March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

पाटनमा बेपत्ताको हवाइ उद्धारका लागि अनुरोध

राजेन्द्र कार्की । जाजरकोट

जुम्ला र जाजरकोटको सिमाना कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा गोठालो गएको बेला हावाहुरी चलेर बेपत्ता भएका सात जनाको हवाइ उद्धार गर्न सरकार सँग अनुरोध गरिएको छ । घरपालुवा गाइ, भैसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका ८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्य सात जना बेपत्ता भएको र प्रतिकुल मौसमका कारण स्थल मार्गबाट खोजी गर्न कठिनाइ भएपछि स्थानिय प्रशासनले हवाई उद्धारका लागि नेपाल सरकार गृह मन्त्रालयमा अनुरोध गरेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बेपत्ताको खोजीको लागि गएका स्थानिय बासिन्दा र प्रहरी घटना स्थल भन्दा तलको ओडार सम्म पुगि लेक लाग्नुका साथै चिसोले कठ्याङ्गिएर घटना स्थल सम्म पुग्न नसकेको र अन्य उद्धारका लागि बैकल्पिक माध्याम नभएकोले हवाई उद्धारको ब्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।
हावाहुरी सहितको पानी पर्न थालेपछि चार जना भागेर ज्यान जोगाएका छन् भने अन्य सात जना चार दिन देखि सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्र्हरी नायव उपरीक्षक मधुकुमार थापाका अनुसार बेपत्ता हुनेमा कुशे गाँउपालिका ८ औलरिजाका ३५ बर्षिय डिलबहादुर खड्का, २५ बर्षिय विक्रम खड्का, २८ बर्षिय चन्द्रा खड्का, १८ बर्षिय भविन्द्र खड्का, १२ बर्षिय भीमबहादुर खड्का, १७ बर्षिय धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का ४० बर्षिय कृष्ण रोकाय रहेका छन् । हावाहुरीकै विच भागेर चार दिन पछि विहिवार घर फर्किएका कुशे ९ पैकका भक्तबहादुर रोकायले पशुबस्तु लिएर पाटन पुगेको बेला एक्कासी आएको हावाहुरी सहितको बर्षातले सँगै गएका सात जना हराएको बताएका छन् । उनले घटना सम्झदै भने– ‘पहिला ११ जना र पशु बस्तु सँगसँगै थियौ । एक्कासी उडाउला जस्तो हावाहुरी आयो । को कता गए पत्तै भएन । हावाले म लगायतका साथीहरुलाई लडायो । लड्दै पडदै आफु पाटन देखि तल आइपुग्दा अरु तीन जना सहित चार जना मात्र सम्पर्कमा आयौ । अन्य साथीहरुको बाटो कुरयौ । फर्केर खोजी गर्न जान सक्ने अवस्था थिएन । हावाहुरीले कता बेपत्ता बनायो, थाहै भएन ।’
पानी परेपछि पाटनमा निकै चिसो बढेको छ । लेक तिर हिमपात भैरहेको छ । हामीले गाँउलेलाई साथीहरु हराएको खवर गरिदिएपछि खोजी गर्न पाटन तर्फ गएको उनले बताए । उनका अनुसार २२ गाइ, ५० बाख्रा र १० भैसी समेत सम्पर्क विहिन भएका छन् । ति पशु चौपाया र गोठालालाई हावाहुरीले उडाएको उनको आशंका छ । यतिवेला सयौ पशु चौपाया चरणका लागि पाटन लग्ने गरिन्छ । रोकाय सहित सोही ठाँउका इश्वर रोकाय, दुर्गा रोकाय र गंगा खड्का भने घर फर्किएका छन् । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पैकबाट गएको प्रहरी टोली प्रतिकुल मौसमका कारण घटना स्थल पुग्न सकेको छैन । खोजी कार्यका लागि सदरमुकाम खलंगाबााट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीको नेतृत्वमा एक टोली घटनास्थल तर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताए । त्यस क्षेत्रमा सञ्चार सम्पर्क गर्न नमिल्ने भएकोले खोजी कार्य थप जटिल बनेको थापाले बताए । जलजला पटन पैदलै दुई दिन पछि मात्र पुग्न सकिन्छ । यो पाटन जाजरकोट र जुम्लाको सिमाना हो । यहाँ यो मौसममा अध्याधिक हावाहुरी चल्ने गर्दछ । गोठाला गएका बेपत्ता भएका चार दिन विति सक्दा पनि सम्पर्कमा नआएपछि आफन्त र गाँउले चिन्तित भएका छन् । उक्त क्षेत्र चार हजार ६ सय मिटर उचाइमा पर्छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad