April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

अक्सिजन प्लान्ट निर्माण नगर्ने सप्लायर्सलाई कारवाहीको तयारी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोट अस्पतालमा जडान गर्ने भनिएको अक्सिजन प्लान्ट निर्धारित समय विति सक्दा पनि जडान नभएपछि ठेकेदार कम्पनीलाई कारवाहीको तयारी गरिएको छ । अक्सिजन प्लान्ट निर्माण गर्ने ठेक्का सम्झौता गरेको नेपटेक मेडिकल सप्लायर्स काठ्मान्डौलाई कारवाहीको तयारी थालिएको हो ।

४५ दिन भित्र अर्थात जेठ १५ गते भित्र अक्सिजन प्लान्ट जडान गर्ने ठेक्का सम्झौता गरेकोे उक्त सप्लायर्सले सम्झौता म्याद सकिएपनि काम गर्न नसकेपछि सप्लायर्सलाई कालो सुचीमा राखेर धरौती जफत गरि ठेक्का सम्झौता तोड्ने सम्मको कारवाहीको प्रक्रिया बढाउन थालिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएकोे छ ।

तर सप्लायर्सले म्याद सकिनु भन्दा एक दिन अघि अर्थात गत जेठ १४ मा पत्र पठाएर कोरोना महामारी र लकडाउनका कारण समयमा काम गर्न कठिन भएको भन्दै १५ दिन थप समयका लागि माग गरेको छ । कार्यालयले भने ५ दिनको म्याद थप गरेको छ । स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक टीकाराम जैसीले ठेक्का सम्झौतामा नै निर्धारित समय भित्र काम सम्पन्न हुन नसके बढीमा ५ दिन समय थप गर्न सकिने उल्लेख भए अनुसारको समय थपिएको बताए । उक्त समय पनि गुज्रिन थालेको तर सप्लायर्सले अझै १० दिन म्याद थपिदिन आग्रह गरिरहेको उनले बताए । तर सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले अक्सिजन प्लान्टका लागि आवश्यक उपकरण तथा सामग्रीहरु भारतमा अर्डर भैसकेकोले जसरी पनि यो महिनाको अन्तिम सम्म जडान गर्ने प्रतिवबद्धता जनाउँदै कारवाही प्रक्रिया अघि नबढाउन आग्रह गरेको निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक जैसीले बताए ।

 

थपिएको म्याद पनि विहिवार सकिदैछ अव के गर्ने भन्ने बारे प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला सँग परामर्स गरेर निर्णय गरिने उनले बताए । जनप्रतिनिधी, स्थानिय प्रशासन लगायतले तत्काल कारवाही गर्न कार्यालयलाई दवाव दिइरहेका छन् । यदि कारवाही गरि ठेक्का सम्झौता रद्द गरि पुनः टेण्डर गरेपनि तत्काल अक्सिजन प्लान्ट जडान गर्नको लागि सप्लायर्सहरु बर्तमान असहज परिस्थितिका कारण सहजै तयार नहुन सक्छन् । त्यहि भएर यदि यो महिना भित्रै सामग्री ल्याएर जडान गर्ने विश्वासिलो आधार तयार भए नेपटेक मेडिकल सप्लायर्सलाई नै म्याद थप गर्ने कि भन्ने बारे पनि छलफल भैरहेको छ ।

समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना संक्रमण भइ अक्सिजन दिनु पर्ने विरामीलाई समस्या भएको हो । जाजरकोट अस्पतालका मेडिकल अधिकृत अमिन शाहले भने–‘अक्सिजन प्लान्ट जडान नहुँदा खाली सिलिन्डर नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ । सिलिन्डर पठाउन, भर्न र ल्याउन पनि उत्तिकै समस्या छ ।’

पहिलेको तुलनामा कोभिडका अक्सिजन दिनु पर्ने विरामी घटदै गएका छन् तर जिल्लामा सिलिन्डर भर्न मिल्ने गरि स्थापना गर्न थालिएको अक्सिजन प्लान्ट जडान ढिलाईले थप समस्या परेको अस्पतालका मेडिकल अधिकृत डा. शाहले बताए । उनले भने–‘जिल्लामै अक्सिजन प्लान्ट भएको भए उपचारमा निकै सहज हुने थियो ।’

अक्सिजन प्लान्ट जडानको जिम्मा लिएको नेपटेक मेडिकल सप्लायर्सका प्रोपराइटर नरबहादुर लिम्बुले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दोस्रो लहर तिव्र गतिमा बढ्दै गएकोले काम गर्न असहज अवस्था आएको बताए । भारतमा समानको अर्डर भैसकेको छ । अवस्था सहज भए १० दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने उनको दावी छ । कार्यालयका अनुसार चैत्रको अन्तिम साता करीव ३६ लाख रुपैयामा ४५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्ने गरि सम्झौता भएको हो । सम्झौता अनुसार उनले जेठ १५ भित्र काम सक्नु पर्ने थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक बर्षको शुरु भएको केही महिनामै बजेट आईपुगेको भएपनि टेण्डर खोल्न ढिलाइ गर्दा समस्या भएकोे हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad