राजेन्द्र कार्की । जाजरकोट
भुकम्प प्रभावित जाजरकोटको कुशे गाँउपालिकाका तीन स्थानमा संचालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार बढी विरामीले उपचार सेवा पाएका छन् । नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रम अन्र्तगत क्यानेडियन रेडक्रसको सहयोगमा कुसे गाँउपालिका वडा नं.३ को टापुचौर, वडा नम्बर ६ को घरंगा र वडा नम्बर ९ को पंैकमा संचालित आपतकालिन क्लिनीकमा एक हजार ४७ जना विरामीको उपचार गरिएको हो ।
कुशे गाँउपालिका ९ चौराठाकी २४ बर्षिया सुत्केरी कल्पना नेपालीको केही दिन अघि चिसोका कारण ज्यान गएको र धेरै विरामी रहेको सुचनाका आधारमा आइतवार देखि एक हप्ते आपतकालिन स्वास्थ्य शिविर संचालन गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटका सभापति हरिबहादुर बस्नेतले बताए । यहाँका बासिन्दालाई सामान्य उपचारका लागि पनि हजारौ रुपैया खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । आपतकालिन स्वास्थ्य शिविरबाट घरदैलोमै सेवा पायौ हामी एकदमै खुसी छौ स्थानिय गौरी बुढाले भनिन ‘भुकम्प पछि त्रिपालको बसाईले विरामी थिंए । डाक्टरले राम्रो सँग चेकजाँच पनि गर्नुभयो । औषधी पनि दिनु भयो । उपचारका लागि बाहिर जानुपरेन ।’
भौगोलिक विकटताका कारण घण्टौं पैदल हिडेर उपचारका लागि विरामीहरु शिविर आएका थिए । शिविरमा रुघाखोकी, टाइफाईड, निमोनिया, दम, पखाला, पाठेघर खस्ने समस्या, गर्भवति, सुत्केरी, पेटका विरामी, मनोरोगी, छाला र आँखा लगायतका समस्या लिएर विरामीहरु आएको र उनीहरुको निशुल्क उपचारको ब्यवस्था मिलाईएको नेपाल रेडक्रस सोसाईटी स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिईन । उनका अनुसार विर अस्पतालका डाक्टर राजन नारायण नकर्मी र डाक्टर सोभना थापा सहितको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो । विरामीलाई उपचार सेवाका साथै आवश्यक परामर्श, औषधी वितरण, मनोसामाजिक परामर्श प्रदान गरिएको थियो । जटिल खालका विरामीलाई भने सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको डा.नकर्मीले बताए । धेरै जसो महिलाहरुमा पाठेघर खस्ने समस्या देखियो । दम र चिसोका विरामी पनि धेरै आए उनले भने ‘महिला, बालबालिका, सुत्केरी, गर्भवति र बृद्धबृद्धामा धेरै स्वास्थ्य समस्या देखियो ।’
भुकम्प पछि दुर्गम कुशेमा पहिलो पटक गरिएको आपतकालिन स्वास्थ्य शिविरबाट धेरै विरामीहरु लाभान्वित भएको गाँउपालिका उपाध्यक्ष देविका सिंहले बताईन । उनले शिविर संचालन गरेर दुर्गमका भुकम्प पिडित नागरिकलाई सेवा पुर्याएकोमा रेडक्रसलाई धन्यवाद दिईन ।