May 7 - 2021, Friday२३ बैशाख २०७८, बिहीबार

स्मृतिमा मेरो विद्यालय

इन्दिरा शाह, हाल काठ्मान्डौ

वर्षौ विती सक्यो विद्यालय छोडेको ! कतिपय कुरा त धमिला सम्झनाहरू मात्र छन् तर पनि मान्छेको जीवन अनौठो हुँदो रहेछ । बाल्यकालका संम्झनाहरूले सधैं पछ्याइ रहने ? कहिल्यै पुराना नहुने, नखुइलिने, मान्छेको शरीर बूढो भइसक्दा पनि मन चाहिं अझै बच्चै छु कि झै लाग्ने ? आमा र वाल्यकालका संम्झनाहरू उस्तै उस्तै हुन कि झै लाग्छ मलाई त जहिले पनि मन मस्तिष्कमा घुमी रहने, कहिले पनि नछुट्टिने ! बरु पछिका घटनाहरू बिर्सिन सकिने रहेछन् ।

अब लेख्ने वानी छुटेको छ मेरो र लेख्न अल्छि लाग्छ । संम्झनाहरू तछाडमछाड गरे पनि बाहिर आउनलाई तर लिपीवद्ध गर्न सा¥है अल्छि लाग्ने हुन थालेको छ आजकल । राजेन्द्र कार्कीे भाईले मलाई अलि पहिले नै मेसेन्जरमा आग्रह गर्नु भएको थियो । विद्यालयको कुनै स्मरण लेख पठाइदिनलाई । लेख्ने विचार त गरेको थिएँ तर अल्छिले गर्दा लेखेकी थिइन । पछि फेरि फोन नै गरेपछि त लेख्नै प¥यो भनेर यो जमर्को गरे ।

मेरो सम्झनामा जब हामीहरू ६÷७ कक्षामा थियौँ विद्यालय भवन थाप्लेचौरमा भरखरै बनेर कक्षा संचालन भएको थियो । नयाँ भवन नयाँ कक्षा कोठाहरू फराकिलो गरेर पढ्न पाइएको थियो । यहाँ सर्नु अघि यो विद्यालय माथि दरबारमा थियो । दरवारबाट गैरीखाली स¥यो । त्यहाँ पनि साँघुरो नै हुन्थ्यो । कक्षा कोठाको अभावले हाम्रो पढाई बजुको थानको अगाडि चौतारीमा हुन्थ्यो । कहिले दुइवटा कक्षाहरू एउटै कोठामा हुन्थे । बादल कुमार श्रेष्ठ सल्यानको सर हुनुहुन्थ्यो । उहाँलाई आई.एस.सी. मास्टर पनि भन्थे । सायद भर्खरै आई.एस.सी. सकेर आउनु भएको थियो । उहाँले दुई वटा कक्षालाई एकै ठाउँमा राखेर गणित विषय पढाउनुहुन्थ्यो । यसरी ठाउँ ठाउँ सर्दै दुःखसँग पढ्दै थियौँ हामीहरू र विद्यालय प्रशासनलाई व्यवस्थापन गर्नलाई अति गा¥हो भएको थियो त्यस वेला । त्यहाँबाट हाम्रो विद्यालय तल्लो थाप्लेमा स¥यो । त्यहाँ छात्रावास भवनहरू पनि बनेका थिए । केही समय हामीले त्यहाँ पनि पढ्यौ । त्यतिवेला हालको विद्यालय भवन बन्दै थियो । यो भवन बनेर यहाँ सरेदेखि स्थायी रुपले यही पठन पाठन हुँदै आएको छ । आफ्नै भवन हुनाले अन्त कतै सर्नु परेको छैन ।

नयाँ भवन ठूलो चौर र जंगलको नजिक, त्यसबेला आजभोलिको जस्तो जताततै घरहरू थिएनन्, बरु जंगलै जंगल थियो । जंगलमा पाइने फलफूलहरू प्रशस्तै हुन्थे जामुन, कटारी, भला, अम्रै आदि । त्यसवेला होमनाथ ढुंगाना शिक्षक हुनुहुन्थ्यो । उहाँ बी.एस.सी.एजी. को शिक्षण अभ्यासका लागि आउनु भएको थियो सायद दश महिनाको लागि । उहाँले के विषय पढाउनु हुन्थ्यो मलाई ठ्याकै याद भएन । हामीहरू सात कक्षामा थियौँ । त्यसबेला विद्यालयको तलतिर भला प्रशस्तै पाकेका हुन्थे । हाफ छुट्टिको लगतैपछि होमनाथ सरको क्लाश थियो । छुट्टीको घण्टी लाग्ने बित्तिकै हामी भला खान गयौँ । जाँदा जादै अलि तलै पुगेछौ । फर्किदा अलि ढिला भयो । भला खाँदा मीठो हुन्छ तर खाइसकेपछि मुख पाकेर हैरान हुन्छ । त्यसलाई भला उर्छिने भन्थ्यौँ । त्यसको औषधी भनेको भलाको रुखमुनि गएर मीत लाउने र त्यही रुखमुनिको माटो मुख र हातमा दल्ने गथ्र्यांै । केही समयपछि घाउहरू सन्चो हुन्थ्यो । अहिले सम्झिदा क्या रमाइलो लाग्छ, तर त्यो बेला सा¥है गा¥हो हुन्थ्यो । आजकलका बच्चाहरू पनि त्यस्तै गर्छन होला कि ?

त्यसदिन हामी कक्षाका धेरै जना नभएपछि होमनाथ सर बाहिरै बसेर हामीलाई कुरी रहनु भएको थियो । हामी आइपुग्यौँ र उहाँलाई हेर्दा हातमा लठ्ठी थिएन तर खुब रिसाउनु भएको थियो । उहाँले हामीलाई एक एक गरेर बोलाउनु भयो । चप्पल खोल्न लगाउनु भयो । उहाँको हातमा ढुङ्गा रहेछ । खुट्टाको बूढीऔलाको मुनी एउटा ढुङ्गा राखेर माथिबाट हातमा भएको ढुङ्गाले कुट्नु भयो । सबै जनाले पालैपालो कुटाई खायौँ । यो उहाँको सजाय दिने अनौठो तरिका रहेछ । सबैलाई सा¥है दुखेको थियो ।

कहिले काँही बच्चाको बदमासी पनि अनौठो नै हुन्छ । हामीलाई स्वास्थ्य शिक्षा विषय ध्रुब के.सी. सरले पढाउनुहुन्थ्यो । सरसफाईमा विशेष जोड दिनुहुन्थ्यो । सफा कपडा लगाउने सँधै नुहाउने कुरामा उहाँको विशेष जोड हुन्थ्यो । उहाँले सधै भन्ने गरेको कुरा – मान्छेको शरीरको बनावट अलग अलग तरिकाको हुन्छ । शरीरको बनावट राम्रो वा नराम्रो जस्तो भएपनि शरीर सुहाउने र सफा कपडा लगाउने बानी गर्नुपर्छ भनेको सँधै सम्झना हुन्छ मलाई । कक्षाकोठा सफा राख्नु पर्छ भनेदेखि हामी सवै मिलेर पढ्न मन नलागेको विषयको घण्टी लाग्ना साथ कुचो हातमा लिएर धूलो उडाएर बस्थ्यौ । सफा गरे जस्तो लाग्थ्यो तर सफा हुँदैन्थ्यो । बरु पढाउन आउने सरहरू ढोकाबाटै फर्केर जानुहुन्थ्यो । अनि सवै जना कोठामा गफ गरेर बस्थ्यौँ । धेरै वर्ष विती सक्यो । संझना उस्तै ताजा र मनभरी छ । आफूले पढेको विद्यालयको आफ्नै चञ्चले बाल जीवन तत्ककालका घटना सम्झदा आनन्द लाग्छ र इतिहास, गर्व महसुस हुन्छ ।

मैले बाह्रखरी काले गाउँका हरिप्रसाद शर्मा गुरुले श्री पञ्चमीका दिन सिकाएको कुरा थाहा पाएको थिए तर त्यसपछि मैले सम्पूर्ण बाल्यकाल र युवा अवस्था त्रिभुवन माध्यमिक विद्यालय कै वरिपरि बिताउने अवसर प्राप्त गरेको र विद्यालयका अनेकौ प्रतिभाशाली शिक्षक शिक्षिकाहरूबाट मैले लेखपढ गर्न मात्र नसिकेर खेलकुद अभिनय साहित्य सृजना आदि थुप्रै विशेषताहरू ग्रहण गर्ने अवसर पाए । पछि महाविद्यालय, विश्वविद्यालय तथा अनेक सस्थाहरूबाट विविध विषयका ज्ञानहरू आर्जन गर्दा जे जति सफलता प्राप्त गरे त्यसको आधारशीलाको रुपमा मेरो विद्यालय जहाँ मैले सुरुमा पढे र पछि पढाए त्यही नै हो भन्दा अत्युक्ति नहोला । त्यसैले सँधै मेरो स्मृति पटलमा विद्यालय र विद्यालयका गुरुहरू सँधै श्रद्धासाथ रहदै आउनु भएको छ । विद्यालय, विद्यालय परिवार, गुरुजन र मेरो दौतरीहरूप्रति म सँधै प्रेमपूर्ण स्मरण गर्दा भावविह्वल हुने गर्छु ! (त्रिभुवन मावि खलंगा जाजरकोटको बार्षिक प्रकाशन मालिकामा प्रकाशित लेख)

Prabaha

Government request for corona