जाजरकोटमा एक युवकको हत्या आशंकामा एक महिला सहित ७ जना पक्राउ

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने ३० वर्षीय राम बहादुर शाहीको शव फेला परेको हो । शाही विहिवार जुनीचाँदे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो अध्यक्षकप हेर्न जुनीचाँदे–५ स्थित शिवपुरी मावि पुगेका थिए । दुई दिन सम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा शुक्रवार राती उनको शब स्थानिय काड्य खोला नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको अनुमान गर्न सकिन्छ । हामीले अनुसन्धान गरिरहेका छौ प्रहरी प्रमुख पाण्डेले भने ‘खेलकुद कार्यक्रम हेर्न गएका शाहीको आगो ताप्ने क्रममा स्थानिय युवाहरु सँग विवाद भएको देखिन्छ । त्यो विवाद नै घटनाको कारण हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ,’

शुक्रवार इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको छ । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टम गरिएको छ ।
मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । अनुसन्धानका लागि प्रहरीले एक महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा रहेकाहरु संग आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

पीडित पक्ष किटानी जाहेरी दर्ता गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएपछि र आइतवार अदालतबाट अनुसन्धानका लागि म्याद लिएपछि घटनाको बारे सार्वजनिक गरिने डिएस्पी पाण्डेले बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad