June 18 - 2021, Friday४ असार २०७८, शुक्रबार

आफ्नाबारे आफैंले यस्तो लेखेका थिए उज्वलले

नमस्ते ! मेरो नाम उज्वल हो। म नेपालको राजनीतिक, सामाजिक र आर्थिक वातावरण सुधार्न नेपालीहरुलाई संगठित गर्दैछु र यसको लागि चाहिने नेतृत्वहरु बनाँउदैछु। हाम्रो देशको लागि मेरो दुरदर्शिता यहाँ पढ्नुहोस्। धन्यवाद !

यो रह्यो मरो छोटकरीमा कहानी। सारांशमा भन्नुपर्दा म एस्ट्रो फिजिक्स पढ्न अमेरिका गएको मान्छे, एक वेबसाइट बनाउने डिजाइनर (कलाकार) भएर फर्कें।

जिन्दगीदेखि वाक्क भएर भिक्षु बन्छु सोचेको थिएँ तर उद्यमी बन्न पुगेँ। अरुसँग टाढा एक्लै बस्न रुचाउने म, अहिले हजारौँलाई एउटै सामूहिक सन्जालमा ल्याउँदैमा व्यस्त छु।

अहिले नेपालको यो गाह्रो परिस्थितिमा म नेपालीहरुलाई कसरी एक बनाई देशलाई समृद्ध बनाउनको निमित्त राजनीतिबाटै नेपालीहरुलाई निकास दिनुपर्छ भनेर विवेकशील नेपाली नामक नवीन राजनीतिक शक्ति बनाउन कम्मर कसेको छु, सयौँ सक्षम युवा तथा अग्रज साथीहरुसँग मिलेर।

मलाई मेरा नजिककाले एक म्याभरिक (अपरम्परागत विद्रोही स्वभावको) भनेर पनि चिन्छन्। कसरी भन्नु होला? एउटा उदाहरण दिउँ –कुरा ११ कक्षाको हो। म त्यतिबेला बूढानीलकण्ठ स्कुलमा पढ्थेँ। वर्षको अन्तिममा अंग्रेजी साहित्य विषयको जाँच दिँदै थिएँ। प्रश्नले भन्न खोजेको उत्तर राम्ररी व्यक्त गर्न सकिन। अनि किताब अरुले जस्तो घोकेको पनि थिइन। के गरुँ गरुँ भयो। म त्यस बेला केही नभए पनि कार्टुन बनाउन चाहिँ निपुण थिएँ। अनि निधो गरेँ, लेखेर भाव व्यक्त गर्न आएन त आएन, बरु कार्टुन बनाएर नै त्यसको उत्तर दिनसक्छु जस्तो लाग्यो। अनि आफ्नो उत्तरपुस्तिकामा मज्जाले हरेक प्रश्नको उत्तर कार्टुन बनाएर दिन थालें।

सँगै जाँच दिँदै गरेका साथीहरु ठूल्ठूला आँखाले हेर्न थाले, लौ उज्वले त बौलायो भनेर। मचाहिँ मज्जाले जे होला होला भनेर कार्टुन कोर्दै बसें, पान्ना मागी मागी। कार्टुनका बीच बीचमा केही शब्दहरु पनि हालें यसो बुझाउनको लागि। पक्का थाहा थियो कि जाँच्ने जोकोहीले पनि मलाई अवश्य फेल गरिदिन्छ। तै पनि जोखिम उठाएँ। जे होला होला भनेरर। उता वरिपरि जाँच दिइरहेका सबै साथीहरुले त आफ्ना उत्तर लेख्न छाडेर मलाई नै हेरिरहेका थिएँ। भान पर्थ्यो उनीहरुको दिमागमा यही थियो होला, “लौ हाम्रो उज्वले त खुस्किएछ।”

केही महिनापछि बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट यसको रिजल्ट निस्किएर नेपाल पठाए।  हामी सबैले आआफ्नो मार्कसिट हेर्‍यौँ। हेर्नु अगाडि केहीले मलाई खिसी गरे, अंग्रेजीमा त गोल खाइहाल्छस् कि कसो उज्वले।

अनि यसो हेरेँ आफ्नो मार्कसिट। खितिखिति मनदेखि नै हासोँ लाग्यो। आधाभन्दा बढी साथीहरुलाई मैले जितेंछु। सबै मुर्छै परे। ‘अंग्रेजी साहित्यमा कार्टुन बनाएर आधा भन्दा साथीहरुलाई जितेको’ कुरा पत्याउने कि नपत्याउने। किन? कसरी? अहिलेसम्म थाहा पाइएन तर आज पनि स्कुलका साथीहरु भेट्यौँ भने त्यहि कुरा निकाल्छन्। पछि यहिँबाट म अमेरिकामा छात्रवृत्तिका साथ पढ्ने मौका पनि पाएँ । जे हुन्छ राम्रै हुँदो रहेछ।

म भागवत गीतामा भनेझैँ ‘कर्मयोगी’ हुनुमा पूर्ण विश्वास गर्छु। मलाई चाहिँ अलि गाह्रो कर्म दिएको जस्तो लाग्छ भगवानले। मेरो कर्म चाहिँ अरुको दिमाग घोची राख्ने। अंग्रेजीमा प्रोभोक गर्ने भन्छन् क्यार यसलाई।  “अहिले नगरे कहिले, हामीले नगरे कसले” म सबैलाई यही भन्छु र देखाएर धकेल्छु। म यो विचार राख्दछु–

“हामीले यो धर्तीमा आएपछि केही गरेरै जानपर्छ। हामी हरेकले आआफ्नै एउटा विशेष कर्तव्य बोकेर आएको हुन्छौँ। यदि त्यसो गरेनौं भने जिन्दगी अधुरै भएर भौंतारिदैँ हिड्छौँ।”

जिन्दगीमा नपत्याउने खोलाले नै बगाइराख्दो रहेछ। जब म करिब २१ वर्षको थिएँ, अर्को मोड आयो जिन्दगीमा। म अमेरिकामा कलेज पढदै थिएँ तर मलाई यो मटेरलिस्टिक (भौतिकवादी) जीवनदेखि वाक्क भएँ र आफू अब एउटा जेन बुद्धधर्मी भिक्षु बनेर जीवन बिताउँछु भन्ने मनमा दरो सोच आयो। अनि त्यहि सोचलाई आत्मासत् गर्दै म अमेरिकाको स्यान फ्रानसिस्को भन्ने सहर पुगेँ एक्लै। सबै कुरा मिलाएर गएको थिएँ त्यहाँ भएको एउटा भिक्षु संगठनमा दुई चार वर्ष ध्यानमा बस्नको लागि।

दिउँसो पुगेँ म त्यहाँ तर रातभरसम्म पनि त्यो ठाउँ खोज्छु मरे फेला पार्न सकिन। फोन गरें, उनीहरुले देखाएकै ठेगानामा पुगें, मानिसलाई सोधें। अहँ, त्यो ठाउँ भेट्टाउनै सकिन बा। शायद यो पनि एउटा संकेत रहेछ माथिबाट। रातिको ९ बजेसम्म खोज्दा पनि नभेट्टाएपछि हार खाएर त्यहाँबाट फर्कें। फर्क्या फर्कै भएँ।  भिक्षु नबने पनि पनि मैले त्यही दर्शन अनुरुप एक साधा जीवन बिताउने कोशिश गरी नै रहेको छु।

म अमेरिकामा एस्ट्रो फिजिक्स (खगोल तथा भोतिक विज्ञान) पढ्न गएको मान्छे, एउटा सिर्जनशील सूचना प्रविधिमा काम गर्ने डिजाइनर बनेर निस्केँ। उद्योगको “उ” पनि नआउने मान्छे, अहिले १० वर्ष भयो सानो उद्योगधन्दा चलाइराखेको छु। त्यहाँ कलेजमा हुँदा काम नपाएर ३–३ महिना साथीहरुकोमा बास लिँदै हिँडियो। न्युयोर्कको बाटैमा पनि सुतियो। कति साथीहरुले त लुकाएरै राखे आफ्नो कलेजभित्र। अमेरिका पाँच वर्षपछि वाक्क लाएर आफ्नै देश फर्कने निधो गरेँ।

सबैको आफ्नै ठाउँ हुन्छ क्यारे मेरोचाहिँ नेपाल नै रहेछ आखिर। आएपछि पनि आफूले पढेको भन्दा समाज सेवातिर नै आकर्सित भएँ अनि द्वन्द रुपान्तरणको शिक्षक हुन ट्रेनिङ लिएँ। त्यसपछि द्वन्द व्यवस्थापन सिकाँउदै जाँदा नेपालको भिषण गृहयुद्धको मूल ठाउँ रोल्पासम्म पनि पुगेँ, त्यहाँ त्यसबेला द्वन्दरत पक्षहरुबीच संवाद कसरी गर्ने भनेर सिकाउनको लागि। शायद उनीहरुले भन्दा म आफैंले बढी सिकेँ कि नेपालको जटिल परिष्थितिको बारेमा।

सन् २००३ को पहिलो दिनमै डिजिटल म्याक्स सलुसन्स (डिएमएस) भन्ने सूचना प्रविधिको एउटा सानो घरेलु उद्योग खोलेँ। मेरो विचारमा यस कम्पनीले देशको अर्थतन्त्रलाई खासै ठूलो योगदान पुर्याउन सकेको छैन तर नेपालमा सूचना प्रविधिको उद्योग स्थापना गर्न र फस्टाउन ठूलो मद्दत पुर्याएको छ। सयौँ नेपाली युवाहरुलाई उनको पहिलो रोजगार दियो, जसले गर्दा पछि उद्यमी बनाउन पनि मद्दत गरेको छ। त्यसमाथि नेपालमा सूचना प्रविधिको उद्योग स्थापना गर्न र फस्टाउन ठुलो मद्दत पुर्याएको छ। यसमा चाहिँ मलाई निकै गर्व छ। पछिल्लो समयमा गन्दा यस कम्पनीका भूतपूर्व कामदारहरुले २० वटाभन्दा बढी उस्तै काम गर्ने कम्पनीहरु खोलिसकेका छन्। सबैसँग सुमधुर सम्बन्ध छ र धेरैसँग त सहकार्य समेत गरिरहेका छौँ।

यसरी यताउता गर्दै अहिले आएर करिब १०,००० उद्दमशील नेपालीहरुको सञ्जाल “आन्ट्रोप्रनियोर्स फर नेपाल” नेपालको लागि उद्योगी पनि खडा गर्न सकियो। यसको पछाडि पनि एउटा सानो रोचक कथा छ।

२००८ मा एउटा साथीको घरमा सानो जमघट थियो। विभिन्न देशबाट फर्किएका नेपालीहरु भेटियो त्यहाँ। प्रसङ्गमा के निस्कियो भन्दा हामी नेपालमा आफैं केही गर्न खोज्नेहरुको दुःखसुख पोख्ने र सुनिदिने कुनै जमात नै छैन। अनि कसैले ‘तपाईहामी नै शुरु गरौँ न त यसो दुःखसुख पोख्‍ने समूह एउटा क्याफेमा भेटेर भए पनि’ भन्ने ठट्टा गरे जसलाई ३ जना पटमूर्खले आत्मसात् गरे। उनीहरुले ठट्टा गरेको वा चिया गफ गरेको नबुझेर हो कि क्या हो, हामी ३ साथी केही दिनमै गएर एउटा क्याफेमै भेट्यौँ– अनि तुरुन्तै शुरु भयो, “आनट्रोप्रनियोर्स फर नेपाल।” जब भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ दाइभाउजूलाई निम्त्यायौँ, हामी केवल ७ जना आएका थियौँ। अहिले ४ वर्षमा हाम्रो सन्जालमा ४० भन्दा बढी देशबाट १०,००० उद्यमशील नेपालीहरु आवद्ध छन्। हेरक महिना सयौँको संख्यामा हामी भेट्छौँ अनि एक अर्कालाई मद्दत गर्छौँ प्रत्यक्ष–अप्रत्यक्ष रुपमा।

बिचित्रको हाईरार्की नभएको मन्च बनेको छ यो आनट्रोप्रनियोर्स फर नेपाल। यसले सयौँ उद्यमशील नेपालीहरुलाई उद्योग खोल्नतिर प्रेरणा, सीप र माहोल बनाइदिएको छ। यसको सफलता हेर्दा के लाग्छ भने राम्रो मान्छेहरु नेपालमा धेरै छन् तर उनीहरुको सन्जाल बनेको रहेनछ र कोशिश गरियो भने अवश्य पनि राम्रा हरुको सन्जाल छिट्टै र फराकिलो बनाउन सकिँदो रहेछ। नेपालको प्रगति नै राम्रो मान्छेहरुको सन्जाल कति बलियो बनाउन सकिन्छ मै भर परेको छ जस्तो भान लाग्छ।

म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु। एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिन म। त्यसैले होला चाहे त्यो कफी खेतीतिर होस्, वा पर्यटकहरुलाई नेपालमा मद्दत हुने लेखहरु लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य गरेर होस्  वा सूचना प्रविधिमा लागेर होस् म ठाउँ–ठाउँमा हात हालिरहन्छु।

हो, आफूमा धेरै ठूला ठूला कमजोरीहरु छन्। म ठाडो छु, अजकल्टो छु, लिँडेढिपी गर्छु। रिसाहा पनि छु, कति ईष्टमित्रले त असामाजिक पनि भन्छन्। मलाई कसैले यसो गर, उसो गर, यता जा, उता जा, यता हिँड, यता नहिँड भनेको पटक्कै मन पर्दैन। त्यसैले होला यो नेपाल बन्द जवरजस्ती गर्ने प्रथादेखि घृणा लाग्छ मलाई। नेपाल बन्द प्रथाले आफ्नै देशमा निर्धक्कसँग हिँड्न पाउने मेरो जन्मजात अधिकार खोस्न खोजेको भान परेको छ मलाई। त्यसैले अत्ति भो भनेर हामी साथीहरु मिलेर एउटा बन्दविरुद्धको समूह शुरु गर्यौँ  २०१० को अन्तिमतिर।

यसको मुख्य उद्देश्य नै बन्दको बिरुद्ध साधारण नेपालीहरुलाई निडर बनाउने हो र नेपाल “खुल्ला” छ भन्ने आभाष दिलाउने हो। त्यसैले अहिले त कसैले बन्द गर्यो भने हामी आफ्नो सवारीसाधन लिएर वा भेला भएर बन्दको अवज्ञा गर्छौ र पसल पसललाई खुलाउने प्रयास गर्छौं। जबसम्म जबरजस्ती बन्द गर्छन् हामी सडकमा नै आएर अवज्ञा गरिरहन्छौँ। अहिले हामीले आफूलाई ‘नेपाल खुल्ला’ अभियानकर्ता भन्न थाल्या छौँ। कसैले भोलि बन्द हो भनेर सोध्यो भने ‘होइन, भोलि नेपाल खुल्ला हो भन्छौँ।’ यो हल्लै हल्लाको देशलाई सुधार्न एउटा सानो प्रयास हो। त्यही सानो प्रयासले मलाई अरु सामाजिक अभियानकर्ताहरु चिनायो।

२०११ मा “परिवर्तनको लागि हामी नेपाली एक” वा “नेपाल य़ुनाइट्स” भन्ने नागरिक अभियान स्थापना गर्न धकेल्यो। नेपाल युनाइट्सले समाजका विभिन्न नागरिक पेशावर अगुवाहरु र गैरराजनीतिक युवाहरुलाई एकै ठाउँमा लिएर आयो र देशको राजनीतिलाई हल्लायो । “ज्याला पूरा लियौ, अब संविधान देऊ” भन्ने नारा बोकी खुब दबाब दिइयो। देश विदेश फैलियो यो आगो। राजनीति गर्नेहरुलाई धेरै दवाव पर्यो। तर एउटा कुरा सत्य रहेछ नेपालमा। जुनसुकै अभियान गरे पनि यो कुरा ध्रुव सत्य रहेछ। “जो पहिले थाक्छ, उसैले त्यो दौड हार्छ।” अफसोस! हामी नै पहिले थाक्यौँ। आआफ्नो पेशा गर्दै आएका हामीलाई धेरै समयसम्म काम छोडेर एक हुन गाह्रो हुन्छ यसरी राजनीतिक पेशावरहरुसँग भिड्न। बाहिरबाट पोखरीमा फोहोर सफा गर्न शायद असम्भवै रहेछ भन्ने यसले मलाई छर्लङ्ग देखायो।

त्यसैले म राजनीतिबाटै नेपाललाई असफल राष्ट्रबाट जोगाउन अघि सर्दैछु। यो मेरो जिन्दगीको अर्को मोड हो। नेपालभित्र र बाहिर सन्जालहरु बनाइरहेको छु र नेपालीहरुलाई घोचिरहेको छु। अब बोल्ने दिन गए, गर्ने दिन आए नेपालमा। त्यही अनुरुप म अगाडि बढ्दैछु आफू “नेपाली भन्नलाई होइन, नेपाली बन्नलाई।”

आउनुहोस् “एक्लै हिँडे चाँडो गइएला तर सँगै हिडेँ टाढा पुगिन्छ।”

नेपालको जय होस् तपाईंको जय होस् !

-यो सामग्री उज्वलको ब्लगबाट लिइएको हो।

उज्वलको आज (मंगलबार) अपराह्न निधन भएको छ।

Prabaha