक सुरक्षा भत्ता बुझ्न उनी अरुकै साहारामा सदरमुकाम आइपुगेका छन् । तर बैकमा भीड निकै छ । उनको अवस्था बारे कसैलाई मतलब छैन । उनी बुधवार नेपाल बैक लिमिटेडमा लाइनमा बसेको तीन घण्टा भैसक्यो अझै पालो पाएका छैनन् । भन्छन् सरकारले दिएको भत्ता लिन पनि निकै सास्ती खेप्नु पर्यो । यसरी दुःख पाउनु भन्दा घरमै भत्ता बाँड्ने ब्यवस्था भैदिएको भए हामी जस्ताको लागि निकै वेस हुन्थ्यो उनले भने ।

उनी सँगै सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम आएका सोही गाँउका जीते लुहारको पिडा पनि उस्तै छ । बैकमा निकै भिड छ । हाम्रो कुरा कसैले सुन्दैन । असार मसान्त भएकोले पनि यतिवेला बैकमा निकै भिड छ । सामाजिक सुरक्षा भत्ता पनि आठ महिना पछि यतिवेलै निकासा भएका कारण सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई निकै सकस परिरहेको छ । कतिपयको हस्ताक्षर नमिल्ने, कतिपयको बैक खाता खोल्नु पर्ने तथा अध्यावधिक गर्नु पर्ने, कतिपयको अरुले निकालेर विचमै रकम हिनामिना गरिदिने भएकोले स्वयम ब्यक्ति आफै आएर रकम भुक्तानी दिने गरिएको हो । यस अघि वडा सचिव मार्फत घर घरमै भत्ता वितरण गर्ने गरिएकोमा ब्यापक हिनामिना भएपछि भेरी लगायतका स्थानिय पालिकाले सम्बन्धित ब्यक्तिको खातामा जम्मा गर्ने प्रणालीको विकास गरिएको भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दलबहादुर घर्तीले बताए ।

वडा सचिव मार्फत विवरण गर्दा मरेका मान्छेको पनि लगत कट्टा नगर्ने, अरुले नै किर्ते हस्ताक्षर गरेर रकम खाइदिने समस्या आएपछि बैक खातामा रकम जम्मा गर्ने गरिएको हो । त्यस्तै सरकारले पाँच बर्ष मुनिका बालबालिकालाई दिने पोषण भत्ता भेरीमा एक बर्ष देखि पाउन सकेका छैनन् । तर प्रमुख प्रशासकिय अधिकृत घर्तीले रकम निकासा भैसकेको र जन्मदर्ताको आधारमा बैक खाता खोल्ने कार्य भैरहेकोले केही ढिलाई भएको बताए ।

बैकमा रकम अभाव

कृषि विकास बैक जाजरकोटमा रकम सकिएको छ । रकम अभाव भएपछि एक लाख पचास हजार भन्दा बढीका चेक साटिन छाडेका छन् । जुनीचाँदे गाँउपालिकामा बैक नभएका कारण सामाजिक सुरक्षा भत्ता एक मुष्ट निकालेर सम्बन्धित ब्यक्तिलाई बाँड्नका लागि रकम निकाल्न सदरमुकाम आएका गाँउपालिकाका नायव सुब्बा दीपक बोहरा समस्यामा परेका छन् । गाँउपालिकाले ४८ लाखको चेक दिएकोमा रकम नभएर पाउन नसकेको वोहराले गुनासो गरे । एक दिनमा डेढ लाख भन्दा बढी पैसा दिदैन । बैकमै पैसा छैन भन्छ । उता सामाजिक सुरक्षा भत्ता पाउनेहरु आर्थिक बर्ष सकिन लाग्न पनि नपाएपछि निरास भएका छन् । लामो समय देखि भत्ता नपाउँदा धेरैलाई जीवन निर्वाहमा समेत समस्या परिरहेको छ । असार मसान्तमा जिल्लाभरका सवै आयोजनाको भुक्तानी हुने भएकोले पनि बैकमा निकै भीड छ । एउटा चेक साट्न कम्तिमा पाँच घण्टा लाइनमा लाग्नु पर्ने जुनीचाँदे ११ का राज बहादुर शाहीले बताए । अन्य पालिकाका केन्द्रमा बैक पुगेपनि जुनीचाँदे गाँउपालिकामा बैक नहुँदा सामान्य चेक साट्न पनि दुई दिन पैदल हिडेर सदरमुकाम आउनु पर्ने बाध्यता हट्न सकेको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad