April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

४१ महिना वित्दा पनि बनेन नलगाड जलविद्युत आयोजनाको डिपीआर

राजेन्द्र कार्की । जाजरकोट

३० महिनामा बन्नु पर्ने नलगाड जलविद्युत आयोजनाको बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) ४१ महिना वित्दा पनि बन्न सकेको छैन । डिपिआर तयार गर्ने जिम्मा लिएको परामर्शदाता कम्पनीको ढिलासुस्ती र लापरवाहीले अन्तिम प्रतिवेदन बन्न ढिलाई भएको हो ।
तोकिएको समयसीमा भित्र काम सम्पन्न गर्न नसकेपछि परामर्शदाता कम्पनीले सरकारलाई हर्जना दिनुपर्ने अवस्था आएको छ । डिपिआर निर्माणका लागी नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडसंग परामर्शदाता कम्पनी अष्ट्रेलियाको स्मेक, अमेरीकाको एमडब्लूएच र नेपालको उदय कन्ट्रक्सन प्राली जेभीले २०७३ बैशाख २४ गते९४ करोड ८ लाखको ठेक्का सम्झौता गरेका थिए ।
ठेक्का सम्झौता गरेको मितिले ३० महिनाको समय भित्रै आयोजनाको बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) रिर्पोट निर्माण गरिसक्ने सम्झौता पत्रमा उल्लेख गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि नलगाड हाईड्रोपावर कम्पनी लिमिटेडले परामर्शदाता कम्पनीलाई पहिलो पटक ६ महिना र दोस्रो पटक ३ महिना ४ दिनको समय थप गरेको थियो । परामर्शदाता कम्पनीका लागि दोस्रो पटक थप गरिएको समय पनि गत साउन ३० गते समाप्त भई सकेको नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रामगोपाल लागेजुले जानकारी दिए । तर अझै काम सम्पन्न हुन सकेको छैन ।
ठेक्का सम्झौता अनुसार दुई पटक भन्दा बढि म्याद थप गर्न नसकिने भएको हुदा अवको विकल्प भनेकै हर्जन तिरेर जति सक्दो काम सक्नु पर्ने निमित्त प्रमुख कार्यकारी अधिकृत लागेजुले बताए ।
कार्यालयले म्याद थप नगरेपछि अब परामर्शदाता कम्पनीले खरिद ऐनमा भएको व्यवस्था अनुसार नेपाल सरकारलाई दैनिक हर्जना तिर्नुपर्ने भएको छ । पराशर्मदाता कम्पनीले ठेक्का सम्झौता भएको कुल बजेटको ० दशमलब ०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्ने प्रावधान रहेको बताईएको छ । आयोजना बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) रिर्पोट तयार पार्दासम्म परामर्शदाता कम्पनीले झण्डै १० प्रतिशत हर्जना तिर्नुपर्ने अबस्था आउन सक्ने अनुमान गरिएको छ । १० प्रतिशत भनेको करीव १० करोड रुपैया हो ।
परामर्शदाता कम्पनीले आयोजना बिस्तृत अध्ययन प्रतिबेदन रिर्पोटको ड्राप्ट डिसेम्बर सम्म आयोजनाको कार्यालयमा बुझाई सक्ने बताएको छ । तर अन्तिम रिर्पोट आउनलाई माघ तथा फागुन महिनासम्म लाग्ने अनुमान छ । परामर्शदाता कम्पनीले आयोजनाको वातावरणिय प्रभाव मुल्याङ्कन(ईआइए) रिर्पोटको काम सकिसकेको भएतापनि सुरुङ टेष्ट अडिट, रक मेकानिकल अडिट जस्ता कामहरु गर्न अझै बाँकी रहेको छ ।
आयोजनाको बाँध स्थल अधेरीखोलामा ६०–६० मिटर लम्बाई रहेका ४ वटा सुरुङ टेष्ट अडिट गर्ने काम सम्पन्न भई सकेको छ । पावर हाउसमा गर्नुपर्ने सुरुङ टेष्ट अडिटको काम अझै बाँकी रहेको परामर्शदाता अष्ट्रेलियाको स्मेक कम्पनीमा कार्यरत जियोलिष्ट (इन्जिनियरिङ भु–गर्भ विद्) धनबहादुर श्रेष्ठले बताए । इन्जिनियरिङ भु–गर्भ विद् श्रेष्ठका अनुसार पावर हाउसमा ३ सय ३२ मिटर लम्बाई टेष्टिङ्ग सुरुङको अडिट गर्नुपर्नेमा हालसम्म २ सय ८० मिटर मात्र गरिएको छ । अझै सुरुङ टेष्टिङ्ग अडिट गर्न ६० मिटर भन्दा बढि बाँकी रहेको छ । सुरुङ टेष्टिङ्ग अडिटको काम सम्पन्न भईसकेपछि रक मेकानिकल अडिटको काम बाँध स्थल अधेरी खोला र पावर हाउस दुबै ठाउँमा एक साथ गरिने छ इन्जिनियरिङ भु–गर्भ विद् श्रेष्ठले भने ।
हिम नदी र मनसुन नदीको समिश्रण रहेको नलगाड नदी विद्युत उत्पादनका लागि निकै उपयुक्त नदीका रुपमा लिएको छ । ४ सय १७ मेघावाट बिद्युत उत्पादन क्षमता रहेको जलासययुक्त नलगाड जलविद्युत आयोजनाले देशको उर्जा संकटलाई समाधान गर्नसक्ने आयोजनाका रुपमा सरकारले हेर्ने गरेको छ ।
आयोजनाको बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) रिर्पोट आईसकेपछि नलगाड जलविद्युत आयोजनाको निर्माण कार्यको जिम्मा लिनेमा जापानी विकास नियोग (जाइका) ले सकारात्मक ईच्छा व्यक्त गरेको छ । केहि दिन अगाडी जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसंग भेटेर नलगाड जलविद्युत आयोजनाको निमार्ण कार्यको जिम्मा आफुले लिनेमा जाइकाले इच्छा व्यक्त गरेको थियो ।
आगामी माघ, फागुन महिना भित्रै आयोजनाको बिस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) रिर्पोट आउन सक्यो भने, आयोजना निर्माण कार्यको जिम्मा लिनका लागि जापानी विकास नियोग (जाइका) ले कुनै न कुनै आधिकारिक धारणा व्यक्त गर्ने जनाईएको छ । हाल जाइकाका विज्ञ प्राविधिकहरुले नलगाड जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad