April 19 - 2024, Friday७ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा सकियो लाखे जात्रा

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट सदरमुकाम खलंगाको गैरीखालीमा शनिवार छुट्टै रौनक र रमाइलो थियो । सामाजिक विकृतिमाथि व्यंग गर्न विभिन्न भुमिकाका पात्रहरु, लाखेका सहयात्री भप्पुहरु आफनै पाराले रमाइलो गर्न सक्रिय थिए । रमाईलो हेर्न स्थानियको भीड नै लागेको थियो कृष्णजीको भेषमा स्थानीय नेवार समुदायका युवा महेन्द्र भडेल शिरमा मयुरको कल्की जडित ताज र सेतो धोतीमा सजिएर हातमा चम्किने तरवार घुमाउदै नाच्दै राक्षस रुपी लाखे र भप्पुहरुलाइ लखेट्दै थिए । उनलाइ आफना सहयोगी राक्षसहरुको साथ लिएर कंशरुपी लाखेको भुमिकामा रहेका महेन्द्रजंग शाह जिस्काउदै थिए ।

गैरीखालीको संकुचित मैदान र आसपासका घरहरुका आँगन वार्दली पेटीमा खचाखच भरिएका स्थानीयहरुको चर्को हुटिंगसंगै ढोलक र झयालीको तालमा द्धापर युगमा कृष्ण र कंश विचको लडाइको झल्को दिने लाखे नाँच चम्किरहेको थियो । तिनै सयौं जनताको उपस्थितिका माझ जाजरकोटमा कंश रुपी अवतार मानिएको लाखे आफना सहयोगी भप्पुहरुसंगै मारिएको दृस्य निकै रोचक र रमाइलो थियो । द्धापर युगमा भगवान श्रीकृष्णको मामा अर्थात राक्षसको प्रतीक मानिएको लाखेलाइ जिल्ला सदरमुकाम खलंगामा विशेष पर्वको आयोजना गरि बध गरिएको छ । गत साउन १४ गते गाँठेमंगलको भोलिपल्ट देखि सुरु भएको लाखे नाच शनिवार लाखे मार्ने अभिनयसंगै सकिएको छ ।

प्रत्यक वर्ष गठेमंगलको भोलि पल्टवाट सुरु भइ कृष्णजन्माष्टमीको भोलिपल्ट सकिने लाखे नाच शनिवार सकिदा गैरीखाली दर्शकले खचाखच भरिएको थियो । स्थानीय सर्वसाधारणहरु लाखे मार्ने दिन घरका सवै काम धन्दा छोडेर गैरीखाली पुगेका थिए । लाखे नाँचलाइ यहाँका स्थानीयले ठुलो उत्सव एवं जात्राको रुपमा हेर्ने गरेको भेरी नगरपालिका वडा नम्वर ४ का तुफान श्रेष्ठले वताए । उनले हजारौं जनताले यो लाखे पर्वलाइ निकै माया मात्र होइन यो पर्व सफल वनाउन आफनो सक्रिय सहभागिता जनाउने गरेको वताए । नेवार समुदायको विशेष पर्व या नाँच भएपनि जाजरकोटका सवै जाति र समुदायका जनताले आफनो पर्वको रुपमा स्वीकार गरेको लाखे पर्व हेर्न जिल्ला सदरमुकामका गाउँ गाउँवाट सयौंको संख्यामा सर्वसाधारणहरु गैरीखाली पुगेका थिए ।

द्धापर युगमा भगवान श्रीकृष्ण र उनका मामा कंशका विचको लडाइको झल्को दिने लाखे मार्ने नाच जाजरकोट खलंगामा गत डेढ सय वर्ष देखि जारी छ । जिल्लाका नेवार समुदायले सन्चालन गर्ने लाखे नाच अहिले सवै जाति र समुदायको चासो र मनोरन्जनको पर्व वनेको छ । झन्डै एक महिना सम्म विभिन्न रुपमा सदरमुकामका वजारहरुमा घर घर पुगेर नाचिने लाखे नाँच जिल्लावासीको एउटा मनोरन्जनको माध्यम वनेको बडा नम्बर ४ का वडाध्यक्ष खम्बजंग शाहले वताए । उनले जिल्लामा डेढसय वर्ष अघि सुरु भएको यस नाँचलाइ सवैको साझा सम्पतिको रुपमा संरक्षण गर्न जरुरी भएको वताए ।

लाखे नाचका क्रममा जिल्ला सदरमुकाममा गाइजात्रा, घोडेजात्रा, राउटेजात्रा, वैरागी जात्रा, रोपाइजात्रा लगाएतका विभिन्न जात्रा र झलकहरु देखाउने चलन रहेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले भक्तपुरवाट जाजरकोट ल्याएका नेवार समुदायका गोविन्दमान भडेलले सुरु गरेको लाखे नाँच अहिले पनि जेनतेन चलिरहेको भएपनि मौलिकता भने हराउदै गएको स्थानीय वुढापाकाहरुको गुनासो छ । नयाँ पुस्ताले मौलिकताको जगेर्नामा ध्यान दिनु पर्ने ९१ वर्षिय कर्णवहादुर भडेलले वताए । हाम्रा पालाको जस्तै मौलिक परम्परा, गीत नाँच र स्वस्थ मनोरन्जन दिने गरि लाखे नाँच जोगाउन नयाँ पुस्ताले चासो र चिन्ता गर्नु पर्छ, उनले भने ।

लाखे मार्ने पर्वका दिन जाजरकोट खलंगामा विशेष मेला आयोजना गरि सदरमुकाम परिक्रममा गरेर गैरीखालीमा जम्मा भएका सयौं सर्वसाधारणको विचमा लाखेको बध गर्ने चलन छ । लाखे नाचको संरक्षण र मौलिकताको निरन्तरताका लागि जिल्लाका सवै सरोकारवालाहरुले ध्यान दिनु पर्ने लाखे नाँचका अगुवा मित्र गणेश श्रेष्ठले वताए । उनले नयाँ पुराना दुवै पुस्ता मिलेर यो लाखे नाँचलाइ जाजरकोटको सम्पतिको रुपमा विकास गर्न जरुरी रहेको वताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad