प्रवाह संवाददाता । जाजरकोट
प्राथमिक अस्पताल नलगाडमा फिजियोथेरापी सेवा सुरु भएको छ । प्राथमिक अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाडजोर्र्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ ।
पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा नलगाड नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि परियोजना अन्तरर्गत प्राथमिक अस्पतालमा फिजियोथेरापी सुरु गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले जानकारी दिए ।
प्राथमिक अस्पतालमा फिजियोथेरापी सेवा केन्द्र स्थापना र सञ्चालन गर्न नलगाड नगरपालिका, ह्याण्डीक्याप इन्टरनेशनल फेडेरेसन र पाँचतारा युवा संरक्षक मञ्च बिच भएको त्रिपक्षिय सम्झौता अनुसार प्राथमिक अस्पतालको फिजियोथेरापी सेवा केन्द्रका लागि र अपांगता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापनाका लागि गत साउन ३ गते सम्झौता भएको थियो । नगरपालिकामा फिजियोका लागि आवश्यक सम्पुर्ण सामग्री पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्तले नगर प्रमुख डम्बर बहादुर रावल मार्फत अपस्ताललाई हस्तान्तरण गरेका हुन् ।
नगर प्रमुख डम्बर बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई स्वास्थ्य शाखा प्रमुख तप्त चुनारा अस्पताल प्रमुख राजेश सिँह पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष छवि पन्त , ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका प्राविधिक अधिकृत प्रज्वल गिरी लगायतको टोलीले फिजियोथेरापी कक्षको अनुगमन तथा निरिक्षण गरेका थिए । अनुगमनका क्रममा फिजियोथेरापिष्ट प्रिमान गुरूङले ठाउँ अभावका कारण सबै सेवा दिन संभव नभएको बताए । उनले फिजियोको लागि उपयुक्त स्थान भएमा फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास ब्यक्त गरे । नगर प्रमुख डम्बर बहादुर रावतले नगरबासीहरूले फिजियोथेरापी सेवा लिन नेपालगन्ज जानु पर्ने अवस्थाको अन्त हुने बताए । यो सेवाले बारेकोट गाउँपालिका र आठबिस नगरपालिका रुकुम पश्चिमका जनताले पनि सेवा लिने बताए । संस्थाले १९ लाख १२ हजार बराबरको आवश्यक सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।
नलगाडमा फिजियोथेरापी सेवा सुरु
