राजेन्द्र कार्की । जाजरकोट
यतिवेला भेरी नगरपालिका ७ पुन्माका शिवराम पुन निकै चिन्तित छन् । लामो समय सम्म पानी नपर्दा खडेरीले बारीमा लगाएको मकै सुक्दै गएपछि उनी निकै चिन्तित भएका हुन् । बर्षदिन सम्म खाने खेती विग्रिएपछि उनी यतिवेला तनावमा छन् । आकासे पानीको भरमा लगाएको मकै बाली सुकेपछि उनी जस्तै धेरै किसान चिन्तामा छन् । गत बर्ष १८ मुरी मकै फलेको थियो । आफुले खाएर पनि १० मुरी मकै बेचेको थिए तर यो पाली केही त उम्रिदै उम्रेन । उम्रिएको पनि खडेरीले सुक्यो उनले भने ‘यति लामो खडेरी परेको मैले अहिले सम्म थाह पाएको थिएन । मकैबाली चौपट भयो ।’
सोही ठाँउका प्रदिप विकले लगाएका मकै पनि सुकेर खग्रङ्ग भएका छन् । आकासे पानीको भरमा लगाएको बाली पानी नपर्दा सुक्न थालेको हो । लामो खडेरीका कारण मकै खेती सुकेपछि उनको परिवारलाई भोकमारीको चिन्ता थपिएको छ । ‘असार लागि सक्यो अहिले सम्म पानी पदैन् । मकै सवै सुकेर सखाप भैसके फेरी लगाउन पनि सिजन गैसक्यो । पानी पनि पदैन के यस्तो समय आयो ।’ उनले भने ‘यति लामो खडेरी परेको अहिले सम्म मलाई थाह थिएन ।’
शिवराम र प्रदिप त प्रतिनिधी किसान मात्र हुन् । उनीहरु जस्तै हजारौ किसानहरु मकैबाली सुक्न थालेपछि चिन्तामा परेका छन् । जाजरकोट लगायत कर्णालीका अधिकांश जिल्लामा मकै खेती हुने गरेको छ । सिंचाई सुविधा नहुँदा यहाँका किसानले आकासे पानीको भरमा खेती गर्ने गर्दछन् ।
कर्णालीबासीलाई लामो खडेरीले निकै सास्ती दिएको छ । बर्षेवाली सुक्न थालेको छ । तरकारी खेती र फलफुलका बोटविरुवा सुक्न थालेका छन् । धेरै जसो पानीका मुहान समेत सुकेका छन् जाजरकोट भेरी नगरपालिकाका नगर उपप्रमुख सिता जैसीले भनिन ‘लामो खडेरीले स्थानियलाई निकै सताएको छ । किसानले खेतवारीमा लगाएको मकै लगायतको वालीनाली सवै सुक्न थालिसक्यो ।’

पुर्वी भेगमा धेरै पानी परेर बाढीपहिरो गएर जनधनको क्षति बनाईरहेको छ तर कर्णाली भने असार लाग्दा पनि खडेरीले आक्रान्त छ । आकासेपानीको पर्खाइमा कर्णालीवासी रहेका छन् ।
कर्णाली प्रदेश भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी रामभक्त अधिकारीका अनुसार कर्णालीका १० जिल्लामा गत बर्ष ८८ हजार १ सय ७५ हेक्टरमा मकै खेती गरिएको थियो । गत बर्ष २ लाख ५९ हजार एक सय २२ मेट्रिक टन उत्पादन भएको थियो । यस बर्ष मौसम सप्रिए उत्पादन बढ्ने अनुमान गरिएको थियो । तर लामो खडेरीले गर्दा उत्पादनमा ह्रास आउने देखिएको छ ।
कर्णालीका जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, कालिकोट, मुगु, डोल्पा, हुम्ला र जुम्ला जिल्लामा जेठ महिना यता पानी पर्न सकेको छैन । जेठको पहिलो साता फाटफुट रुपमा परेको पानीमा मकै रोपेका कर्णालीवासीले खडेरीको सामना गर्नु परेको छ । धेरै मकै उमिएन । उम्रिएको पनि सुक्न थालेको छ । हामी अनुगमणमा जाँदा पनि खडेरीले मकै सुक्न थालेको देख्यौ उनले भने ‘केही दिन यस्तै खडेरी कायम रहे मकै बाली चौपट हुन्छ । दुई चार दिन भित्र पानी आयो भने मकैले पुर्नजिवित हुने मौका पाउँछन् ।’ मकै बालीमा खडेरी कति असर गर्यो भन्ने रिपोट जिल्लाबाट आइनपुगेकोले अहिले नै भन्न नसकिने अधिकारीले बताए ।