भुकम्पले मुहान सुकेपछि रिम्ना र कोलचौरमा खानेपानीको समस्या

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको भेरी नगरपालिका १ रिम्नाकी पुर्णकला रानालाई यतिवेला खानेपानीको जोहो कसरी गर्ने भन्ने पिरालोले सताईरहेको छ । रिम्नाको डाँडागाँउमा धारामा पानी नआउँदा पिउने, शौचालय लिने, सरसफाई गर्ने र पशुचौपायालाई खुवाउने पानीको हाहाकार भएको हो । पानी जुटाउन निकै समस्या भैरहेको उनले गुनासो गरिन । विहान बेलुका खानेपानी जुटाउँदैमा समय वित्छ उनले भनिन–‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुल्ला शौच गर्न बाध्य छौ ।’

जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गत कार्तिक १७ गते गएको भुकम्पले मुहान सुकेपछि जिल्लाको भेरी नगरपालिका १ रिम्ना गाँउमा खानेपानीको हाहाकार भएको छ । गाँउ देखि माथि रहेको बुदबुदी खानेपानी मुहानको पानी भुकम्पका कारण भासिएपछि धारामा पानी आउन छोडेको हो । उक्त मुहानको खानेपानी बन्द भएपछि स्थानियहरु एक घण्टा टाढा रहेको भेरी नदीको पानीले गुजरा चलाउन बाध्य छन् । उकालो बाटोमा पैदलै बोकेर धेरै पानी ल्याउन सकिदैन गाग्रीमा बोकेको पानीले आफु प्रयोग गर्ने कि पशुचौपायालाई खुवाउने ? बढो समस्या भयो । भुकम्पले घर र चर्पी दुवै भत्किएपछि त्रिपालमा बसाई सरेको छ । अस्थायी चर्पी भएपनि पानी नहुँदा प्रयोग विहिन छन् । धेरैजसो स्थानियहरु खुल्ला जंगलमा गएर दिसापिसाव गर्न थालेका छन् स्थानिय दिलिप रानाले भने–‘भुकम्प पछि त्रिपालको बसाई, हिउँदको चिसो त्यही माथि खानेपानीको निकै समस्या छ ।’

खानेपानी समस्याकै कारण सरसफाईको अभावले पखाला, रुघाखोकी, टाइफाइड लगायतका समस्या समेत देखिन थालेका छन् । रिम्ना गाँउमा डेढ सय घरपरिवार छन् । तल्लो भेग जहाँ बजार क्षेत्र पर्छ त्यहाँ नदी नजिकै पर्ने भएकोले पनि त्यति समस्या नभएपनि अलि माथी डाँडाटोलमा करीब ३० घर परिवारका लागि पानीको निकै समस्या रहेको वडा सदस्य प्रजित रानाले बताए । रिम्ना बजारमा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा पनि खानेपानीको निकै समस्या रहेको प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए । चार सय ५० विद्यार्थी रहेको उक्त विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई निकै समस्या भएको छ । खानेपानी नहुँदा सवैभन्दा शौचालय प्रयोगमा समस्या देखिएको छ । भुकम्पले विद्यालय, शौचालय र खानीपानीका ट्याँकी सवै भत्किएपछि अहिले केही संघसंस्थाको सहयोगमा बनाईएका अस्थायी सिकाई केन्द्रमा पढाई भैरहेको भएपनि खानेपानी र शौचालयमा कसैले ध्यान नदिदा समस्या भएको प्रधानाध्यापक पुनले बताए । विद्यालयमा आउने पानीको मुहान नै भासिएपछि खानेपानीको समस्या भएको उनले बताए ।

त्यस्तै सोही वडाको कोलचौर गाँउमा पनि भुकम्प पछि खानेपानीको निकै समस्या देखिएको छ । करीब अढाई सय घरधुरी रहेको कोलचौरमा आपुर्ती हुँदै आएको खक्सेनी खोलाको पानीको मुहान भुकम्प पछि सुकेको छ । पानी भासिएपछि धारामा पानी आउँदैन निकै समस्या भयो स्थानिय देवी चनाराले भनिन खानेपानी नहुँदा निकै समस्या छ । एक गाग्री पानी लिन घण्टौं समय लाग्छ । चिसोले त सताईरहेको थियो । पानी नहुँदा सरसफाई गर्न, शौचालय लिन र बस्तुभाउ(गाईभैसी)लाई खुवाउन पनि निकै समस्या भयो उनले भनिन ‘सवैले अस्थायी आवास मात्र भन्छन् । अस्थायी आवास पनि अहिले सम्म बन्न सकेका छैनन् । बन्दैछन् तर शौचालय र खानेपानीको समस्या समाधानमा कसैले चासो दिदैनन् तर समस्या ठुलो छ ।’

सोही वडाको रिठापानी गाँउमा पनि खानेपानीको निकै समस्या देखिएको स्थानियको भनाई छ । रिठापानी गाँउमा २० घरधुरी छन् । त्यस गाँउका मानिसले प्रयोग गदै आएको जस्यापानी मुहान पनि सुक्न थालेको छ । ट्याकी चर्किएपछि धारामा पानी आउन छोडेको छ । जसका कारण खानेपानीको निकै समस्या रहेको स्थानिय लोककुमारी विकले बताईन । गाँउमा खानेपानी नहँदा निकै समस्या परिरहेको उनले बताईन । भुकम्प पछि भेरी नगरपालिका वडा नम्बर १, २ र ३ का धेरै मुहानहरु सुकेका छन् । नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा भने धेरै ठाँउमा मुल फुटेको वडाध्यक्ष वद्री पन्तले बताए । उनले नलगाड नगरपालिकामा केही ठाँउमा मुल फुटेको र केही ठाँउमा पानीका मुल सुकेपछि खानेपानीको अभाव देखिएको बताए । जिल्लाका धेरै ठाँउका मुहानमा क्षति पुगेको भएपनि कति ठाँउमा खानेपानीका मुहानमा क्षति पुगेको भन्ने बारे हाल सम्म सम्बन्धित निकायले तथ्यांक राखेको छैन ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad