March 29 - 2024, Friday१६ चैत्र २०८०, शुक्रबार

जाजरकोट तोकिएको सडक डिभिजन चौरजहारीमै कायम

राजेन्द्र कार्की । जाजरकोट

चार जिल्लाको काम गर्ने गरि जाजरकोटमा तोकिएको सडक डिभिजन कार्यालय अन्ततः पश्चिम रुकुमको चौरजहारी कायम भएको छ । नेताहरुको उदासिनताका कारण संघिय सरकारले जाजरकोट तोकेको कार्यालय समेत चौरजहारी सरेको हो । जाजरकोटका नेताहरुको उदासिनताको फाइदा उठाउँदै पश्चिम रुकुमका नेताहरुको दवावमा चौरजहारीमा नै स्थायी रुपमा सडक डिभिजनको कार्यालय कायम भएको हो । यस अघि चौरजहारीमा रहेपनि जाजरकोट भनिदै आएको सडक डिभिजन कार्यालय अव देखि स्थायी रुपमै चौरजहारीमै राख्ने निर्णय भएको सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त डिभिजन प्रमुख धुव्रकुमार झाले बताए ।

कुनै समय जाजरकोटको भेरी नगरपालिका बोहरागाँउमा स्थापना भएको सडक डिभिजन कार्यालय केही समय बसेर चौरजहारी सरेको थियो । अहिले पनि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगतका रातो कितावमा चारै जिल्लाका आयोजनाको अख्तियारी जिल्ला भनेर जाजरकोट नै तोकिएको छ । जाजरकोट, पश्चिम रुकुम, पुर्वी रुकुम र डोल्पा जिल्लामा पर्ने आयोजनाहरु यही कार्यालयले हेर्ने गरेको छ । चारै जिल्लाको विच भाग सेन्टरमा पर्ने भएकोले जाजरकोट तोकिएपनि राजनैतिक खिचातानीले गर्दा मुख भित्र पसिसकेको खाना पनि फुत्किए जस्तै भएको छ भेरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले भने हामीले बारम्बार जाजरकोटमा सडक डिभिजनको कार्यालय स्थापनाका लागि माग गर्दा पनि नेतृत्वमा रहेकाले सुनेनन् । यस कुराको दिर्घकालिन असर पछि थाह पाउँछन् उनले भने । डिभिजन कार्यालय जिल्लामा नहुँदा कार्यालय सँगको पहुँच टाढा भएको छ भने आयोजना छनौट, मर्मत लगायतमा समेत जिल्लाको प्रभाव विस्तारै घट्दै जाने स्थानियको बुझाइ छ ।

सडक डिभिजनको कार्यालय चौरजहारी तोकिएपनि निकासा भने कोष तथा लेखा नियन्त्रकको कार्यालय जाजरकोटमै आउने गरेको छ । चौरजहारीबाट सबैभन्दा नजिक पर्ने भएकोले कोलिनिका जाजरकोटबाटै निकासा माग गर्ने गरिएको डिभिजन प्रमुख झाले बताए । निकासा माग जाजरकोट कोलेनिकाबाट हुने भएकोले सरकारको रातो कितावमा समेत अख्तियारी जिल्ला भनेर जाजरकोट तोकिएको झाले स्पष्ट पारे । जाजरकोटमा रहने कि चौरजहारी रहने भन्ने विवाद भने टुङ्गिएर चौरजहारी नै कायम भएको उनले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad