राजेन्द्र कार्की । जाजरकोट
पुरुषहरुले बाजा बजाएको मात्र देखेकी कुशे गाँउपालिका ६ कि गंगा परियार अहिले पञ्चेबाजा बजाउने भएपछि आफै दंग छिन् । गाँउघरमा मेला, जात्रा, उत्सब, चाडवाड, विहेवारी लगायतका कार्यमा पुरुषहरुले बाजा बजाएको देखिकी गंगा तालिम पाएपछि आफै बजाउने भएकी हुन् । गाँउघरमा अहिले पनि पञ्चेबाजा पुरुषले मात्र बजाउने चलन छ । महिलाहरुलाई सिक्ने अवसर नै दिएनन् कसरी सिक्नु उनले भनिन–‘१५ दिनको तालिमले दमाहा(नगरा), छिल्लर(झ्याली), ट्याम्को, नरसिंहा, र सहनाई पाँच वटै बाजा बजाउन सिके । म निकै खुसी छु । अव अवसर पाए पुरुष सँगै बाजा बजाउन सक्छु भन्ने विश्वास जागेको छ । यसको संरक्षणमा पनि जुट्छु ।’
सामाजिक विकास कार्यालय जाजरकोटको सहयोगमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले महिलाहरुका लागि पञ्चेबाजा बजाउने तालिम दिएपछि यतिवेला जाजरकोटका गंगा जस्तै २० जना महिलाहरु पञ्चेबाजा बजाउन सिपालु भएका छन् । कुशे ५ का ६७ बर्षिय लाले दमाईले पञ्चेबाजा बजाउने तालिम दिईरहेका छन् । गत पुसको तेस्रो साता देखि महिलाहरुले सदरमुकाम खलंगामा २० दिने बाजाबजाउने तालिम लिईरहेका छन् ।
अवसर दिएपछि महिला पनि पुरुष जस्तै बाजा बजाउन सक्छन् भन्ने उदाहरण बन्न थालेका छन । बारेकोट गाँउपालिका २, ध्यारगाँउकी कौशिला परियार दमाहा बजाउँछिन् । पहिला बुवा र दाईहरुले बजाएको देखेकी थिए । बजाउने इच्छा नभएको पनि होइन तर महिलाले बाजा बजाउनु हुदैन भनेर छुनै दिनुभएन । तर अहिले बाजा बजाउने तालिम लिने अवसर पाएपछि सिके । निकै खुसी लागेको छ उनले भनिन ‘पञ्चेबाजा लोप हुने अवस्थामा पुगेको छ । यो पुर्खाको संस्कृति हो । यसलाई जोगाउन र संरक्षणमा हामी जुट्छौ । लोप हुन दिदैनौ । हाम्रा सन्तानलाई पनि सिकाउँछौ ।’
भेरी नगरपालिका २ तिमिलेकी रामकली खड्का मजाले सहनाई बजाउँछिन् । सुरुमा त सहनाई फुक्न निकै गाह्रो भो अभ्यास गदै जाँदा अहिले मजाले पुरुषहरुले जस्तै गरि सहनाई फुक्ने भएकी छु । गरेपछि असम्भब भन्ने कुरा केही छैन उनले भनिन् ‘गाँउमा पुरुषहरु छैनन् । रोजगारीका लागि विदेश गएका छन् । भएकाले पनि बजाउने चासो दिदैनन् त्यहीभएर पुर्खाको संस्कृति जोगाउन र संरक्षणका लागि बाजा बजाउने तालिम लिएका हौ । अव आवश्यक परेको ठाँउमा हामी नै गएर बाजा बजाउने छौ ।’
केही निश्चित शुल्क लिएर आवश्यक परेको ठाँउ महिला समुहले बाजा बजाउने जनाएका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाईमा तालिम प्राप्त महिलाहरुलाई आवश्यक परेको ठाँउ बाजा बजाउन निश्चित शुल्क लिएर पठाईने प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए । लोप हुन थालेको पञ्चेबाजा संरक्षणका लागि महिलाहरुलाई तालिम दिएर अग्रसर गराईएको केसीले बताए ।
सामाजिक विकास कार्यालयका प्रमुख यज्ञश्वर खत्रीले महिलाहरुलाई तालिम दियो भने पञ्चेबाजा संरक्षणमा सघाउ पुग्ने विश्वासले कार्यक्रम राखिएको बताए । महिलाहरुले सिकेको कुरा आफ्ना सन्तानलाई सिकाउने भएकोले पनि यो तालिम प्रभावकारी भयो । अर्कोकुरा महिलाहरु गाँउमै बस्ने भएकोले पनि आवश्यक परेको बेला काम लाग्ने उनको विश्वास छ ।