जाजरकोटको जुनीचाँदेमा औषधी सकिएको महिनौ वित्दा पनि आपुर्ती हुन सकेन

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटकी मनिसा रावत एक महिनाकी सुत्केरी हुन् । भुकम्प पछि त्रिपालको बसाईका कारण रुघाखाकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि उनी स्थानिय गर्खाकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र गईन । त्यहाँ उनले स्वास्थ्य परीक्षण गराईन तर उनलाई निशुल्क दिनुपर्ने जीवनजल र सिटामोल समेत स्वास्थ्य संस्थामा भएन् । औषधी नपाउँदा उनी रित्तो हात फर्कन बाध्य भईन ।
उनी जस्तै चिसोले धेरैलाई विरामी पारेको बेला जुनीचाँदे गाँउपालिकामा औषधी अभाव हुँदा स्थानियलाई निकै समस्या परिरहेको छ । लामो समय विति सक्दा पनि औषधीको आपुर्ती हुन सकेको छैन । स्वास्थ्य संस्थामा जीवनजल र सिटामोल समेत पाइदैन ।
भुकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुुनीचाँदे गाँउपालिकाका बासिन्दा विरामी भएर स्वास्थ्य संस्था जाँदा पनि औषधी पाउन सकेका छैनन् । चिसो बढिरहेको छ । चिसोले गर्दा रुघाखोकी, निमोनिया, पखाला, टाउको दुख्ने, ज्वरो आउने लगायतका समस्या लिएर विरामीहरु स्वास्थ्य संस्था जाने गरेका छन् तर औषधी नहुँदा विरामी रित्तो हात फर्कन बाध्य भएको जुनीचाँदे ८ का तिर्थबहादुर बस्नेतले बताए । स्वास्थ्य संस्थामा जाँदा निशुल्क पाईने सामान्य खालका सिटामोल, जीवनजल जस्ता औषधी पनि नपाईने उनले बताए ।
चिसोले गर्दा पखाला, ज्वरो, टाइफाइड, निमोनिया, दम लगायतका विरामीको संख्या बढिरहेको छ तर औषधी छैन । जुनीचाँदेका ११ ओटै स्वास्थ्य संस्था ६ महिना देखि औषधी विहिन छन् । यस आर्थिक बर्षमा औषधी आपुर्ती हुन सकेको छैन । साउन यता पालिकाले औषधी खरीद गरेको छैन भने संघ र प्रदेश सरकारले पनि औषधी पठाएको छैन ।

औषधी अभावमा उपचार सेवा प्रभावित भएको स्वास्थ्यकर्मी स्वयमले बताएका छन् । चिसोका कारण निमोनिया, झाडापखाला, दम, रुघाखोकी लगायतको स्वासप्रस्वास सम्बन्धि समस्या बढ्दै गएको भएपनि औषधी नहुँदा उपचार गर्न समस्या भएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा कार्यरत अनमी सरस्वती शाहीले बताइन । स्वास्थ्य संस्थामा सिटामोल समेत छैन । विरामीले निशुल्क पाउने औषधी समेत दिन सकेका छैनौ । उनीहरु रित्तो हात फर्किन बाध्य छन् उनले भनिन ‘भुकम्प पछि चिसोका विरामीको संख्या बढ्दै गएका छन तर लामो समय देखि औषधी अभाव कायमै छ । सम्बन्धित निकायले सुनुवाई नै गदैन ।’

चिसोका विरामी आइरहेका छन् औषधी नहुँदा उपचारमा समस्या परेको छ । चिसोले सुत्केरी महिला, बालबालिका र बृद्धबृद्धा धेरै प्रभावित भएका छन् । औषधी नहुँदा कतिपय विरामीहरु स्वास्थ्य संस्था नआएर घरेलु उपचारमा लाग्ने गरेको जुनीचाँदे गाँउपालिका १ बड्कुले स्वास्थ्य चौकीमा कार्यरत अनमी विष्णुकुमारी शाहीले बताईन । गाँउपालिकामा औषधी माग गर्दा पनि नपाएको उनको गुनासो छ ।
स्वास्थ्य संस्था औषधी विहिन हुँदा पनि तीनै तहका सरकार कानमा तेल हालेर बसेका छन् । संघ सरकार अन्र्तगतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले खरीद गरेको औषधी स्वास्थ्य सेवा कार्यालय मार्फत पालिकामा पठाउने, पालिका आफैले पनि औषधी खरीद गर्ने र त्यसपछि स्वास्थ्य संस्थामा जाने प्रक्रिया कायम गरिएको छ तर औषधी आपुर्ती नभएको महिनौ विति सक्दा पनि औषधी आपुर्ती बारे कुनै पनि निकाय जिम्मेवार बन्न सकेका छैनन् ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा.प्रतिक्षा भारतीले केही समय अघि जिल्लामा स्टक औषधी पठाईएको बताईन । तर उक्त औषधी दुई हप्ता पनि नुपुगेको जुनीचाँदेका निमित्त प्रमुख प्रशासकिय अधिकृत बलबहादुर शाहीले बताए । लामो समय देखि औषधी अभाव छ जिल्ला स्वास्थ्यबाट आएको औषधी हात्तिको मुखमा जिरा भएको उनको भनाई छ । गाँउपालिकाले औषधीको आपुर्तीका लागि गरेको २० लाखको टेण्डर आब्हान गरेकोमा सुर्खेत स्थित आरडी मेडिसङ्गले घटाघटमा ७ लाख ७७ हजार ४ सय ७६ रुपैयामा टेण्डर हालेको छ । सम्झौता गर्न बाँकी छ । ३ गुणा भन्दा बढी रकम घटेर पारिएको उक्त फर्मले औषधी आपुर्ती गर्नेमा समेत आशंका गरिएको छ । ‘ उक्त फर्मलाई सम्झौता गर्न बोलाएका छौ । छिटो औषधी आपुर्ती गर्नु छ तर धेरै घटेर टेण्डर हालेकाले हामीलाई पनि औषधी आपुर्ती हुनेमा आशंका नै छ’ निमित्त प्रमुख प्रशासकिय अधिकृत शाहीले भने ।
जुनीचाँदे गाँउपालिका सदरमुकाम खलंगाबाट सवैभन्दा दुर्गम स्थानमा रहेको पालिका हो । यहाँ अत्याधिक चिसो हुने गर्दछ । जुम्ला, कालिकोट र दैलेख सँग सिमाना जोडिएको यो गाँउपालिकाका विभिन्न वडाहरुमा पुग्न यातायातको असुविधा रहेको छ ।

यस अघि निशुल्क पाईने औषधी नपाउँदा स्थानिय समस्यामा परेका छन् । स्वास्थ्य संस्थामा औषधी नहुँदा विरामी उपचारका लागि आउन समेत छोडेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका इन्चार्ज विनोद कुमार बुढाले बताए । ६ महिना देखि स्वास्थ्य संस्थामा औषधी आएको छैन । पटक पटक माग गर्दा पनि सुनुवाई भएन उनले भने चिसोका विरामी बढेका छन् । ज्वरो, टाइफाईड, निमोनिया, पखाला, दम लगायतका रोगका विरामी बढेका छन् तर सिटामोल, जीवनजल, एडवान्डाजोल, मेट्रोनिराजोल लगायतका सामान्य खालका औषधी समेत छैन । स्वास्थ्य सेवा कार्यालय जाजरकोटले दुई साता अघि केही औषधी पठाएको थियो उक्त औषधीले केही दिन काम चलायौ तर फेरी सकियो उनले भने माग र आवश्यकता अनुसारको औषधी आपुर्ती नहुँदा उपचारमा समस्या परिरहेको छ । चिसोकै कारण जाजरकोटमा तीन दर्जन मानिसको ज्यान गैसकेको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad