June 18 - 2021, Friday४ असार २०७८, शुक्रबार

जाजरकोटमा पाँचौ पटक थपियो लकडाउन

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा पाँचौ पटक निषेधाज्ञा (लकडाउन)को अवधी पुनः जेठ मसान्त सम्म थप गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गैरहेको र अझै नियन्त्रणमा आउन नसकेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आगामी जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यस अघि बैशाख १८ गते शनिवार राति १२ बजे देखि लागु हुने गरि पहिलो पटक एक साताका लागि बैशाख २५ गते सम्म, दोस्रो पटक जेठ १ सम्म, तेस्रो पटक जेठ १५ गते सम्म र चौथो पटक जेठ २२ गते सम्मका लागि निशेषधाज्ञा गरिएको थियो । संक्रमण दर नरोकिएपछि शुक्रवार बसेको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले शनिवार राती १२ बजे देखि लागु हुने गरि पुनः एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को संक्रमण फैलावटको साङ्गलो तोड्न, संक्रमणको जोखिम नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम निषेधाज्ञाको अवधी बढाइएकोे हो ।

बैक तथा वित्तिय सेवा, सवारी साधन, पसल, ब्यवसाय संचालन र आवश्यक काम बाहेक हिडडुलमा समेत निषेध गर्ने गरि आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए । विवाह, बर्तबन्ध, मत्यु संस्कार लगायतमा १० जना भन्दा बढी जम्मा हुन नपाइने भएको छ । तर औषधी तरकारी, खाद्य, दुध र ग्याँसका पसल भने विहान ६ बजे देखि ९ बजे सम्म संचालन गर्न दिईने प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख छ ।

साथै एटिएम सेवा र एम्बुलेन्स लगायतका सेवा भने सुचारु हुनेछन् ।सरकारी कर्मचारी भने पोशाक सहित कम्तिमा एक चौथाइ उपस्थित हुने गरि आलोपालो गरेर कार्यालय खोल्नु पर्ने उल्लेख गरिएको छ । पत्रकारको हकमा भने सुचना विभागले जारी गरेको प्रेस पास वा सम्बन्धित मिडियाको परिचय पत्रका आधारमा रिपोटिङ्ग गर्न दिईने भएको प्रजिअ देवकोटाले बताए । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या चार सय ४ रहेको छ भने कोरोना मुक्त हुनेको संख्या ९ सय ८१ रहेको छ । हाल सम्म कोरोनाका कारण जिल्लामा तीन जनाको ज्यान गएको छ ।

Prabaha