April 18 - 2024, Thursday६ बैशाख २०८१, बिहीबार

यार्सागुम्बा टिप्न नपाउँदा भोकमरीको चिन्ता

राजेन्द्र कार्की । जाजरकोट

जिल्लाको बारेकोट गाँउपालिका ३ का मुनबहादुर नेपाली यतिवेला निकै तनावमा छन् । घरखर्च कसरी टार्ने भन्ने चिन्ताले उनी तनावमा परेका हुन् । अहिले सम्म त जेनतेन टारे तर अव भने कसरी जहान केटाकेटी पाल्ने भन्ने चिन्ताले सताईरहेको छ । ६ जनाको परिवार छ । घरमा खाद्यान्न स्टक छैन । हातमा पैसा पनि छैन । कसरी चुल्हो बाल्ने ? उनले चिन्ता प्रकट गदै भने ‘मलाई लकडाउनले ठुलो नोक्सान पुरयाएको छ । यार्सागुम्बा टिप्न नपाउँदा दैनिक गुजरा चलाउन समस्या परिरहेको छ । छाकटार्न समेत मुस्किल भैसक्यो । गाँउपालिकाले राहत स्वरुप दिएको केही पाथी मकैले अहिले सम्म जेनतेन गुजरा चलायौ । अव के गर्ने ? कुनै योजना छैन । न त रोजगारीका कुनै अवसर नै छन् ।’

उनले गत बर्षहरुमा यार्सा संकलन गरेर पैसा कमाउने र त्यही पैसाले बर्षभरीको खाद्यान्नको जोहो गर्थे । अन्य दैनिक आवश्यकता परिपुर्ती पनि गर्थे तर यस पटक विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपाल गत चैत्र ११ देखि लगातार लकडाउनमा छ । लकडाउनकै कारण बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न रोक लगाएपछि उनी जस्तै हजारौ परिवारको चुल्हो बल्न बन्द हुने अवस्थामा पुगेको छ । डोल्पा, जुम्ला र मुगुका विभिन्न पाटनमा प्रसस्त मात्रमा यार्सा पाइन्छ ।

कर्णालीका पहाडी तथा हिमाली जिल्लाका बासिन्दाको प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा पाटनबाट निकाल्न नपाएपछि यार्सा संकलन गरेरै जीवन निर्वाह गदै आएका जाजरकोट, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, दैलेख, पुर्वी रुकुम, बाग्लुङ्ग, पर्वत, मनाङ, मुस्ताङ र सुदुरपश्चिम प्रदेशका केही पहाडी जिल्लाका बासिन्दा निकै मर्कामा परेका छन् ।

 

उसै त खाद्य संकट परिरहने यी जिल्लामा यस पटक यार्सा टिप्न नपाउँदा ठुलो आम्दानीको स्रोत गुमेको छ । यहाँ उत्पादित अन्नले बर्षदिनमा ६ महिना पनि पुग्दैन । अन्य महिना खाद्य संस्थान र बजारकै खाद्यन्नमा भरपर्नु पर्ने बाध्यता छ । तर आम्दानीको स्रोत नै गुमेपछि र लामो लकडाउनले कामका लागि जिल्ला बाहिर, भारत तथा तेस्रो मुलुक जान नपाएपछि थप समस्या देखिएको छ । कामको सिलसिलामा तथा रोजगारीका लागी शहरी क्षेत्र, भारत र अन्य बैदेशिक रोजगारमा गएकाहरु पनि घर फर्केका छन् भेरी ज्ञानोदय क्याम्पसका उपप्रध्यापक छविराज शर्माले भने ‘यसपाली खाद्य संकटले धेरै परिवार प्रभावित भैरहेका छन् । साउन भदौमा झनै यो समस्या बढदै जाने संभावना छ । गाँउमा रोजगारीका अवसर छैनन् । मानिसहरु के खाएर बाँच्ने भन्ने समस्या छ । यस बर्ष यार्सा संकलन गर्न नपाउँदा धेरै परिवारको रोजीरोटी खोसिएको छ । उनीहरु के आएर बाँच्ने भन्ने चिन्तामा छन् । भोकमरीको अवस्था निम्तिने खतरा बढेर गएको छ ।’

बर्षेनी खाद्य संकटको समाना गदै आएका बारेकोट १ बयालाका प्रेमबहादुर विकले यार्सा संकलन गरेरै खाद्य संकट टार्थे । परिवारका अन्य आवश्यकता पनि पुर्ती गर्थे । यो क्रम धेरै बर्ष देखि चलिरहेको थियो । उनले भने ‘यार्सा संकलन गरेरै घरखर्च टार्न थालेको धेरै बर्ष भयो । यसपाली यार्सा संकलन गर्न नपाउँदा हाम्रो आम्दानीको स्रोत गुम्यो । रोजगारीको अवसर केही छैन । लकडाउनले घरमै थला परेका छौ । आफ्नो खेतीले बर्षदिनमा ६ महिना पुग्दैन । कसरी सात जना जहान केटाकेटी पालौ ।’ उनको परिवारका तीन जना यार्सा संकलन गर्न जाने र दुई तीन लाख आम्दानी गरेर ल्याउँथे । तर यसपाली यार्सागुम्बाबाट हुने आम्दानीको सवै अवसर गुमेको छ । उनी जस्तै हजार परिवारको आम्दानीको स्रोत गुमेको छ । आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका मानिसहरु यार्सा संकलन गर्न जाने र यसैवाट जीवन निर्वाह गर्ने गर्दथे । यस पटक यार्साबाट आम्दानी नपाउँदाको विकल्प केही छैन । विकल्प नहुँदा धेरै परिवार भोकभोकै पर्ने संभावना छ जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले भने ‘धेरै मानिसको जीवन निर्वाहको माध्याम नै यार्सा थियो । लकडाउनले यस बर्ष ठुलो घाटा भयो’ उनले भने ‘जसका कारण दैनिक हातमुख जोर्न समेत समस्या पर्ने अवस्था आएको छ । तसर्थ प्रभावित परिवारको जीवन निर्वाहमा स्थानिय, प्रदेश र संघिय सरकारले सहयोग पुरयाउनु पर्छ ।’

 

यार्सा संकलन गर्न नपाउँदा हजारौ परिवारको रोजीरोटी मात्र खोसिएको छैन । करोडौको राजश्व गुमेको छ । अरबौको आम्दानी पाटनमै विलाउने भएको छ । सरकारले यस तर्फ समयमा ध्यान नपुरयाउँदा यर्सामै आस्रित परिवार भोकमरीको जोखिममा परेको स्थानियको भनाई छ । यार्सागुम्बा जीव र बनस्पती दुवै गुण भएको बहुमुल्य जडिवुटी हो । शक्तिबद्र्धक तथा यौनबद्र्धक बुटीको रुपमा चिनिने यार्सा खानले मानिसमा रोग प्रतिरोधी क्षमता बढाउनका साथै विभिन्न रोगको औषधी हुने गर्दछ । गत बर्ष यार्साको खरीद मुल्य प्रतिकेजी करीव १५ लाख रुपैया थियो । कर्णालीको यार्सा चिन, भारत, हङकङ, तिब्बतत, सिङ्गापुर लगायतका देश निर्यात हुने गरेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad