March 28 - 2024, Thursday१५ चैत्र २०८०, बिहीबार

चौरजहारी अस्पतालले राख्न मानेन कोरोना संक्रमितलाई

राजेन्द्र कार्की । जाजरकोट

कोरोना संक्रमितको उपचारका लागी आवश्यक पुर्वाधार बनाउन भन्दै कर्णाली सरकारले पश्चिम रुकुमको चौरजहारी अस्पताललाई डेढ करोड रुपैया अनुदान दियो । जाजरकोट, रुकुम र सल्यानका कोरोना संक्रमित विरामीलाई उपचार गर्ने अस्पतालको रुपमा विकास गर्न आवश्यक आइसोलेसन वार्ड लगायतका पुर्वाधार निर्माणमा खर्चिने गरि सरकारी अनुदान पाएको चौरजहारी कोरोना विशेष अस्पतालले नै विरामी भर्ना गर्न अस्वीकार गरेको हो । यो एक एनजिओले संचालन गरेको अस्पताल हो ।

सल्यान बनगाड कुपिण्डे नगरपालिकाका कोरोना संक्रमितलाई पश्चिम रुकुमको चौरजहारी कोरोना विशेष अस्पतालले भर्ना लिन नमानेपछि विरामीलाई सुर्खेत पठाईएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमण देखिएका २५ जना मध्य १३ जनालाई सुर्खेत पठाइएको छ भने १२ जनालाई जिल्ला अस्पतालमै राखेर उपचार थालिएको डा. अर्जुन बुढाले बताए । १२ जनालाई जिल्ला अस्पतालमा राखेर ठाँउ अपुग भएपछि १३ जनालाई नजिकै रहेको चौरजहारी कोरोना विशेष अस्पतालमा पठाउन खोजी पनि अस्पताल प्रशासनले भर्ना नलिने भनेपछि सुर्खेत पठाईएको बताए । बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले सरकारी अनुदान लिएर कोरोना विषेश अस्पताल बनाईएको चौरजहारी मिसन अस्पतालले सल्यानका विरामी भर्ना लिन सकिदैन भन्नु गैरजिम्मेवार कार्य भएको बताए । उनले भने‘कर्णाली प्रदेश सरकारले तीन जिल्लाको लागी भनेर चौरजहारी अस्पताललाई अनुदान दिने तर अस्पतालले जिल्ला बाहिरका लाई उपचार गर्दिनौ भन्न मिल्छ ।’

त्यस्तै सल्यानकै दार्मा गाँउपालिकामा संक्रमण देखिएका नौ जनालाई पनि चौरजहारी अस्पतालले भर्ना लिन नमानेपछि उनीहरुलाई तीन दिन देखि स्थानिय क्वारेन्टाइनमै राखिएको गाँउपालिका अध्यक्ष निमबहादुर केसीले बताए । ‘सल्यानका संक्रमित समेत राख्ने भनेर सरकारले अनुदान दिने तर अस्पतालले हामी अर्को जिल्लाको विरामी राख्न सक्दैनौ भन्न मिल्छ ?’ उनले भने ‘विरामीको ब्यवस्थापन प्रदेश सरकारले मिलाउनु पर्छ ।’
रुकुम जिल्लामै नयाँ कोरोना संक्रमित भेटिन सक्ने भन्दै जिल्ला बाहिरकालाई भर्ना नलिन जिल्लाका जनप्रतिनिधिले अस्पताललाई निर्देशन दिएपछि अस्पतालले जिल्ला बाहिरका संक्रमितलाई भर्ना नलिएको जनाएको छ । अस्पताल प्रशासक डिलबहादुर गिरीले सोती घटनाका कारण चौरजहारीको वातावरण तनावग्रस्त भएको र जिल्लामै कोरोना संक्रमित देखिए राख्नको लागी केही बेड रिजर्भ राखिएकोे स्पष्ट पारे । उनले भने —‘विरामीकै सेवाका लागी अस्पताल खोलिएकाले विरामी लिन्नौ भन्दैनौ । सरकारको निर्देशन मान्छौ तर जिल्लाका नेता र जनप्रतिनिधिको निर्देशन पनि त मान्नै पर्यो । रुकुममा परिक्षण नै भएको छैन । संक्रमण देखिए काँहा राख्ने ?’

पहुँचका आधारमा मानव विकास तथा सामुदायिक सेवा नामक गैरसरकारी संस्था द्धारा संचालित चौरजहारी अस्पताल भनिने मिसन अस्पताललाई सरकारी अनुदान दिएर कोरोना अस्पताल बनाउने तर जाजरकोटमा रहेको ५० शैयाको जिल्ला अस्पताललाई वेवास्ता गरिएको भन्दै कर्णाली सरकारको यस अघिको निर्णयको चर्को विरोध भएको थियो । अस्पताल प्रशासक गिरीले प्रदेश सरकारले दिने भनेको ५० लाख रुपैया आइसकेको तर एक करोड रुपैया अझै प्राप्त नभएको बताए । चौरजहारीमा शितल मावि सहित ३५ बेडको आइसोलेशन र चार बेड क्षमताको आईसियु कक्ष निर्माण गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad