April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

पानी भर्न रातभर जाग्राम

१० रुपैयामा ३५ लिटर पानी भर्न पाईने

राजेन्द्र कार्की । जाजरकोट
जिल्लाको भेरी नगरपालिका १३ कुदुकी धनाकुमारी शर्मालाई गत बर्ष सम्म भेरीको धमिलो पानी खानु पर्ने बाध्यता थियो । एक गाग्री पानी लिन करीव दुई घण्टा समय लाग्थ्यो । घर नजिकै नगरपालिकाले डिप बोरिङ्ग गरेर पानी निकालिदिएपछि धनाकुमारी जस्तै कुदुका स्थानिय बासिन्दा खानेपानीको सहज हुने भन्दै निकै खुसी भएका थिए ।

डिपवोरिङ्ग गरेर पानी निकालेपछि भेरीको धमिलो पानी पिउन र पानी लिन घण्टौ लगाएर टाढा जानु पर्ने बाध्यता त हट्यो तर स्थानियलाई पानी भर्ने सास्ती भने झन् थपिएको छ । सो गाँउमा करीव ८ सय घर धुरी छन् । ति सवै घरका मानिसहरुका लागी एक मात्र डिप बोरिङ्ग धारा छ । त्यो पनि बत्तिबाट चल्ने गर्दछ । सधै चल्दैन । पानी लिन नाम लेखाउनु पर्छ । पालो आएपछि मात्र भर्न पाईन्छ स्थानिय प्रताप रोकायले भने ‘कतिपयको राती ११ बजे पछि पालो आउँछ । पानी भर्नकै लागी रातभर जाग्राम बस्नु पर्ने बाध्यता छ ।’

पानी खोल्न र बन्द गर्न उपभोक्ताले मासिक १५ हजार दिने गरि स्थानिय तुलाराम गिरीलाई सहयोगी राखेका छन् । उनलाई तलब खुवाउन ३५ लिटर पानी भरेपछि उपभोक्ताले १० रुपैया दिनु पर्छ । सहयोगीले नाम लेखाउँछन् । पालो आएपछि मात्र पानी भर्न पाईन्छ । नाम दर्ता गरेको ५÷६ घण्टा पछि मात्र पालो आउँछ । पालो राती पनि आउन सक्छ स्थानिय बासुदेव शर्माले भने ‘कुदुवासीका पानीका पिडा कहिलै समाधान नहुने भए । समयमा पालो नपाएपछि कतिपयले अझै भेरीको धमिलो पानी खान छोडेका छैनन् ।’

क्याप्सन ः खानेपानी भर्न पालो कुदै भेरी नगरपालिका १३ कुदुका स्थानिय बासिन्दा तस्वीर राजेन्द्र कार्की

डिप बोरिङ्ग नगरपालिकाको ६५ लाख रुपैयाको लागतमा निर्माण गरिएको हो ।
त्यसो त उक्त गाँउमा खानेपानी योजना नपरेका पनि होइनन् । गाँउमा मुहान नभएको र टाढाबाट ल्याएको खानेपानी आयोजना दिगो नहुँदा स्थानिय बषौ देखि खानेपानी समस्या भोग्न बाध्य भएका छन् । कुदु बृहद खानेपानी आयोजनाका लागी तत्कालिन खानेपानी तथा सरसफाई कार्यालयबाट चार करोड रुपैया छ्ट्याईएको भएपनि आयोजना अलपत्र अवस्थामा छ । पानी चल्न सकेको छैन । नगरपालिकाले पनि खानेपानी आयोजनाका लागी आवश्यक बजेट विनियोजन गरेको भएपनि पानी आउन नसकेको स्थानिय नरबहादुर बस्नेतले बताए ।
कुदुको खानेपानी समस्याको दिर्घकालिन समाधानका लागी आवश्यक पहल भैरहेको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । मुहानबाट ल्याउन पानी दिगो नभएपछि डिप बोरिङ्गबाट पानी निकालिएको उनले बताए । अरु थप डिप बोरिङ्ग जडान गर्न आवश्यक बजेटको ब्यवस्था गरिने नगरप्रमुख घर्तीले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad