राजेन्द्र कार्की । जाजरकोट
चिसोले गर्दा जाजरकोटमा थप दुई जनाको भुकम्प पिडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्मा र बारेकोट गाउँपालिका–४ जिरीका ६८ वर्षीय लालबहादुर रावतको चिसोका कारण मृत्यु भएको हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार भूकम्पपछि त्रिपालमुनि बस्दै आएका लालबहादुर दमका दीर्घ रोगी थिए । त्रिपालको बसाइँले उनको स्वास्थ्य बिग्रँदै गएको र शुक्रबार राति मृत्यु भएको अध्यक्ष गिरीले जानकारी दिए ।
पाँच जनाको परिवार लिएर त्रिपालमा बस्दै आएका कर्णबहादुर गत हप्ता देखि थलिएका थिए । चिसोका कारण निमोनिया भएका उनको समयमा उपचार हुन नसक्दा ज्यान गएको छ । ‘सुरुमा सामान्य रुघाखोकी र ज्वरो थियो । ठिक भैहाल्ला भनेर घरमै घरेलु उपचारमा लाग्यौ । अस्पताल लिदाँ चिसोले गर्दा निमोनिया भएको रहेछ । अस्पताल पुर्याउन ढिला हुँदा संक्रमण निकै बल्झिसकेको रहेछ’ छोरा रुपलाल विश्वकर्माले भने ।
उनका अनुसार कर्णबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार नभएपछि उनलाई प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको थियो । तर सुर्खेत पु¥याउँदा पनि कर्णबहादुरको उपचार सम्भव भएन । आर्थिक अवस्था कमजोर रहेका उनको शनिबार विहान उनको ज्यान गयो ।
भूकम्पपछि त्रिपालमुनि चिसोका कारण मृत्यु हुनेको संख्या जाजरकोटमा ३२ र रुकुम पश्चिममा ५ गरी मृतकको संख्या ३७ पुगेको छ । हिउँदको कठ्यांग्रिदो चिसोमा त्रिपालमुनि रात कटाउन बाध्य भूकम्प पीडितहरुको ज्यान जाने क्रम रोकिन सकेको छैन । चिसोका कारण मृत्यु हुनेहरुमा तीन बालबालिका, एक सुत्केरी सहित अधिकाँश दमका रोगीहरु रहेका छन् ।
सरकारले एक महिना भित्र त्रिपालबाट अस्थायी आवासमा सार्ने घोषणा गरेको भएपनि दुई महिना वित्दा पनि ९ हजार ६ सय ३८ परिवारले मात्र अस्थायी आवास बनाएका छन् । अस्थायी आवास बनिसकेका परिवार पनि उक्त टहरा भित्र सर्न सकेका छैनन् । सरकारले अस्थायी आवासका लागि भुकम्प पिडितलाई दिने ५० हजार अनुदान मध्य अहिले सम्म पहिलो किस्ता १९ हजार ९ सय ६४ परिवारले मात्र पाएका छन् । करीब १५ हजार परिवारले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।
जाजरकोटमा ३५ हजार १ सय ४० लाभग्राही कायम भएका छन् । त्यसमध्य अझै २५ हजार अस्थायी आवास बन्न बाँकी रहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । हिउँद जान लाग्दा पनि सरकारी ढिलासुस्तीले भुकम्प पिडितहरु त्रिपालको चिसोमै रात काट्न बाध्य छन् । भुकम्पले बाँचेपनि चिसोले मरिन्छ कि भन्ने चिन्ताले पिडितहरुलाई सताईरहेको छ । धेरै भुकम्प पिडित विरामी परिरहेका छन् । कतिपय दिर्घरोगी, सुत्केरी र बालबालिकाको ज्यानै समेत गएको छ तर सरकार हिउँद जान लाग्दा पनि पहिलो किस्ताकै रकम दिन सकिरहेको छैन । समयमा रकम नपाउँदा पिडितहरुले टहरा बनाउन सकेका छैनन् ।
पहिलो किस्ता पाएकाले पनि टहरा बनाउन सकेका छैनन । बनेका टहरामा पनि मानिस बस्न सकेका छैनन् । चिसो अत्याधिक बढेपछि कतिपय भुकम्प पिडित जोखिम मोलेर चर्किएका र मक्किएका घरमै बस्न थालेका छन् । चिसोले मर्नु भन्दा बरु घर भत्किए भत्किएला भनेर मानिसहरु जोखिमयुक्त घरमै बस्न थालेको जुनीचाँदे गाँउपालिका ५ का पदमी मल्लले बताइन । त्रिपालमा निकै चिसो हुन थालेपछि धेरै जसो भुकम्प पिडितहरु जोखिमपुर्ण घरमा बस्न थालेका हुन् । ‘अस्थायी आवास बनाउन सरकारी प्रयास निकै ढिलासुस्ती हुँदा पिडितलाई थप पिडा भएको छ’ उनले भनिन ।
कतिपय पालिकामा कर्मचारी अभाव, बैक खाता खोल्नु पर्ने, देशका अन्य ठाँउमा घर नभएको स्वघोषणा, प्रहरी मुचुल्का, घर भत्काउनु पर्ने लगायतका प्रक्रियागत झन्झटका कारण धेरै भुकम्प पिडितले अहिले सम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन् । अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको जुनीचाँदे ५ का राजबहादुर शाहीले बताए । स्थानिय सरकारको ढिलासुस्ती र उदासिनताले गर्दा भुकम्प पिडितको ब्यवस्थापनमा ढिलाई भएको उनको आरोप छ ।